संविधानको नाम ३५ वटा प्रस्ताव भएको थियो : सुवास नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वभौम जनताको प्रतिनिधिले संविधानसभाबाट बनाएर जारी गरेको वर्तमान संविधानको विकल्प नभएको बताएका छन् ।

कसैले अब त दश वर्ष हुन लाग्यो भनेर विकल्पको संकेत गर्ने गरेको भन्दै उनले जनताका प्रतिनिधिले बनाएको संविधानको विकल्प नहुने तर्क गरे । उनले योभन्दा माथिबाट संविधान बन्ने आधार नभएको बताए ।

‘अब त १० वर्ष भयो त भन्ने पनि सुनिन्छ, नेपालको संविधानको इतिहास हेर्दा ९/१० वर्ष मात्रै आयु देखिन्छ । तर, यो संविधानको स्रोत जनता हो, राजा होइन त्यसैले यो भन्दा माथिबाट संविधान बन्ने विकल्प छैन’, नेम्वाङले संविधान दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा भने ।

उनले २०४७ को संविधान जनताका प्रतिनिधिले बनाएको भए पनि छाँटकाँट गरेर राजा वीरेन्द्रले जारी गरेको उल्लेख गरे । उनका अनुसार संविधानको नाम ‘नेपालको संविधान २०७२’ होइन । नेपालको संविधान मात्रै हो ।

संविधानको नामको सन्दर्भमा जम्मा ३५ वटा नाम आएको र कसैले संविधानको नामपछि इस्वी सम्वत् विक्रम सम्वत् र येले सम्वत् पनि प्रस्ताव गरेको प्रसङ्ग उप्काए ।

‘३५ वटा संविधानको नाम प्रस्ताव थियो । र, नेपालको संविधानको नाम नेपालको संविधान २०७२ होइन । हामीले नेपालको संविधान लेखेका छौं, कसैले इस्वी सम्वत् कसैले विक्रम सम्वत् त कसैले येले सम्वत् भन्थे’, नेम्वाङले भने, ‘हामीले २०७२ नलेखौं र नेपालको संविधान मात्रै लेखौं भन्यौं र त्यही अनुसार गर्यौं ।’ नेम्वाङले नेपाल बहुराष्ट्र नभइ र एक राष्ट्र भएको पनि तर्क गरे ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १२:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया