अमेरिकालाई चीनको सुझाब : सम्झौताबाट पछि हट्नुअघि दोहोर्याएर सोच्नू

शीतयुद्धकालीन समयमा रुससँग भएको आणविक हतियार सम्झौताबाट पछि हट्ने अमेरिकी घोषणामाथि टिप्पणी गर्दै चीनले यसो गर्नुअघि उसले ‘दोहोर्याएर सोच्नुपर्ने’ बताएको छ । 

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनल्ड रेगन र रुसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दुरीको आणविक हतियारको प्रयोग रोक्ने सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए ।

३० वर्षअघिको उक्त सम्झौताले मुख्य प्रतिस्पर्धी दुई मुलुकबीच ५ सयदेखि ५ हजार ५ सय किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको प्रयोगमा बन्देज लगाएको थियो । 

तर, केही वर्षयता रुसले उक्त सम्झौताको उल्लंघन गर्दै आएको र चीनले सम्झौतामा हस्ताक्षर नगरेकाले यस्ता हतियार बनाउन स्वतन्त्र रहेको भन्दै राष्ट्रपति ट्रम्पले यसबाट फिर्ता हुने योजना सार्वजनिक गरेका थिए । 

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने बताए । 

सम्झौताले विश्वलाई निःशस्त्रीकरण प्रक्रियामा अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको उनको तर्क छ । 



‘सम्झौताबाट एकतर्फी रूपमा फिर्ता हुनुले धेरै नकारात्मक असर पार्दछ,’ पत्रकारसँगको नियमित भेटघाटमा अमेरिकातर्फ संकेत गर्दै हुवाले भने, ‘सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहोर्याएर सोच्नेमा चीन विश्वस्त छ ।’ 

यसअघि, आइतबार रुसी उप–विदेशमन्त्री सर्गेइ र्यावकोभले सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने बताएका थिए ।
 



  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार १९:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया