कहाँ हराए बामदेव गौतम ?

राजनीतिक वृत्तमा कहिलेकाहीँ ह्वात्तै चर्चाको शिखरमा सुनिने नाम हो- बामदेव गौतम । तत्कालीन नेकपा विभाजन सुरु हुनै खोज्दा पार्टी एकता महाअभियान बोकेर अघि बढेका गौतम एमाले विवादमा पनि पार्टी मिलाउनैतिर सक्रिय देखिए ।

नेपाली राजनीतिमा अस्थिरताको परिचय बनाइसकेका गौतम यतिबेला गुमनाम जस्तै छन् । नेकपा फुट्न नदिने महाअभियानमा लागेका गौतमले एमाले जोगाउन पनि हरदम प्रयास गरे तर, सफल हुन सकेनन् ।

जनताको बहुदलीय जनवादका पक्षपातीसमेत रहेका गौतम पार्टीमा कहिले अध्यक्ष केपी ओलीको आलोचना गरिरहेका हुन्छन् त कहिले तिनै ओलीसँग बैठकमा मिसिन्छन् । 

ओलीको प्रधानमन्त्रीत्वकालमै गत वैशाख ९ मा बामदेव एकाएक बालुवाटार पुगे । उनलाई ओलीले त्यहाँ डिनरसहितको निम्ता दिएका थिए । डिनरपछि तस्बीर सेयर गर्दै गौतमले ओलीले आफूतिर लाग्न भनेका थिए । त्यतिबेलासम्म ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तता बढ्दै थियो । पार्टी फुटिसकेको थिएन्, तर विभाजनको डिलमा भने पुगिसकेको थियो । 

डिनर चल्दैगर्दा गौतमले ओलीलाई २८ फागुनमा भएका निर्णयहरू खारेज गर्न भनेका थिए । यद्यपि ओलीले त्यसमा सहमति नजनाएपछि खाना खाँदाखाँदै बाहिरिएको प्रष्टीकरण गौतमको थियो।
 
त्यसपछि नेपाल र ओली आ-आफ्नो गुट लिएर अलग भए । यद्यपि एमालेमा ओली र नेपालमध्ये कतातिर बामदेव गौतम लाग्छन् ? भन्ने प्रश्न अनुत्तरित छ ।

बामदेवको अबको बाटो कता ? 



एमाले र माओवादी केन्द्र एकता हुँदाबेलामा सुत्रधारका रूपमा परिचित बनेका थिए- गौतम । मुख्य सुत्रधारका रूपमा उदाएका गौतम पार्टीमा चुलिँदै गएको गहिरो संकटकाबीच नेपालका कम्युनिस्टहरू एक हुनुपर्ने मत राख्नेमध्येका मुख्य एक हुन् । 

त्यसो त आफ्नो उक्त प्रयास असफल मानेका गौतम एमाले विभाजनपछि कुन बाटो समात्ने ? भन्नेमा प्रष्ट भइसकेका छैनन् । गौतमको सचिवालय स्रोतका अनुसार उनी हिजोआज घरमै आराम गरेर बसिरहेका छन् । यसको अलवा गौतम पुस्तक पढेर बसिरहेका छन् ।



बहुमतसहित संसदमा उपस्थित भएको नेकपा टुक्रँदै यतिबेला ३ टुक्रा भइसकेको छ । हिजो सँगै एउटै मञ्चबाट भाषण गरेका नेताहरू अहिले फरक-फरक मञ्चबाट एक अर्काको आलोचनामै व्यस्त छन् । 

नयाँ पार्टी खोलेका माधव नेपाल पार्टीको सांगठनिक कार्यदिशाबारे छलफल गरिरहेका छन् । तर, बामदेव गौतम भने मौन बस्नुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । 

चर्चा बामदेवको

सधैं पावरकाे वरिपरि घुमिरहने गौतम कता खुल्छन् भन्ने विषय त यकिन भइसकेको छैन । तर, उनी नेकपा एकीकृत समाजवादीमा जान लागेको चर्चा पनि चलेको छ । नेकपा एकीकृत समाजवादी अहिलेसम्म सरकारमा सहभागी नभइसकेका कारणले पनि बामदेव कता भन्नेबारे अन्यौल देखिएको हो । कुनै महत्वपूर्ण मन्त्रालय दिनेगरी नेकपा एकीकृत समाजवादीमा गौतम देखिन सक्ने धेरैको आंकलन छ । यो आंकलन हुन थालेको निकै समय भइसकेको छ । यद्यपि उनी खुलेका छैनन् ।
 
गौतमले पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीतिबारे स्पष्टता खोजेका छन् । उनले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने बटमलाइन बनाएका छन् भने जबज छाड्न नहुने उनको अडान छ । नेकपा एसको कार्यनीति जनताको बहुदलीय जनवाद नभई जनताको बहुदलीय समाजवाद हुने स्पष्ट भइसकेको छ । गौतम जबसमा सहमत भए पनि मागदर्शक सिद्धान्त जबज हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।
 


  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ७:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया