कांग्रेस सभापतिमा देउवाविरुद्ध निधि : कति भारी?

राजनीतिक विश्लेषक दुर्गा सुवेदी नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामा सधैं ‘मै खाऊँ, मै लाऊँ’ भन्ने प्रवृत्ति रहेको बताउँछन् । उनको यही प्रवृत्तिका कारण कांग्रेसले बलियो उत्तराधिकारी पाउन नसकेको उनको ठहर छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले पार्टी सभापतिको उम्मेदवारी दिने निर्णय गर्नुको प्रमुख कारण देउवाको गलत प्रवृत्ति नै रहेको उनको तर्क छ । निधिको विद्रोहलाई देउवाको उत्तराधिकारी नबनाउने र सधैं ‘मै खाऊँ, मै लाऊँ’ भन्ने प्रवृत्ति ठान्छन् सुवेदी । उनका अनुसार नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणका लागि उत्तराधिकारी तयार गर्ने अघोषित चलन छ । 

उनी भन्छन्, ‘गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई उत्तराधिकारी तयार पारेका थिए, म पछिको पार्टी नेतृत्व हो भनेर चिनाएका थिए, त्यसअघि पनि कृष्णप्रसाद भट्टराई (किसुनजी)ले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)लाई उत्तराधिकारी देखाएका थिए, तर गिरिजाबाबुले पर्खिनु भएन, एक किसिमले कांग्रेसमा भावी नेतृत्व तयार गर्ने प्रचलनजस्तै छ ।’

तर, सभापति देउवाले उत्तराधिकारी तयार नगर्दा निधिले विद्रोह गरेको विश्लेषक सुवेदी बताउँछन् । ‘यो उचित पनि छ । मान्छे कुनै नेताको पछि किन लाग्छन्, किन सहयोग गर्छन् ? भन्दा त म पनि भोलि नेता बन्न सकूँ भनेर हो नि,’ सुवेदीले फरकधारसँग भने, ‘निधिलाई पनि देउवापछि म सभापति हुँला भन्ने लागेको हो, स्वाभाविक छ त्यो र देउवालाई यसपटक म उठ्छु, सहयोग गर्नुहोस् भन्दा नमानेपछि विद्रोह गरेका हुन् ।’ 

कांग्रेसको केन्द्रीय तहको राजनीतिमा देउवाको प्रवेश आठौं महाधिवेशनसँगै भएको हो । उनको नेतृत्वको केन्द्रीय समितिको उपसभापति विमलेन्द्र निधि हुन् । पार्टीको दसौं महाधिवेशनदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा उनको प्रवेश भएको हो ।

कांग्रेस इतिहास हेर्दा केन्द्रीय राजनीतिमा देउवाको प्रवेश निधिको भन्दा दुई महाधिवेशन अघिदेखि भएको देखिन्छ ।



संयोग, दसौं महाधिवेशनमा निर्वाचित भएपछि देउवा र निधिको हैसियत केन्द्रीय सदस्य नै हो । २०५९ सालमा कांग्रेस विभाजनपछि देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा पनि निधिले साथ दिए । जतिबेला देउवा सभापति र निधि सदस्य भए । 

प्रजातान्त्रिकले ११ औं महाधिवेशन गर्दा देउवाले निधिलाई महामन्त्री बनाए । एकताको १२ औं महाधिवेशन हुँदा पनि देउवासँगै रहेका निधिलाई १३ औं महाधिवेशनपछि उपसभापति देउवाले नै बनाए । र, देउवा नेतृत्वको समितिको कार्यकाल अहिले सकिएको छ ।



अब, मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन हुँदै छ । महाधिवेशनको सुरसार चल्दै गर्दा यी दुई नेता एकै नहुने स्पष्ट भइसकेको छ । अर्थात् एकविरुद्ध अर्को लड्ने पक्का भएको छ–सभापति पदमा । यी दुई नेताबीचको २० वर्षे राजनीतिक गठजोड अब टुट्ने भएको छ । 

निधि नयाँ बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर सभापति पदका लागि चुनावी मैदानमा उत्रिसकेका छन् । यस्तो अवस्थामा देउवाविरुद्ध निधि कति भारी हुन सक्लान् ? किन देउवाविरुद्ध निधिको विद्रोह ? लगायतका प्रश्नहरू स्वयम् कांग्रेसीजनको छ । 

निधि तत्कालीन महामन्त्री महेन्द्रनारायणका छोरा हुन् । पार्टीको आठौं महाधिवेशनमा महेन्द्रनारायण कृष्णप्रसाद भट्टराई सभापति रहँदा महामन्त्री थिए । उनकै छोरा विमलेन्द्र राष्ट्रिय राजनीतिमा छाएको दुई दशक नाघेको छ । 

पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीति गर्दै केन्द्रीय राजनीतिमा प्रवेश गरेका उनी संगठनमा बलियो पकड राख्ने नेतामध्येका एक मानिन्छन् । उनको राजनीतिक भूगोल मधेस हो । अन्यन्त्र भन्दा त्यहाँका अधिकतम महानिधिवेशन प्रतिनिधिको मत निधिलाई जान सक्ने विश्लेषण कांग्रेस मामिलाका जानकार वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको छ । 

कम्तीमा डेढ सयभन्दा बढी मत निधिले पाउन सक्ने र उक्त मत देउवाको जित र हारमा कारक बन्ने अवस्था हुने त्रिपाठी बताउँछन् । यसअघि १३ औं महाधिवेशनमा देउवा र रामचन्द्र पौडेलबीचको मतान्तर ५२६ हो । देउवाले पौडेलले भन्दा २६४ मत बढी पाएका थिए । 

निधिले कम्तीमा डेढ सय मत प्राप्त गर्दा देउवालाई जितमा असर पर्ने सक्ने त्रिपाठी देख्छन् । फोरम लोकतान्त्रिकबाट कांग्रेस आएका नेता विजयकुमार गच्छदार र राप्रपाबाट आएका सुनीलबहादुर थापा पक्षबाट निधिलाई सहयोग भयो भने उनको पकड थप बलियो हुने छ । कृष्णप्रसाद सिटौलाले पनि निधिलाई सहयोग गर्न सक्ने उनको विश्लेषण छ ।  

सुवेदीका अनुसार, गच्छदार र थापाले निधिको अभाव पूर्ति गर्न नसक्ने बताउँछन् । ‘निधि सांगठनिक शक्ति भएको नेतामा पर्छन्, संगठनमा उनको जरा छ, देशभर चिनिएका हुन् र नेपाली कांग्रेसको सभापति पदका निकै राम्रा उम्मेदवार हुन्, त्यही भएर गच्छदार र थापा पक्षको मतले थेग्न सक्दैन,’ उनी भन्छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधिहरू हुन् । उनीहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रसँगै भातृ तथा शुभेच्छुक संगठन, जनसम्पर्क समितिलगायतबाट निर्वाचित भएर आउँछन् ।

निधिले यी विभिन्न निकायबाट महाधिवेशन प्रतिनिधि कति ल्याउँछन् ? यो यकिन गर्नका लागि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई पर्खिनुपर्ने भएको छ । सोही आधारमा उनी देउवाप्रति कति भारी हुन्छन् ? निक्र्योल हुने छ ।

यस्तै, उनले सम्पर्क कार्यालय स्थापना गर्दा हिन्दू धर्मप्रति झुकाव देखाएका छन् । जबकि, उनी पहिले धर्मनिरपेक्षताप्रति कट्टर देखिएका थिए । सम्पर्क कार्यालय स्थापनापछि उनमा देखिएको हिन्दू धर्मप्रतिको झुकावले कांग्रेसभित्रको केही हिन्दूवादी महाधिवेशन प्रतिनिधिहरू प्रभावित हुने ठानिएको छ । 
 

  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १०:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया