कालिञ्चोक गाई फार्म : अनुमतिबिनै निजी जग्गामा डोजर

स्थानीय जनतालाई रोजगार, लगानीको शेयर र आर्थिक उपार्जजनको सपना टोलटोलमा बाँड्दै हिँडेका कालिञ्चोक गाई फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक रामकुमार खड्काले स्थानीयको जग्गामा जथाभावी डोजर चलाएका छन् । 

गाई फार्मका सञ्चालक खड्काले स्थानीयको अनुमति बिना नै जथाभावी डोजर चलाएर जग्गाको साँध सीमा नै अन्योलमा पारेको स्थानीयले आरोप लगाएका छन् ।

दोलखा भीमेश्वर नगरपालिका–८ बोचको गाउँभन्दामाथि सामुदायिक वन छ । वनको सिमानामा स्थानीयको पुख्र्यौली जग्गा छ । सो जग्गामा गाई फार्मका सञ्चालक खड्काले मनोमानी ढंगले जथाभावी डोजर चलाएको पाइएको हो । 

स्थानीयहरु काम नपरी सो क्षेत्रमा हतपत पुग्दैनन् । यही मौकामा गाई फार्मका सञ्चालक खड्काले स्थानीयको जग्गामा डोजर चलाएर स्थानीयलाई त्रसित र आतंकित पार्दै आएको स्थानीयको आरोप छ ।  

कालिञ्चोक गाई फार्मले कानुनी रुपमा २०६६ साउन ४ गते जिल्ला मालपोत दोलखाबाट जग्गा लिएको देखिन्छ । तर, गाईफार्मले स्थानीयसँग मागेको जग्गा नदिएपछि सञ्चालक खड्काले आफूखुसी जनताको जग्गामा डोजर चलाएको स्थानीय रत्नबहादुर तामाङ बताउँछन् । गाई फार्म सञ्चालक खड्काले आफूलाई पटकपटक जग्गा दिन अनुरोध गरेपनि आफूले नदिएको तामाङको भनाई छ ।

‘रोपनीको ७ देखि १० हजारका दरले बिक्री गर्नु भनेको कौडिको भाउमा जग्गा दिनु हो । यसकारण जग्गा दिइएन’, उनले फरकधारसँग भने, ‘मैले जग्गा नदिएपछि खड्काले अनुमति बिना नै करिब ९ रोपनी (४४२५ वर्गमिटर) जग्गामा डोजर चलायो । अहिले साँध सीमा कहाँ हो, थाहा छैन ।’ 



भूकम्प आएपछि धेरै मान्छे त्रासमा थिए । त्यही मौकामा खड्काले डोजर चलाएर जग्गा सम्याएको तामाङको भनाई छ । 

‘भूकम्पले मेरो आमा बित्नु भएको थियो । म एक्लो थिए । यस्तो दुःखद समयमा आफ्नो जग्गामा डोजर चल्दा कस्को मन रुदैन होला’, उनले भावुक हुँदै भने, ‘त्यो खड्काको नियत ठीक रहेनछ । जग्गामा डोजर चलेको हल्ला चलेपछि गाई फार्म पुगेको थिएँ । उनले पछि अमिनी ल्याएर नाप्दा हुन्छ भनेर आलटाल गर्‍यो ।’
यसपछि बिना अनुमति जग्गामा डोजर चलाएको विषयमा डिस्कस भएको थियो । यसपछि देखभेट नभएको उनको भनाई छ । 



अर्का स्थानीय कुमार लामा पनि गाई फार्म सञ्चालक खड्काबाट पीडित हुन् । खड्काले लामाको जग्गामा पनि विना अनुमति डोजर चलाएका छन् । 

‘पुख्र्यौली जग्गामा डोजर चलेको सुनेपछि हामी त्यहाँ दौडियौं । अनुमति लिएको छैन । तीन भाइको जग्गा हो । जानकारी छैन । हाम्रो जग्गामा डोजर चलिरहेको रहेछ’, उनले भने, ‘बिना अनूमति लालपूर्जाभित्रको जग्गामा डोजर चलाउन पाइन्छ र भनेर खड्कालाई सोध्यौं । मैले लाने होइन, अमिनी ल्याएर नाप जाँच गर्नुस् भन्ने जवाफ आयो ।’ 

यो घटना चार महिनाअघिको हो । दुई वटा स्काभेटर लगेर लामाको दाजुभाईको जग्गा खनिरहेको थियो । सामान्य किसानमाथि गाई फार्मका सञ्चालक खड्काको हेपाह प्रवृति भएको उनको भनाई छ । 

‘हामीले रोक्ने प्रयास पनि गरेका थियौं । तर, हाम्रो कुरै सुनिएन । डोजर चलिरह्यो । हामीले हेरिरह्यौं र फर्कियौं’, उनले भने, ‘यो अन्याय भयो । बोलिदिने कोही भएन ।’ 
यसअघि खड्काले लामालाई काठमाडौं तीनकुनेको सिद्धार्थ कटेजमा बोलाएर जग्गा दिन आग्रह गरेका थिए । आफू सिद्धार्थ कटेजमा पुगेर खड्कासँग बसेपनि जग्गा दिनुभन्दा अघि कानुनी प्रक्रिया र शेयरको शर्त राखेपछि खड्काले सम्पर्क नगरेको लामाको दाबी छ ।  

यसपछि गाई फार्मलाई जग्गा नदिने तीन दाजुभाइको सल्लाह भएको उनले फरकधारलाई बताए । जग्गा नदिएको रिसिइबीका कारण बिना अनुमति लालपूर्जा भएको जग्गामा डोजर चलाएको उनको भनाई छ । 

गाई फार्मका सञ्चालक खड्काले स्थानीयको जग्गामा डोजर चलाएको स्विकार्दै भने, ‘मैले गाई फार्मका लागि सामुदायिक वनको भिरालो जग्गा सम्याउने क्रममा केही स्थानीयको जग्गा परेको हो । मैले जग्गा बोकेर लाने कुरा हुँदैन । जहाँको त्यहीँ छ । आउनुस् नापजाँच गर्नुस्, राख्नुस् ।’ 

तर, अनुमतिबिना निजी जग्गामा डोजर चलाउनु मिल्छ भन्ने प्रश्नमा खड्काले ‘जग्गा मैले बोकेर लैजान मिल्दैन’ भनेर जवाफ दिए । 

नेताहरूको स्वार्थ नमिल्दा चार करोड रुपैयाँ फ्रिज, कालिञ्चोक गाई फार्म अलपत्र 

कालिञ्चोक गाई फार्मका प्रमुख खड्काले उपसेनानीलाई अध्यक्ष बनाएर २० लाख लिएपछि...

१५ करोडको कालिञ्चोक गाई फार्म १० वर्षदेखि अलपत्र, स्थानीयलाई झुक्याएर जग्गा मात्रै लिइयो

  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १५:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया