वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदैछ। 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्रजात्रा मनाइन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।
 
शनिबार बिहान ६ : ५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको हो। यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा रहेको छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
 
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
 
 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ८:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया