तराईको लाइफ लाइन भनिने हुलाकी राजमार्ग आयोजनाको वीरगञ्ज-ठोरी सडकखण्डको निर्माण कार्य अझै पूरा हुन सकेको छैन । सदरमुकाम वीरगञ्जदेखि पर्सा जिल्लाको पश्चिममा रहेको पर्यटकीय गन्तव्य ठोरी जोड्ने ६० किलोमिटर सडकखण्ड निर्माणका लागि दुई ठेकेदारलाई जिम्मा दिइएको थियाे ।
वीरगञ्जको लक्ष्मनवादेखि जिराभवानी गाउँपालिकाको चमरीटोलसम्मको ठेक्का अमर-पप्पु कन्ट्याक्ट जेभीले लिएको छ भने जिराभवानी गाउँपालिकाको चमरीदेखि ठोरीको चौतारासम्म करिब ३० किलोमिटरको ठेक्का कालिका बानियाँ जेभी कन्ट्रक्सनले लिएको छ ।
कालिका बानियाँ जेभी कन्ट्रकसनले जिराभवानी गाउँपालिका अन्तर्गत रहेको चमरी टोलदेखि ठोरीको चौतारासम्मको बाटो निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरणसमेत गरिसकेको छ । ३० किलोमिटर सडकमध्ये ५ किलोमिटर पिच हुन भने बाँकी नै छ ।
यता लक्ष्मनवादेखि जिराभवानीसम्मको ठेक्का लिएको अमर-पप्पु कन्ट्याक्ट जेभीले ९० प्रतिशतमात्रै निर्माण कार्य सम्पन्न गरेको छ । भएको बाटो पनि खनेर अलपत्र छाडिएको र सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
६० किलोमिटरको वीरगञ्ज-ठोरी सडकखण्ड २ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा दुई कम्पनीलाई ठेक्का दिइएको थियो । २०७४ कात्तिक १४ मा भएकाे सम्झाैता अनुसार ०७७ जेठ २० सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । २०७७ जेठ २० सम्म काम सक्नुपर्नेमा लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिनाका लागि म्याद थपिएको थियो । थपिएकाे समयावधिमा पनि सडक पूरा नभई हस्तान्तरण भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
कालिका बानियाँले सडक हस्तान्तरण गरेपछि ९२ करोड रुपैयाँ भुक्तानी लिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा वीरगञ्जको लक्ष्मनवादेखि चमरीटोलसम्मको ३० किलोमिटर सडकको ठेक्का अमर-पप्पु कनटेक जेभीले २०७४ कात्तिकमा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
जसमध्ये ठेक्कादारले हालसम्म १ अर्ब रुपैयाँ भुक्तानी लिइसकेको छ भने काम सम्पन्न गर्नका लागि म्याद थपका लागि पहल गरिरहेको हुलाकी राजमार्ग निर्देशनालय कार्यालय पर्साका सूचना अधिकारी सञ्जय कुमार ठाकुरले बताए ।
२०७८ असार १६ सम्म काम सक्नुपर्नेमा विभिन्न बहाना देखाएर निर्माणमा ढिलासुस्ती गर्दै म्याद थपिरहेका छन् । भारतीय अनुदानमा निर्माण भइरहेको हुलाकी सडकको प्राविधिक कन्सल्ट्यान्टसमेत भारतीय कम्पनी नै नियुक्त गरेको छन् ।
काम अधुरै छाडेर आयोजना हस्तान्तरण
हुलाकी सडकअन्तर्गत पर्साको चमरी-ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेको छ । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किमी लामो यो खण्ड निर्माणको ठेक्का पाएको कालिका बानियाँ जेभी कन्ट्रक्सनले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेको हो ।
२०७४ कात्तिक १४ गते ठेक्का प्राप्त गरेको सो निर्माण कम्पनीको ३९ महिनापछि समय सकिएको हो । ३० किलोमिटर सडक निर्माणको ठेक्का लिएको सो कम्पनीले झन्डै ५ किलोमिटरको सडक निर्माण पूरा गर्न बाँकी नै रहेको अवस्थामा कन्ट्रकसनले हुलाकी राजमार्गलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
गत चैत १८ गते इन्डियन कन्सल्टेन्सीका इन्जिनियर नुर आलम र हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीले संयुक्त रूपमा रिबन काटेर राजमार्गको उद्घाटन गर्दै सडक हस्तान्तरण गरेका थिए । वीरगञ्ज-ठोरी हुलाकी सडकअन्तर्गत पर्साको ठोरीस्थित ठुटे खोलाको पुलनजिक सडक निर्माण हुन सकेको छैन ।
ठोरी-२ र ३ को सिमानामा रहेको ठुटे खोलाको पूर्वतर्फ वडा-२ को हनुमानटारको डाँडामा करिब १ किमि सडक निर्माणको काम सकिएको छैन । यसैगरी वडा-४ निर्मलबस्तीमा करिब ४०० मिटर सडक पनि अधुरै छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साका प्रमुख दरोगा प्रसादले पनि समग्रमा करिब ५ किमि सडक निर्माण गर्न नसकिएको बताए । मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे-अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिँदा तथा स्थानीयको अवरोधका कारण उक्त काम नसकिएको प्रमुख प्रसादले जानकारी दिए ।
वडा-१ र २ मा करिब ४ किमि सडकमा निकुञ्ज कार्यालयले सुरुमा काम गर्ने भनेपछि काम सुरु हुँदा कागजात नपुगेको भन्दै काम गर्न नदिएको प्रमुख प्रसादको भनाइ छ । ठुटे खोलामा नेपाल र भारतबीचको कुलोका विषयमा विवाद कायम रहेकाले उक्त समस्या दुई देशका प्रतिनिधिले समाधान नगरेसम्म काम अघि बढाउन नसकिने प्रमुख प्रसादले बताए ।
उनले भने, ‘समस्या नभएका ठाउँमा काम सम्पन्न गर्याैँ । समस्या भएका ठाउँमा जति प्रयास गर्दा पनि सकिएन, त्यसकारण निर्माण भएजति सडक कन्सल्टेन्टले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।’
बारामा हुलाकी सुस्त
बारा जिल्लाको गढीमाई बरियारपुरदेखि कबाहीसम्म सडकको निर्माण निकै सुस्त गतिमा भइरहेको छ । १६.६ किलोमिटरको ठेक्का शर्मा सिद्धबाबा जेभी कन्ट्रक्सनले लिएको छ । २०७५ जेठ १४ मा सम्झौता भएको आयोजना ०७७ जेठ १४ सम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।
यो सडक निर्माण गर्न कन्ट्रकसनले ४८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । योजना कार्यालय अनुसार हालसम्म कन्ट्रकसनले ६५ प्रतिशतमात्रै निर्माण कार्य गरेको छ भने ३० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर निर्माणमा ढिलासुस्ती गर्दै आएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।