नेपाली महिला फुटबलमा साम्बाको अभाव कहिलेसम्म ?

नेपालले अहिले महिला एसियन कप छनोटका खेल खेलिरहेको छ । शनिबार भएको पहिलो खेलमा ९० औँ मिनेटसम्म अग्रता कायम गरे पनि अन्त्यतिर नियन्त्रण गुमाउँदा नेपाल २–१ ले पराजित भयो । नेपालले अन्तिम समयमा रक्षात्मक खेल खेल्न नसक्दा हारको सामना गर्नुपरेको थियो । 

पुरानामा फिटनेसको समस्या देखियो भने नयाँ खेलाडीमा अनुभवको कमी । राम्रो खेल्ने भनिएका खेलाडीको पनि प्रदर्शन सन्तोषजनक रहन सकेन । शनिबारको खेलमा नेपाल महिला फुटबल टिमकी गोल मेसिन सावित्रा भण्डारी उर्फ ‘साम्बा’को अभाव खड्कियो । उनी खेलको नतिजालाई मिनेटमै उल्टाउने क्षमता राख्थिन् । उनको क्षमता, गोल गर्दा खुसी व्यक्त गर्ने शैली बेग्लै थियो ।

शनिबार सावित्रा  मैदानमा थिइनन् र आज हङकङसँग हुने खेलमा पनि उनी उपस्थित हुने छैनन् । नेपाललाई धेरै अन्तर्राष्ट्रिय खेलमा अग्रताका साथसाथै खेल जिताउने ‘जादुगर’ हुन् सावित्रा । उनको विशिष्ट खेल शैलीले सबै खेलप्रेमीको मन जितेको थियो । उनको खेल्ने शैलीको अन्तर्राष्ट्रिय स्तरका खेलाडीले पनि खुलेर तारिफ गरेका छन् । 

हाल इङ्ग्लिस क्लब टोटनहममा आवद्ध नेपाली मूलकी अस्मिता आलेले पनि उनकोे प्रशंसा गरेकी थिइन् । झट्ट हेर्दा केटा जस्तो देखिन्छिन् सावित्रा । धेरै झुक्किन्छन् पनि । उनको हेयर स्टाइल, गोल गरेर मनाउने खुसीयाली यी सबै केटासँग मेल खान्छ । उनले नेपाली फुटबलमा गरेको योगदान तथा प्रदर्शनलाई सायदै कसैले प्रतिस्थापन गर्न सक्छ । 

सन् २०१९ मा भारतमा आयोजना भएको ‘हिरो महिला गोल्डकप’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको थियो । सावित्रा प्रतियोगिताको सर्वाधिक  गोलकर्ता बनेकी थिइन् । प्रतियोगितामा नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएको खेलमा उनले २ गोल गरेकी थिइन् । बाँकी दुई गोल इरानविरुद्ध गरेकी थिइन् । 

सावित्रालाई हाल नेपाली राष्ट्रिय महिला टोलीको मुख्य खेलाडीको रूपमा लिइन्छ । वर्तमानमा नेपाली राष्ट्रिय महिला टोलीमा उनी सदाबहार गोल मेसिनको रूपमा चिनिन्छिन् । सन् २०१९ मा भारतीय महिला फुटबल लिगमा नेपालकी अर्की महिला खेलाडी अनिता बस्नेतसँगै सावित्रा सेतु क्लबमा अनुबन्ध भएकी थिइन् । सेथुमा अनुबन्ध भएपछि क्लबको पहिलो खेलमा अनिता बस्नेतभन्दा अगाडि उनले डेब्यु गरेकी थिइन् ।



सावित्रा अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यावसायिक महिला फुटबल लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । यसअघि उनले देशबाहिर माल्दिभ्स एयरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागिता जनाएकी थिइन् । उनले सेथु क्लबको तर्फबाट २०१९ मा भारतीय महिला लिगको उपाधि जितेकी थिइन् । उनले उक्त प्रतियोगितामा ७ खेलमा १५ गोल गर्न सफल भएकी थिइन् ।

२०२० को भारतीय महिला लिगमा भने उनले गोकुलम केरलाबाट खेलेकी थिइन् । केरेललाई पनि उपाधी दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । २०७५ सालमा उत्कृष्ट प्रदर्शन गरेको कारण सावित्रा नेपाली खेलकुद जगतको चर्चित पुरस्कार ‘पल्सर स्पोर्ट्स अवार्ड २०७५’ मा उत्कृष्ट महिला वर्ष खेलाडीबाट सम्मानित भएकी थिइन् । यस्तै, उनी पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत पिपुल च्वाइस अवार्डमा दोस्रो भएकी थिइन् ।



उनले २०७६ सालको संविधान दिवसको अवसरमा राष्ट्रपतिमार्फत जन सेवा श्री पञ्चम श्रेणी पदक प्राप्त पनि गरेकी थिइन् । सरकारले २०७५ सालमा सावित्रालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । ‘सावित्रा भण्डारी जस्तो खेलाडी उत्पादन गर्न त्यति सजिलो छैन । उनलाई मैदानमा प्रतिस्थापन गर्न गाह्रो छ,’ उनको बारेमा फुटबल विश्लेषक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटी संयोजक सञ्जीव मिश्र भन्छन्, ‘सावित्रा भण्डारीले जुन तरिकाले खेल्छिन्, उनी टोलीमा नहुँदा टिमलाई असर त पर्छ ।’

मिश्रले थपे, ‘सावित्रा भण्डारी एक मात्र खेलाडी हुन् जसको कमी नेपाली टोलीलाई अहिलेको खेलहरूमा महसुस भइरहेको छ ।’ एक मात्र खेलाडीको कमीले टोली प्रभावित हुनुलाई राम्रो भने मान्दैनन् मिश्र ।

सावित्राबाहेक अन्य खेलाडीले पनि आफ्नो स्थानमा राम्रो खेल्न सकेको भए घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भइरहेको एफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालको प्रदर्शन कमजोर देखिँदैनथ्यो । नेपालले ९० औँ मिनेटसम्म अग्रता लिएको खेल अन्तिम समयमा गुमाउनुलाई राम्रो मान्न नसकिने उनले बताए ।

‘हरेक खेलाडीले आफ्नो स्थानमा राम्रो खेल प्रदर्शन गरेमा खेल जित्न सकिन्छ । जसरी गीता राना, पुजा राना र हीरा भुजेलले आफ्नो प्रस्तुती जोगाइ राखे त्यसरी हरेक खेलाडीले जिम्मेवार भएर खेलन जरुरी छ,’ मिश्रले भने, ‘नेपाली महिला खेलाडीमा पछिल्लो समय फिटनेस, स्पिडको समस्या देखिन्छ ।’

साम्बाको कमी पूरा गर्न अहिलेका खेलाडीलाई हम्मेहम्मे परेको छ । फागुनमा भएको राष्ट्रिय महिला लिग खेल्दाखेल्दै उनले चोट बोक्न पुगिन् । हाल उनी खुट्टाको अप्रेसन गरेर कतारमा आराम गरिरहेकी छन् ।


 
 

  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १३:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया