को महानायक, को महानायिका : उपाधि दिने को हो ? किन बल्झिरहन्छ विवाद ?

केही वर्ष अघि–पछिबाट सुरु भएको यात्रा । कयौं पटक पर्दामा दाजुभाइको भूमिका । हिँड्नुपर्ने र तय गर्नुपर्ने बाटो एउटै । संख्यात्मक रुपमा पनि हाराहारीजस्तै चलचित्रमा अभिनय । नेपाली सिनेमाका स्थापित कलाकार हुन्– भुवन केसी र राजेश हमाल । यी दुई अग्रज कलाकार एकै ठाउँ उभिन सक्दा नेपाली सिनेमाले बेग्लै र बलियो बाटो बनाउन सक्थ्यो । कयौं सिनेमाका कथा अब्बल उनिन सक्थे । चलचित्र क्षेत्रको विकासका लागि बलियो काँध हुन सक्थे यी । यी सबै दर्शक र नेपाली सिनेमालाई माया गर्ने समूहको कामना अनि चाहना मात्रै हुन् । तर, परिस्थिति नितान्त भिन्न छ ।

एउटाले पाएको उपाधिका कारण घोचिरहन्छ अर्कोको मन । बेलाबेला छताछुल्ल भएर पोखिन्छ उपाधिप्रतिको आक्रोश । अनि हरेक साल बल्झिरहन्छ राजेश हमालले पाएको ‘महानायक’ उपाधिको घाउ । 

एक व्यवस्थाबाट अर्कोमा जाँदै गरको देश । यही देशमा बामे सर्न खोज्दै गरेको चलचित्र उद्योग । ठीक त्यही समय अग्लो कद, लामो कपाल र सुगठित शरीर भएको एउटा लक्का जवान पर्दामा देखियो । ४० को दशकमा सिने उद्योगमा दमदार ‘इन्ट्री’ गर्ने त्यही ठिटो थियो राजेश हमाल । त्यसपछि नेपाली सिने उद्योगमा उनले ‘एक युग’नै राज गरेको मानिन्छ । पहिलो चलचित्रबाटै स्थापित राजेशले पछाडि फर्किएर हेर्नु परेन । आफैंले छोडी हिँडेको बाटो फर्किएर हेर्ने फुर्सद पनि कहाँ भयो र उनलाई ? यही क्रममा राजेशभन्दा अगाडि नै परिचय बनाएका शिव श्रेष्ठ र भुवनहरु विस्तारै छायाँमा पर्दै गए । 

त्यसपछि सिने उद्योगले संख्यात्मकका साथै व्यावसायिक रुपमा पनि छलाङ मार्यो । राजेशको आगमन अघि र पछिको चलचित्र उद्योग भन्ने मान्यता नै स्थापित भयो । समयको यही बिन्दुलाई हेरेर मानिसले उनीप्रति आ–आफ्नै धारणा बनाए । यो समयमा उनका समकालीनमात्र होइन केही अगाडिका कलाकारले पनि उनीसँग प्रतिस्पर्धा गरेर विस्थापित गर्न सकेनन् । समयक्रममा उनलाई ‘महानायक’को उपाधिले सम्बोधन गर्न थालियो । 

उनलाई ‘महानायक’ उपाधि राज्यले दिएको होइन । झण्डै डेढ दशकअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने फिल्मसम्बन्धी कार्यक्रम ‘रजतपट’ले पहिलोपटक राजेशलाई ‘महानायक’ उपाधि दियो । त्यसलगत्तै चलचित्र प्राविधिक संघले औपचारिक समारोहबाटै उक्त उपाधिलाई अनुमोदन गरिदियो । त्यसबखतदेखि नै ‘महानायक’ उपाधिलाई लिएर विवाद सुरु भएको हो । विवाद गर्नेहरु सधैं राजेशका शुभेच्छुकको छायाँमा परे । त्यतिबेला पनि भुवनले राजेशलाई दिइएको उपाधि अस्वीकार गरेका थिए । त्यसो त राजेशलाई महानायक उपाधि कसले दियो भन्नेबारे नै पनि श्रेय लिने होड अझै कायम छ । 

उनी भन्दा केही समयअघि चलचित्र क्षेत्रमा आएका र उनकै समकालीनका साथै उनीभन्दा पछि आएकाले पनि बेलाबेला प्रश्न उठाइरहे । राजेशलाई विवादमा तान्ने मुख्य विषय नै यही उपाधि बन्दै आएको छ । अघिल्लो वर्षमात्रै निर्देशक दीपाश्री निरौलाले हमालको उक्त उपाधिमाथि प्रश्न उठाइन् । आफैंले उठाएको प्रश्न दीपाका लागि निकै भारी साबित भयो । फलस्वरुप दीपाले पटकपटक माफी पनि मागिन् । आँसु बगाइन् । उनी आफैं यो विवादले झण्डै डिप्रेसनको अवस्थामा पुगेको बताउँछिन् । दीपाको यो अभिव्यक्तिलाई लिएर उनलाई गाली आउन अझै बन्द भएको छैन । सधैं मौन रहने राजेशले पनि गत वर्ष ‘काउन्टर एट्याक’ गरे । 



‘महानायक’ उपाधिको यो विवाद पुनः बल्झिएको छ । राजेशले पाएको यो उपाधिसँग पहिलादेखि नै असन्तुष्ट भुवनले यसै साता अर्का अभिनेता शिव श्रेष्ठलाई ‘महानायक’ घोषणा गरिदिए । शिव नेपाली चलचित्रको ‘महानायक’ भएको दाबी गर्दै भुवनले भनेका छन्, ‘जसले पाकिस्तानदेखि नेपाल थर्कायो । जसले थुप्रै सुपरहिट चलचित्र दियो । ऊ महानायक नभएर को हुन्छ ?’ उनको यो अभिव्यक्तिले पुनः तरंग पैदा गरेको छ । शिव श्रेष्ठले सोही मञ्चबाट भुवनलाई ‘सुपरस्टार’ घोषणा गरिदिए । वरिपरि हुनेले ताली बजाएर अनुमोदन गरे । भुवन र शिव एकअर्कालाई उपाधि दिएर आफैंसँग रमाए । 

हरेक वर्ष चर्किरहने महानायक उपाधिका बारेमा प्रतिक्रिया लिन खोज्दा धेरै कलाकारहरु अहिले समय उचित नभएको भन्दै बोल्न चाहँदैनन् । वरिष्ठ रंग पत्रकार शान्तिप्रिय राजेश महानायक हुन् कि होइनन् ? कसरी महानायक ? भन्ने कुरोमा पहिलेदेखि अहिलेसम्म विवाद रहेको बताउँछन् । भन्छन्, ‘हामीले हो÷होइन भन्नेभन्दा पनि पब्लिकले कसरी लिन्छ भन्नेमा ध्यान दिनु जरुरी छ ।’



उनी थप्छन्, ‘राजेश एकसमयमा सुपरस्टारचाहिँ हुन् । सुपरस्टार हिट फिल्म दिनेलाई भन्ने गरिन्छ । फिल्ममा लामो योगदान दिएका राजेशको सक्रियता पछिल्लो समय फितलो छ । उनलाई महानायक एक व्यक्तिले कुनै कार्यक्रममार्फत् दिएका हुन् । सबैले महानायक भन्नुपर्छ भन्ने जरुरी त छैन । पब्लिकले त्यो रुपमा लिएका छन् कि छैनन् भन्ने महत्वपूर्ण पक्ष हो ।

राज्यस्तरबाट वा चलचित्र क्षेत्रको सर्वोच्च संस्था विकास बोर्डबाट यस्तो सम्मान दिइएको भए अकाट्य हुन्थ्यो । हामी लहडमा धेरै उपाधि दिने गर्छौं । पहिलेपहिले राजा, राज्यबाट पदवी दिने चलन थियो । त्यो सबैलाई मान्य हुन्थ्यो । अहिले जो कोहीले पनि उपाधि दिने भएकोले त्यसलाई मान्यता दिने÷नदिने, आफूले त्यो उपाधिमा गर्व गर्ने÷नगर्ने, व्यक्तिको विचारमा भर पर्ने कुरो हो ।’

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ यो विषयमा नबोल्नु नै बुद्धिमानी ठान्छन् । उनी भन्छन्, ‘नेपालमा जसले जे गरे पनि हुन्छ । जसलाई जे उपाधि दिए पनि हुन्छ । त्यसको कुनै मापदण्ड छैन । मलाई पनि कला क्षेत्रको हाँस्य सम्राटलगायत केही उपाधिले सम्बोधन गर्ने गरिन्छ । तर, यस्ता उपाधिले मलाई  छुँदैन ।’ कतिपय चलचित्रकर्मीहरु यो विवादलाई ‘व्यर्थको बहस’ भन्छन् । 

केही वर्षअघि अभिनेत्री रेखा थापाले पनि राजेश ‘महानायक’ नभएको उल्लेख गरेकी थिइन् । उनले ‘मेरो फिल्म’ नामक अनलाइनमा राजेश होइन, बरु भुवन केसी ‘महानायक’ हुन् भन्ने अभिव्यक्ति दिएकी थिइन् । एक समय अभिनेता धिरेन शाक्यले पनि राजेशसँग टक्कर लिन खोजेका थिए । चकलेटी अनुहार र आकर्षक एवम् वलिष्ठ शरीरका माध्यमबाट उनले राजेशलाई टक्कर दिँदादिँदै पनि उनले दर्शकको मन जित्न सकेनन् । त्यसपछि धिरेन आफैं चलचित्र क्षेत्रबाटै पलायन भए । 

महानायकको उपाधिका बारेमा प्रश्न गर्दा राजेशले प्रायः मिहीन रूपमा नेपाली चलचित्रको इतिहास बुझ्नु पर्ने बताउँदै आएका छन् । उनले केही वर्षअघि कान्तिपुरको नेपाल साप्ताहिकमा अन्तवार्ताका क्रममा ‘तपाईंलाई महानायक उपाधिका लागि आफू उपयुक्त पात्र हुँ भन्ने लाग्छ ?’ भनेर गरिएको प्रश्नमा ‘नेपाली चलचित्रको इतिहासबाट राजेश हमाललाई निकालेर त्यसको गति, व्यावसायिकता, नेपाली जनसमुदायले नेपाली भाषाको चलचित्र ग्रहण गर्ने मनोविज्ञानका बारेमा सोच्न’ भनेका थिए । गत वर्ष ‘महानायक’ उपाधिलाई लिएर पुनः बजार तंरगित भएका बेला पनि थोरै मिडियामा देखिएका हमालले सोही कुरा दोहोराएका थिए ।

उनको तर्कलाई हेर्ने हो भने हमालले ‘म नै महानायक हुँ’ भनेको बुझ्न सकिन्छ । उनले भन्दै आएका छन्, ‘हरेक व्यक्तिले आफ्नो सोचअनुसार आफ्नो अवधिमा सोच र प्रभाव छोड्ने हो, त्यसले अगाडि बढ्ने आधार र बाटो पाउँछ । तर, कसैले आफ्नो जीवनकालमै अनन्तकालसम्मका लागि तार्किक निष्कर्ष दिन सक्दैन ।’ 

राजेशको आगमनपछि नेपाली फिल्मको संख्या बृद्धि भएकै हो । उनको प्रवेशले फिल्मले मुनाफा कमाएका कारण थुप्रै नयाँ निर्माता चलचित्र उद्योगमा भित्रिएका हुन् । सिनेमाको दुनियाँमा दुई दशक एकछत्र राज गर्नु पनि चानचुने कुरा होइन । नेपाली कला उद्योगमा सबैभन्दा परिचित अनुहार पनि राजेशकै हो ।

अहिलेसम्म उनको जस्तो उचाइ कसैले निर्माण गर्न नसकेको कुरा केही दिनअघि मात्रै कलाकार सरोज खनालले बताएका थिए । तथापि, सरोजलाई पनि राजेशले पाएको उपाधि चित्त भने बुझेको छैन । सीधै नभने पनि घुमाउरो रुपमा उनले यो असन्तुष्टि पोख्दै आएका छन् । 

राजेश अन्याय र विभेद भोगिरहेका कतिपय पात्रलाई पर्दामा उतार्ने प्रतिनिधि पात्र बने । राज्य व्यवस्थाबाट पिल्सिएका सोही वर्गका मानिसहरुले राजेशलाई आदर्श माने । उनका यी तथ्यलाई स्वीकार गर्दै राजेशका एक समयका प्रतिद्वन्द्वी अभिनेता रमेश उप्रेतीले पनि राजेश नै ‘महानायक’ भएको बताएका थिए । 

थपियो अर्को विवाद

यो वर्षको विवाद महानायकमा मात्रै अड्किएको छैन । यो वर्षबाट विवादको सूचीमा थपिएकी छन् राजेशकै समकालीन अभिनेत्री करिश्मा मानन्धर पनि । गत वर्षमात्रै करिश्मालाई आरके इन्टरटेन्टमेन्टले ‘महानायिका’को उपाधि गुथाइदियो । त्यसयता उनी महानायिकाको ट्याग बोकेर हिँडिरहेकी छन् । 

करिश्माले पाएको यो उपाधिसँग पनि उनका समकालीन खुसी हुने कुरै भएन । त्यही विमति शब्दमा पोखिन थालेको छ । अभिनेता भुवन केसीले एक कार्यक्रममा ‘महानायिका’ करिश्मा नभएर गौरी मल्ल भएको दाबी गरे । यो दाबीले ठूलै हलचल पैदा गरेको छ । महानायिका विवादमा उपाधि पाएकी अभिनेत्री करिश्मा भने मौन छिन् । 

गौरीले भने यो देशमा यस्ता उपाधिको कुनै औचित्य नभएको बताएकी छन् । सानो प्लेटफर्मबाट हिँड्दाहिँड्दै यहाँसम्म आएको बताउँदै गौरीले यस्ता उपाधि आफूलाई नचाहिएको तर्क गरेकी छन् । उनले आफूलाई उपाधि भन्दा काम चाहिएको बताएकी छन् । उपाधि दिने र लिनेलाई धान्न सक्ने र ‘डिजर्भिङ’ हो कि होइन भनेर मूल्यांकन गर्न पनि आग्रह गरेकी छन् । 

गौरीले भनेकी छन्, ‘हामीले आफ्नो काम सुरु गर्दा म महानायिका हुन्छु, महानायक हुन्छु वा सर्वश्रेष्ठ बन्छु भनेर गरेका होइनौं । हामीले के गर्यौं, के गरेनौं भोलिको पुस्ताले मूल्यांकन गर्ने कुरा हो । तर, यी सब कुरा भनिरहँदा एउटा कुरा भन्न चाहन्छु– आज तपाईं जे कुरा भन्नुहुन्छ भोलि त्यो इतिहास बन्छ । यो होइन कि चारजना मान्छेलाई खुसी बनाउन उपाधि दिन्छौं भने यसमा के फाइदा छ ? तपाईंहरूको गल्ती भोलि इतिहास बन्छ । त्यो इतिहासले हाम्रो जेनेरेसनको मनस्थिति बिगारिदिन्छ । सत्य त्यही हुन्छ जे कुरा आज तपाईंहरू बोल्नुहुन्छ, लेख्नुहुन्छ । त्यो सत्यलाई नबिगार्नुस् । म त यो चिजदेखि पर भाग्छु । म त काम गर्ने मान्छे हो । श्रम गर्ने मौका दिनुस् ।’

उपाधि घोषणा गरेको वर्षदिनमै ‘महानायक’जस्तै महानायिका विवाद पनि हरेक साल बल्झिरहने घाउ बन्ने पक्कापक्की छ ।  
 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १५:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया