कैलालीको घोडाघोडी नगरपालिका–३ का २९ वर्षीय चन्द्र रावल दसैँको मुखमा भारत जादैँछन् । २३ वर्षदेखि भारतको राजधानी दिल्लीमा काम गर्दै आएका जागिर छुट्ने डरले दसैँको मुखमा भारत जान लागेका हुन् ।
‘अहिले नजाने हो भने नोकरी नै जान्छ । एक जना आफन्तलाई राखेर महिना दिनको लागि घर आएको अब नगाएर सुख छैन,’ उनले भने । परिवारसँग दसैँ मनाउने रहर हुँदा पनि बाध्य भएर पर्वको मुखमा भारत जानु परेको उनले दुःखेसो पोखे ।
सुदूरपश्चिममा अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने गरेका छन् । भारतमा जागिर गर्नेहरू खेती लगाउने समयमा घर आउँछन् भने अन्य समय भने भारतमै बिताउँन्छन् ।
गत चैतमा भारतबाट रोजगारी गुमेपछि घर आएका डडेल्धुरा भागेश्वर गाउँपालिकाका पुष्कर पार्की पनि अहिले फेरि भारत पसेका छन् । उनी कोरोना महामारीकै बीचमा दुई पटक नेपाल आएर तेस्रो पटक भारत जान लागेका हुन् ।
परिवार पाल्न भनेर साढे चार वर्षदेखि भारत जान थालेका उनले कोरोना महामारीपछि भने भारत आउजाउ गर्ने खर्चसमेत त्यहाँको रोजगारीले जुटाउन सकेका छैनन् । ‘ऋण काढेर भारत जानुपर्छ । कोरोनाले बस्न नदिएपछि फेरि नेपाल फर्कनुपर्छ । घरमा बस्न पनि कमाइ केही नभए पुनः भारत जानुपर्छ । यस्तै त हो गरिबको जिन्दगी । स्वदेशमै रोजगारी भइदिएको भए सायद यस्तो समस्या झेल्नु पर्थेन’, उनले भने ।
सरकारले रोजगारी दिने भनेको सुनेर उनी गत चैतमा घर आएका थिए । तर, अहिले रोजगारीका नाममा सरकारले झुटो आश्वासन बाँडेको भन्दै उनी गुनासो पोख्छन् । ‘स्थानीय तह र प्रदेशमा पनि रोजगारी पाइने कुरा थियो’, उनले भने, ‘हाम्रो पीडा सरकारले पनि बुझेछन् भनेर आएको तर यहाँ के को रोजगारी पाइन्थ्यो आफ्ना नजिकका चिने जानेका पहुँचवालाले काम पाउँछन्, हाम्रा लागि त परदेशी बन्नु नै लेखेको रहेछ,’ पार्कीले भने ।
सरकारले स्वदेशमै रोजगारी दिन्छौँ भनेर गरिएका प्रतिबद्धता र बाचा उनी जस्ता लाखौँ सुदूरपश्चिमेलीका लागि आश्वासन मात्रै बनेका छन् । महामारीले अवस्था जटिल बन्दै गएपछि भारतबाट आएका ९ हजार जनालाई रोजगारी दिने सुदूरपश्चिम सरकारको योजना अलपत्र छ ।
सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो । तर भारत जाने र आउने सीमा नाकाहरूको उपयुक्त व्यवस्थापन हुन नसक्दा आउजाउमा नागरिकले सास्ती बेहोर्नु परेको छ । पहिलो लहरको कोरोना कालमा नेपाल आउने सीमा नाका बन्द गरिएपछि बझाङकी पूजा नेपालीले सीमावर्ती क्षेत्र भारत पलियाको बलदेव वैदिक इन्टर कलेजको क्वारेनटिनमै शिशु जन्माइन् ।
कोरोना महामारीका बेला यहाँका नागरिकले महाकालीमा हाम फालेर नेपाल आउनुपरेको जस्ता दुःख झेल्नु परेको थियो । भारतमा रोजगारी गर्न जाने नेपालीले सामान्य समयमा अवतजावतमा समस्या झेल्दै आएका छन् । अहिले झन् कोरोना महामारीमा त्यो समस्या विकराल बनेको उनीहरू बताउँछन् । भारतको दिल्ली जान लागेका कैलालीको गौरीगङ्गाका रमेश बुढा पहिलेभन्दा अहिले समस्या झन् बढेको बताउँछन् ।
‘गत वर्ष वैशाखमा घर आएर भदौमा भारत गएको थिए । यो वर्ष चैतमा आएर अहिले फेरि भारत जान लागेको हुँ । भारतमा ‘नोकरी’ गर्न जान थालेको १९ वर्ष भयो । सरकारले बिनाधितोमा ऋण दिन्छौँ भनेर आएका हौँ,’ उनले भने, ‘तर जुन बैंकमा गए पनि त्यसरी ऋण नपाएपछि लाग्यो यो देशमा गरिबले गरिबै भएर बस्नु रहेछ । हामीले भारतमै गएर परिवार पाल्नुपर्ने रहेछ ।’ अहिले नेपालतर्फका तथा भारतका यातायात व्यवसायीले आउजाउमा चर्को भाडा असुल्ने र सीमा नाकामा भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेको उनको गुनासो छ । ‘भारतमा त्यहाँका नागरिकले त लुट्थे नै अहिले आफ्नै नेपाली दाजुभाइले समेत लुट्न छोडेनन्,’ उनले गुनासो पोख्दै भने’, ‘घरदेखि यहाँसम्म पुग्न पहिलेभन्दा दोब्बर भाडा लिए । फेरि यहाँ पनि पहिलेको भन्दा दुई गुण बढी भाडा लिएर नाकामा टिकट नदेखाउनु भन्दै पठाएका छन् ।’
भारतका विभिन्न सहरमा पठाउने नेपालतर्फका यातायात व्यवसायीहरूले यात्रुसँग मनलाग्दी भाडा असुलेर गन्तव्यमा पठाउने गरेका छन् । ‘सुदूरपश्चिमबाट ७० प्रतिशत घरधुरीको प्रति परिवार एक जना भातमा छन्’, आप्रवासनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाश मडै भन्छन्, ‘जसमा ९८ प्रतिशत सीप नै नसिकेर जाने हुनाले भारतमा उनीहरूले सस्तैमा श्रम बेच्नुपर्ने बाध्यता छ । नेपालीले भारतमा औपचारिक क्षेत्रमा कहीँ पनि काम पाउँदैनन् । सबै अनौपचारिक क्षेत्रमा काम पाउने हुँदा उनीहरूसँग नियुक्ति पत्र, करारनामा केही पनि हुँदैन । त्यसो हुँदा कामको सुनिश्चिततामा उसको अधिकार हनन् भए पनि प्रमाण नै नभएपछि कानुनी उपचार खोज्ने बाटो नै हुँदैन ।’
गत वर्ष भदौ १० गतेदेखि ७८ भदौसम्म गौरीफन्टाबाट १ लाख ८२ हजार ९३ जना र गड्डाचौकीबाट २ लाख ६६ हजार ७७ जना नेपाल आएका छन् । त्यस्तै, ३ लाख ३७ हजार ८ सय ७४ गौरीफन्टाबाट र १ लाख १३ हजार ९ सय ३६ नेपाली गड्डाचौकी रोजगारी खोज्न भारत पसेका छन् । भारतमा कोरोना महामारीको ग्राफ उकालो लागेको एक महिनापछि नेपालमा पनि त्यसको असर पर्ने गरेको छ । गत चैतको पहिलो साता गौरीफन्टा नाकामा भारतबाट आउनेको कोरोना परीक्षण गर्दा पहिलोपटक नयाँ भेरियन्टको कोरोना देखिएको थियो ।
दोस्रो लहरको कोरोना कालमा गौरीफन्टा नाकाबाट चैतदेखि साउनसम्ममा ९१ हजार ६ सय ८८ जना नेपाल आएका गौरीफन्टा सीमा स्वास्थ्य सहायता कक्षका हेल्थ इन्चार्ज दिनेश ठकुल्लाले बताए । भारतमा संक्रमण फैलिए पनि नेपाल आउने र फेरि केही महिनामा नै उनीहरू काम खोज्न भारत जाने गरेका उनले बताए । ‘चैतमा कोरोना संक्रमण भारतमा उच्च बनेपछि नेपालीहरू घर फर्किने क्रम तीव्र बनेको थियो,’ उनले भने, ‘अब उनीहरू भारत फर्किने क्रम तीव्र बनेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।