भुवन केसी र शिव श्रेष्ठले एकै स्वरमा भने- महानायिका गौरी मल्ल

नेपाली कलाकारबीचको तिक्तता बेलाबेला सार्वजनिक समारोहमा पोखिने गरेको छ । कहिले सामाजिक सञ्जाल, कहिले विभिन्न अन्तर्वार्ता त कहिले सार्वजनिक कार्यक्रममा कलाकारहरूले आफ्ना समकालीन कलाकारलाई लिएर असन्तुष्टि पोख्ने गरेका छन् । यही क्रममा आइतबार पुराना अभिनेता शिव श्रेष्ठ र भुवन केसीले उनीहरूकै समकालीन अभिनेत्री करिश्मा मानन्धरले पाएको उपाधिप्रति असन्तुष्टि व्यक्त गरे ।

केही समय अगाडि एक संस्थाले अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि दिएको थियो । करिश्माले पाएको यही उपाधिप्रति शिव र भुवनको असन्तुष्टि रहेछ । उपाधि पाएको लामो समयपछि उनीहरूले यो असन्तुष्टि आइतबार राजधानीमा आयोजना गरेको चलचित्र ‘डाँडाको वर पिपल’को गीत रिलिज कार्यक्रममा पोखेका हुन् ।

शिव र भुवनले महानायिका करिश्मा नभएर गौरी मल्ल भएको दाबी गरेका छन् । भुवनले चलचित्रको वास्तविक महानायिका गौरी रहेको बताउँदै अबको ८-१० वर्ष गौरीको अभिनयको तुलनामा अर्को कोही आउन नसक्ने तर्क गरे ।

केसीले भने, ‘मैले यो विवादित कुरा गरेको होइन, म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल अभिनयको महानायिका नै हुन् ।’

सोही कार्यक्रममा शिव श्रेष्ठले गौरीको अभिनयको तारिफ गरे । उनले भने, ‘गौरीको अभिनय बलियो छ । गौरी मल्लको योगदान हेर्नुस् त ।’ 

उनले अगाडि भने, ‘महानायिकाको उपाधि यसै दिने होइन ।’ 



भुवन र शिवले चलचित्र क्षेत्रमा गौरीले गरेको योगदानका कारण आफूहरूलाई ‘महानायिका’लागेको बताए ।

कलाकारले पाएका उपाधिका बारेमा यसअघि पनि पटक पटक विवाद सिर्जना गर्ने गरेको छ । अभिनेता राजेश हमाललाई दिएको ‘महानायक’ उपाधिलाई लिएर पनि बेला बेला ठूलै विवाद हुने गरेको छ । अघिल्लो वर्ष मात्रै निर्देशक दीपाश्री निरौला ‘महानायक’ विवादमा नराम्रोसँग मुछिएकी थिइन् ।



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १२:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया