२४ बुँदामा विश्वप्रकाशकाे विचार : अबको आवश्यकता ‘राजनीतिमा परिवर्तन’

वैचारिक बहस हुन छाडेको भनिएको नेपाली कांग्रेसमा पार्टीका प्रवक्ता तथा महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले नयाँ राजनीतिक विचार अघि सारेका छन् ।

त्यो हो, ‘राजनीतिमा परिवर्तन’ । राजनीतिक परिवर्तन भने आवश्यक नभएको उनको तर्क छ । उनले अघिल्लो पुस्ताले निकै संघर्ष गरेर, रगत दिएर र जेलमा जीवन दिएर निर्माण गरेको यो संविधान र व्यवस्था ठीक रहेको दाबी गरेका छन्। 

त्यसैले राजनीतिकभन्दा पनि राजनीतिमा परिवर्तन आवश्यक रहेको उनको ठम्याइ छ।उनी भन्छन्, ‘राजनीतिमा परिवर्तन भएपछि देशका सबै परिवर्तनका ढोका खुल्छन्।’

राजनीतिलाई सेवासँग गाँस्नुपर्ने उनको मान्यता छ। तर, राजनीति सेवामुखी नहुँदा, राजनीति गर्नेहरू असहिष्णु बन्दा, राजनीतिक दुस्मनी कायम राख्दा र राजनीतिलाई गाउँमुखी नबनाउँदा राजनीतिज्ञलाई ‘राजनेता’ नमान्ने गरिएको बताए। त्यसमा जिम्मेवार राजनीति गर्नेहरू नै उनको भनाइ छ। 
झापाको बिर्तामोड पुगेर उनले राजनीतिमा परिवर्तनका लागि २४ बुँदामा विचार सार्वजनिक गरेका छन्।

यस्ता छन् उनको २४ बुँदा

१) राजनीतिको छविमा पुनर्ताजगीको आकांक्षा 



राजनीतिलाई राजनीतिभित्रकाले र राजनीतिबाहिरकाले बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा सामञ्जस्यता खोज्न जरुरी छ । राजनीतिबाहिर रहेकाको नजरबाट राजनीति र राजनीतिकर्मीको छविलाई नियाल्ने अनि सकारात्मक धारणालाई अभिवृद्धि गर्ने तथा नकारात्मक बुझाइका तथ्य जो छन्, तिनलाई अन्त्य गर्न आत्मालोचित हुने रूपान्तरणको सूत्र खोजी गर्ने ।
(सबै बढौँ, सँगै बढौँ निश्चित गरिएको राजनीतिक बाटोमा)

२) संविधान बनाउनेले संविधानप्रति इमान राखौँ



ऐतिहासिक आन्दोलन र संविधानसभाको वैधानिक प्रक्रियामार्फत देशले आजको उपलब्धि हासिल गरेको हो । भिन्न दर्शन, भिन्न दल र भिन्न नेतृत्वको आपसका थुप्रै फरक मत थाती राखेर ‘विमतबीच सहमति’को दस्तावेजको रूपमा आजको संविधान निर्माण गरेका हौँ । यो उपलब्धि साझा हो । कमजोरी पनि साझा हो ।

जो जसले संविधान निर्माणमा सहकार्य गर्यौँ, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरक मतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन । देशलाई अनन्तकालसम्म केवल राजनीतिक बहसमा अल्मल्याउनुहुन्न । संविधान निर्माण गर्नेले नै यसप्रति विश्वास राख्दैनौँ भने कसैले किन विश्वास राख्छ ?

आजको मितिमा राजनीतिमा परिवर्तनको प्रारम्भिक सर्त र अर्थ भनेको हालसम्मका राजनीतिक परिवर्तनका अंशियारहरूबाट यसप्रति साझा स्वामित्व र जिम्मेवार चरित्र तथा प्रवृत्तिको खोजी हो ।

३) संविधानप्रति विमति लोकतान्त्रिक हक तर संविधानसभाको वैधानिकता कदर साझा कर्तव्य 

मूलतः संविधानसभाको वैधानिकतालाई सबै राजनीतिक शक्तिले स्वीकार गरेकै स्थिति थियो । संविधानप्रति अपनत्वको दायरा बढाउनु साझा अभिभारा र यो अभिभारा सम्पादनको जिम्मेवारी पनि साझा र भिन्न समुदाय र भिन्न भूगोलले अघि सारेका मुद्दा र भावनालाई एकाकार गरेर देशको संविधानप्रति अपनत्वको दायरा बढाउँदा त्यसले राजनीतिमा परिवर्तनको विषयलाई साझा अपनत्वको बनाउन योगदान गर्नेछ ।

४) आजको राजनीतिक ‘व्यवस्था ठीक छ’ ‘अव्यवस्था अन्त्य’ गरौँ।

राजनीतिक शासन प्रणाली कस्तो हुनु उचित भन्ने द्वन्द्वमा नेपाल देशलाई अन्त्यहीन शृंखलामा अब धकेल्नुहुन्न । लोकतान्त्रिक प्रणालीको बाटोबाट दुनियाँमा अनेक मुलुकले समृद्धि र जनताको खुसी हासिल गरेका छन्। व्यवस्थाभित्रको अव्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्छ।
साझा विषयमा साझा दृष्टिले राजनीतिप्रति आकर्षण बढ्नेछ)

५) साझा विषयको पहिचान र साझा दृष्टिकोण निर्माणले हाम्रो राजनीतिलाई जिम्मेवारपूर्ण र विश्वसनीय बनाउनेछ । 

दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषय निम्न हुन् भन्ने मेरो ठहर छ ः
क) परराष्ट्रनीतिः साझा र जिम्मेवार दृष्टिको प्रश्न ।
पुरानो व्यवस्थाबाट हामी नयाँ व्यवस्थामा पुग्यौँ, नयाँ व्यवस्थाको अर्थ र अस्तित्व परराष्ट्र नीतिमा देखिएको छैन । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग सोझै सरोकार राख्ने परराष्ट्र नीति व्यक्तिका बुझाइ या दल विशेषको आग्रहभन्दा माथि देशको हुनुपर्छ, बनाइनुपर्छ ।

ख) नीतिगत सुनिश्चितताः देशको समृद्धिका लागि अनिवार्य आवश्यकता

ग) पार्टी र सरकारबीचको सम्बन्ध जटिलताको तार्किक व्यवस्थापन । (स्मृतिमा राखौँ, हाम्रो देशका कैयौँ सरकार यो सम्बन्धको परिपक्व व्यवस्थापन हुन नसक्दा असफल भएका छन् । राजनीतिप्रति युवा विकर्षणको एक प्रमुख कारण यही अस्थिरताको शृंखला हो) ।

) जातीय विभेद या घरेलु हिंसा या कुनै पनि प्रकृतिका सामाजिक विसंगतिका घटनामा दोषी प्रमाणित व्यक्तिलाई समाज रूपान्तरणको राजनीतिक आन्दोलनबाट बिदाइ गर्ने विषयलाई हरेक राजनीतिक दलले साझा दायित्वको रूपमा अंगिकार गर्नुपर्दछ ।

ङ) सामाजिक न्यायको विषयलाई राजनीतिक होइन, मानवीय कोणबाट सम्बोधन गरौँ ।

च) संसदीय निर्वाचनको अभियान खर्चिलो र कामचलाउ पारदर्शी मात्र भएको यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ ।
(सहिष्णुता, सुसंस्कृत राजनीतिको मूलमन्त्र)

६) सहिष्णुताको प्रश्न व्यक्तिको लोकतान्त्रिक चरित्र परीक्षण गर्ने एक विधि हो ।

टेलिभिजनमा समाचार हेरिरहेका आमाबाबाको छेउमा रहेका साना बालबालिकाले हामी राजनीतिककर्मीका कतिपय अभिव्यक्तिबाट के सिकिरहेका होलान्? उनीहरूले त्यसलाई आदर्शको रूपमा लिएका होलान्? आत्ममनन गरौँ । सहिष्णुता लोकतन्त्रको प्रमुख सर्त हो, त्यो छैन त बुझौँ, मभित्र र हामीभित्र लोकतान्त्रिक संस्कार छैन ।

७) प्रश्नलाई प्रोत्साहित गरौँ, जवाफमा जिम्मेवार बनौँ

राजनीति, राजनीतिज्ञ या राज्यप्रति सञ्चारमाध्यम या कहीँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ । संविधानले प्रत्याभूत गरेको अधिकारलाई गैरकानुनी रूपले या कानुन बनाएर कुन्ठित गर्ने प्रयत्नले राजनीतिप्रति वितृष्णा बढाउँछ ।

८) पार्टीभित्रको प्रतिस्पर्धा होस् या बाहिरकासँग, लोकतान्त्रिक प्रक्रिया अंगिकार

गरेपछि यसलाई दुस्मनीजस्तो मनोविज्ञान हामीले कतिपय बेला प्रस्तुत गरेका छौँ । लोकतान्त्रिक भन्नु र लोकतान्त्रिक बन्नुमा आफैँले आफ्नो समीक्षा गर्ने सहिष्णुताको आत्मनिरीक्षण हामी हरेक राजनीतिकर्मीले गर्न जरुरी छ । 

९) सुशासन, पारदर्शिता र सदाचार, परिवर्तित राजनीतिको मूल संस्कार

बृहत्तर व्याख्या जरुरी छैन, जरुरी छ जनताको भोगाइबाट पढ्न, जिम्मेवार मिडियाको समाचार र बुद्धिजीवीको लेखाइबाट बुझ्न, अनि जरुरी छ समायोचित सूत्रको खोजी गर्न । कस्तै सुन्दर प्रणाली होस् । 

सुशासन, पारदर्शिता र सदाचार स्थापित गर्न नसक्दा त्यसले भरोसा जित्नै सक्दैन । हामीलाई प्रणाली बदल्ने सुविधा छैन, प्रवृत्ति बदल्नुको विकल्प छैन ।

१०) राजनीतिप्रति नागरिक वितृष्णाको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रष्टाचार

महालेखाको पछिल्लो प्रतिवेदनले अनियमितताको अनेक चित्र सार्वजनिक गरेको छ । ऐन बनायौँ, कानुन बनायौँ, पुगेन । अब साझा दृष्टि र जबर्जस्त ढंगको साझा अभियान जरुरी छ । तब, देशले समृद्धिको सार्थक गति लिनेछ र राजनीतिको बन्नेछ उज्यालो अनुहार ।

(अब शासकीय प्रणालीको होइन, शासन संस्कार पद्धतिको बहस)

११) मेरो पुस्तालाई प्रस्ताव वान, टु, थ्री, फोर

शासकीय प्रणालीको बहसलाई ‘शासन संस्कार पद्धति’तर्फ मोडौँ । जस्तै अब एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथ । यसलाई व्यवहारमा अनुशरण गर्न सम्भव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ ।

(लोकतान्त्रिक संस्थाहरुको आधुनिकीकरण)

१२) लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता बढाऔँ

तब बढ्छ, राजनीतिप्रति आकर्षण अनि राज्यप्रति विश्वास अभ्यास बहुदलीय छ, तर हामीभित्र निर्दलीय शैलीको व्यक्तिकेन्द्रित मनोविज्ञान अझै हावी छ । हाम्रा लोकतान्त्रिक संस्थाहरू, चाहे राजनीतिक दल हुन् या सरकार या दलका भातृसंस्था या लोकतन्त्रमा विश्वास गर्ने अनेक संस्था प्रायको लोकतान्त्रीकरण र आधुनिकीकरण भरोसायुक्त ढंगले हुन सकेको छैन । 

राजनीतिप्रति भरोसा जागृत हुन लोकतान्त्रिक संस्थाहरूको संस्थागत शक्तिको विकासले योगदान पुर्याउनेछ। 
(प्रश्नलाई प्रोत्साहन, जिम्मेवार जवाफ र न्यायको प्रश्न)

१३) राजनीति, राजनीतिज्ञ या राज्यप्रति सञ्चारमाध्यम या कहीँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ ।

संविधानले प्रत्याभूत गरेको अधिकारलाई गैरकानुनी रूपले या कानुन बनाएर कुन्ठित गर्ने प्रयत्नले राजनीतिप्रति वितृष्णा बढाउँछ । जवाफदेहीपूर्ण जवाफले राजनीतिप्रति आकर्षक बढाउँछ ।
(न्याय खोजिरहेको एक्लो आवाज सुनौँ)

१४) न्यायको फास्ट ट्रयाक अनुभूति, व्यवस्थाप्रति विश्वासमा अभिवृद्धि 

कुनै माग या न्यायोचित मुद्दा सुनुवाइ गर्न राज्यले सयौँ या हजारौँको जुलुस प्रतीक्षा गर्नुहुन्न । सम्बोधनमा शीघ्रताले न्यायमा जो अपनत्व अनुभूति गराउँछ, त्यसले व्यवस्थाप्रति व्यक्तिको विश्वास बढाउँछ । हेक्का राखौँ, लोकतन्त्र भन्नु लाखौँको जुलुस निकाल्न पाउने अधिकार जति हो, त्यो भन्दा बढी केवल एउटा अदना नागरिकले मलाई न्याय चाहियो भन्दा राज्यले सुनुवाइ गर्नु हो ।
(सम्मान, श्रद्धा र कदरले राजनीतिको गरिमा बढाऔँ)

१५) लोकतन्त्र र देशका लागि जो सहिद भए, तिनको परिवार एवं द्वन्द्वकालमा यो या त्यो पक्षबाट गम्भीर घाइते बनेका नागरिकलाई सामाजिक सम्मान र पुनःस्थापन हाम्रो राज्य र राजनीतिको कर्तव्य हो ।
सुसंस्कृत समाजको परिचय र जिम्मेवार राजनीतिको पहिचान पनि हो ।

१६) लोकतन्त्र र राष्ट्रको लागि लामो समय संघर्षमा सहभागी अग्रज र आदर्श राजनीतिक व्यक्तित्वहरूको सामाजिक सम्मान र कदर गर्ने संस्कृतिले राजनीतिप्रति नागरिक आकर्षण बढाउन बल पुर्याउँछ ।
(राष्ट्र निर्माणमा ‘कुशल कालिगढी मस्तिष्क’ गाँसौँ)

१७) ‘कुशल कालिगढी मस्तिष्क’को पहिचान र राष्ट्र निर्माणको अभियानमा संलग्नताका लागि आह्वान र प्रोत्साहन अब जरुरी भएको छ । हेक्का राखौँ, दल निर्माण र देश निर्माणको विषय अन्तर्सम्बन्धित भए पनि देश निर्माण बृहत् विषय हो । राजनीतिमा संलग्न नरहेका, तर विषयगत सुयोग्यता राख्ने कुशल कालिगढी मस्तिष्क भएकाहरूलाई सँगै लिएर अगाडि बढ्दा राजनीतिप्रति आकर्षण बढ्छ र राष्ट्र निर्माणप्रति विश्वास अभिवृद्धि हुन्छ ।

१८) राजनीतिभन्दा पर रहेका, तर देश निर्माणको विषयगत भिजन बोकेका व्यक्तित्वको क्षमताबाट राष्ट्र लाभान्वित हुन त्यहीअनुरूपको संवैधानिक बन्दोबस्त र व्यावहारिक वातावरण निर्माणको बहस जरुरी छ । 
प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा निश्चित संख्या त्यसरी लिन सक्ने प्रबन्धतर्फ चिन्तन गर्न जरुरी छ ।
(स्वावलम्बी बनौँ, राजनीतिकर्मीहरू स्वच्छताको सन्देश दिऊँ)

१९) हरेक तहको राजनीतिक नेतृत्व र सदस्यलाई आर्थिक रूपले आत्मनिर्भर बन्ने प्रेरणा र बनाउने अभियानले राजनीतिक व्यक्तिलाई स्वावलम्बी बनाउँछ भने समग्र राजनीतिलाई स्वच्छ र सदाचारयुक्त मैदान बनाउन योगदान पुर्याउँछ । राजनीतिबाहिर अन्य क्षेत्रमा संलग्न रहेका व्यक्तिले पनि परिवारलाई दिने समय र जीवन सुव्यवस्थापनको साधन जुटाउने सवालमा इमानको बाटो र आत्मनिर्भरताको लक्ष्य जरुरी छ । त्यसैले मैले भन्ने गरेको छु ‘तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि।’
(समावेशिताको जग श्रेष्ठताको लक्ष्य)

२०) श्रेष्ठताको व्यावहारिकताले समावेशिताको गाम्भीर्य, समावेशिताको मार्गबाट श्रेष्ठता हासिल गर्ने लक्ष्य ।
यसले लोकतन्त्रप्रति आत्मीयताबोध अभिवृद्धि एकातर्फ सबैमा गराउँछ भने अर्कोतर्फ राजनीतिको जिम्मेवार अभिभावकत्वप्रति आकर्षण र भरोसालाई बल पुर्याउँछ ।
(सदाचारको ट्रयाक रेकर्ड राजनीतिक नियुक्तिपूर्व)

२१) कुनै पनि सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा कैयन देशले गरेझैँ (क्ष्लतभनचष्तथ । अर्थात् सिफारिस हुनेको सदाचारसम्बन्धी ट्रयाक रेकर्ड हेर्ने र दल, सरकार र राजनीतिको छविमा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई मुख्य केन्द्रमा राख्ने ।
(राजनीतिप्रति युवाको विकर्षण बदलिन्छ, विश्वासमा देश बन्ने विश्वासले)

२२) ‘देशमा केही भएको छ, धेरै गर्न बाँकी छ’ यो भावना जनजनको मनमा दृढ ढंगले विकसित गर्न जरुरी छ । महत्वपूर्ण राजनीतिक परिवर्तनहरूले देशलाई उज्यालो भविष्यतर्फ अग्रसर हुन मार्गप्रशस्त गरिसकेको छ भने अस्थिरता र हिंसात्मक द्वन्द्वको बीच पनि देखिने गरी आर्थिक र भौतिक प्रगतिका केही कार्य देशमा भएका छन्।
(राजनीतिले अब क्रान्तिको परिभाषा बदल्नुपर्छ)

२३) राजनीतिक परिवर्तनको नेतृत्व दलहरूले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ ।
छलफलका प्रस्तावित यी बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौँ विषय तथा सवाल हुन सक्दछन् र छन्। जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकि बहसको कारखानाबाट रूपान्तरणको नवीन औजारको उत्पादन गर्न सकियोस्।

२४) राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो। संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस्, जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होइन, त्यसका सञ्चालकको प्रवृत्तिमा बढी निर्भर हुन्छ । 
त्यसैले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होइन, यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो ।
 

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार २०:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया