‘ट्र्याकर डग’ को अनुसन्धान : घाम, हावा र पानीकाे पनि असर

अपराध अनुसन्धानमा प्रहरीको महत्वपूर्ण सहयोगी भनेकै तालिमप्राप्त कुकुर अर्थात् ‘ट्र्याकर डग’ हो । ट्र्याकर डग हत्या घटनाको अनुसन्धानमा बढी प्रयोग गरिँदै आएको छ ।

अपराधमा संलग्नको पहिचानमा ट्र्याकर डगकाे सहयोगी भूमिका हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । र, पछिल्लो पटक प्रयोग भएको भनेको संखुवासभाको उम्लिङ घटनामा हो । जहाँ ‘लैला र पिक’ ट्र्याकर डगको प्रयोग गरियो ।

संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालका अनुसार २१ भदौमा भएको उक्त हत्याकाण्डमा प्रहरीलाई ट्र्याकर डगको आंशिक सहयोग भएको थियो।

घटनास्थलमा रहेका मृतकहरूको शव ‘स्निफिङ’ (सुँघाए) पछि कुकुरहरू बारीकाे कान्लामाथि उक्लिएर लोकबहादुर कार्कीको घरतर्फ अघि बढेका थिए । तर, घरसम्म भने नपुगेको एसपी दाहाल बताउँछन् ।

घटना भएको दिन र पछिल्लो दिन पनि घटनास्थल क्षेत्रमा वर्षा भएको थियो । पानी पर्दा कुकुरको अनुसन्धान प्रभावित हुने बताइन्छ । तैपनि घटना भएको सात दिनपछि प्रहरीले घटनामा संलग्न आरोपमा एक जनालाई युवकलाई पक्राउ गर्‍याे । उनी हुन्, २६ वर्षीय लोकबहादुर कार्की । उनीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दायर भएको छ । प्रहरी विस्तृत अनुसन्धानमा छ ।  

यो त भयो, ट्र्याकर डगको हत्या घटनामा प्रयोग भएको पछिल्लो घटना । नेपाल प्रहरीले हत्या जस्ता कयौं आपराधिक घटनाको अनुसन्धानमा प्रयोग गर्दै आएको छ ।



नेपाल प्रहरीको नायव महानिरीक्षक (डिआइजी) पदबाट सेवा निवृत्त हुँदासम्म अब्बल अनुसन्धान अधिकृतको छवि बनाएका हेमन्त मल्ल अनुसन्धानमा कुकुरको प्रयोग निकै उपलब्धिमूलक हुने गरेको बताउँछन् । जसले केही अपराध अनुसन्धानमा कुकुरको प्रयोग गरेका थिए ।

उनका अनुसार कुकुरको सहयोगबाट अपराधमा संलग्न पहिचान भए र कानुनी दायरामा ल्याइयो । 



‘ट्र्याकर डग’ को पहिचान

नेपाल प्रहरीको केनाइन महाशाखाले उल्लेख गरे अनुसार प्रत्येक मानिसको शरीरबाट भिन्नभिन्न गन्ध निस्किन्छ । बढीमा २४ घण्टासम्म गन्ध हावामा रहन्छ । त्यसपछि भने नष्ट हुन्छ ।

कुकुरको प्रयोगकर्ता अर्थात् ‘ह्याण्डलर’ ले घटनामा संलग्नहरूको पहिचानका लागि शव सुँघाउने हो । यससँगै फुटप्रिन्ट (पदचिन्ह)’ पनि । सुँघाएपछि गन्ध पछ्याउँदै कुकुर अपराधमा संलग्न गएतिर जाने महाशाखाकी एसएसपी देउती गुरुङ बताउँछिन् ।

सुँघाएको गन्ध जोसँग मेल खान्छ, उसैसँग कुकुर पुग्छ । जसले प्रहरीलाई अपराधमा संलग्न पहिचान गर्न सहज हुन्छ ।

तर, कुकुरको सफल अनुसन्धान छ वटा अवस्थामा हुन्छ । 
-    घटनास्थलको सुरक्षा हुँदा ।
-    घटना भएको २४ घण्टाभित्र अनुसन्धानमा प्रयोग गरिँदा ।
-    भौतिक प्रमाणहरू नष्ट नगरिँदा ।
-    चर्को घाम नलाग्दा, पानी नपर्दा र हावा हुन्डरी नचल्दा ।
-    आशंकित पक्राउ पर्दा ।
-    घटनामा संलग्न व्यक्ति सवारी साधन चढेर नगएमा, खोला वा नदी तरेर नगएमा ।

नेपालमा ‘ट्र्याकर डग’ प्रयोग

अपराध अनुसन्धानमा कुकुरलाई सहयोगी बनाउन पहल गर्ने जस नवौं प्रहरी महानिरीक्षक रोमबहादुर थापालाई जान्छ ।

प्रहरी महानिरीक्षक हुँदा २०२६ सालमा केही प्रहरी अधिकारीलाई ‘ह्लान्डलर्स’ र ‘ट्रेनर्स’ का लागि उनले मलेसिया पठाएको प्रहरी इतिहासमा उल्लेख छ । फर्केर आउँदा चारवटा कुकुर ल्याइएको बताइन्छ । यहीकारण उनी अपराध अनुसन्धानमा प्रहरी जनशक्ति मात्रै नभएर ‘ट्र्याकर डग’ को प्रयोगको पहलकदमी गर्ने प्रहरी महानिरीक्षक हुन् ।

उनी पछिका प्रहरी महानिरीक्षक खड्गजीत बरालले ‘पुलिस डग स्टेसन’ नै २०३२ मा स्थापना गरे ।

त्यसको १५ वर्षपछि २०४७ मा भने प्रहरी महानिरीक्षक रत्न शम्शेर जबराले १० जना स्टाफ नै राखेर केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्र स्थापना गरेको केनाइन महाशाखाले जनाएको छ ।

हाल त्रिभुवन विमानस्थल, धरान, जनकपुर, हेटौंडा, पोखरा, कोहलपुर, धनगढीलगायत ठाउँमा तालिमप्राप्त कुकुरहरू राखिएका छन् ।

नेपाल प्रहरीसँग ‘ट्र्याकर डग’ मात्रै होइन, हतियार र विष्फाेटक पहिचान गर्ने ‘डग’, ‘रेस्क्यु डग’, ड्रग आइडेन्टिफिकेसन डग’ पनि छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ९:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया