कर्णालीका सुर्खेत र डोल्पा जिल्लामा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन

कर्णाली प्रदेशका दस जिल्लामध्ये सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अझै हुन सकेको छैन । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सल्यान र रुकुमपश्चिममा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सुर्खेत र डोल्पा जिल्लामा सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेको हो।

सुर्खेतमा अखण्ड पार्टीबाट आएका एक जनाले बढी क्रियाशील बनाएको भन्दै विवाद भइरहेको छ । पार्टी भित्रको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पार्टी सदस्यता विवादका कारणले सुर्खेत जिल्लामा वडा अधिवेशन अनिश्चित बनेको हो ।

सुर्खेत जिल्लामा ९९ वटा वडा छन् । तीमध्ये केहीमा प्रतिनिधि चयन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । ‘दोस्रो चरणमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन छैन,’ उनले भने, ‘सदस्यता विवाद अझै कायम रहेका कारणले वडा अधिवेशन लम्बिएको हो ।’

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३, ६, ८ र ११ मा सदस्यता विवाद कारणले वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ । यी चार वडामा ७०६ जनाको नयाँ क्रियाशील सदस्यता थपिएका कारणले पौडेल पक्षले विरोध गर्दै आएको छ ।

चुनावमा ३२ मत, क्रियाशील सदस्य १९९

२०७० सालको संविधानसभाको निर्वाचनमा सुर्खेतका एक उम्मेदवारले ३२ मत ल्याएका थिए । अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएका ती उम्मेदवारले १९९ जनालाई क्रियाशील सदस्य दिएको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ ।



केन्द्रबाट एकलौटी ढंगले अखण्ड नेपाल पार्टीबाट आएका १९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि आफूहरूले यसमा विरोध गरेको नेपाली कांग्रेस सुर्खेतका सभापति तथा पौडेल पक्षका नेता रेग्मीले बताए । 

उनले भने, ‘चुनावमा ३२ मत ल्याएको पार्टीलाई केन्द्रले १९९ नयाँ क्रियाशील सदस्य कसरी दियो ? यसैमा हाम्रो गम्भीर प्रश्न रहेको छ ।’



डोल्पाको विवाद मिल्यो

डोल्पामा पार्टी सभापति अंगदबहादुर बुढाले राप्रपाबाट नेपाली कांग्रेसमा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाले एकलौटी रूपमा क्रियाशील सदस्यता दिएकाे भन्दै विराेध गर्दै आइरहेका छन् । जस कारणले गर्दा डाेल्पामा वडा अधिवेशन हुन सकेकाे छैन ।​

नेताहरू कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदलले विवाद टुंगो लगाएको छ । सोमबार साँझ डोल्पाको विवाद टुंगो लागेको हो।

डोल्पाका पार्टी सभापति अंगतकुमार बुढाले अवैधानिक किसिमले क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै केन्द्रीय सदस्य कर्ण बुढा र पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायलगायतकाले विरोध गर्दै आएका थिए ।


 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १२:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया