स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली काडिजसँग गोलरहित बराबरी खेलेको छ ।
काडिजलाई दबाबमा राखे पनि फिनिसिङमा चुुक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो । घरेलु टोलीले पनि पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको ३० औं मिनेटमा लुक डि जोङको फ्रिकिक पासलाई मेम्फिस डिपाएले प्रहार गरेपनि कार्डिजका गोलरक्षक जेरेमिएस लिडेस्माले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।
४६ औं मिनेटमा अल्भारो नेग्रडोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगनले बचाउँदै टोलीको खतरालाई टारे ।
५२ औं मिनेटमा डिपाएको प्रहारमा गोलरक्षक लिडेस्मा नै बाधक बन्दा बार्सिलोनाले खेलमा अग्रता लिन सकेन ।
फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना ६५ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो ।
७५ औं मिनेटमा अलफन्सो स्पिनोको क्रसमा रुवेन सोब्रिनोको प्रहार क्रस बारमा लागेर बाहिरिदा घरेलु टोली काडिज अग्रता लिनबाट चुक्यो ।
बराबरीसँग लिगमा अपराजित बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा रहँदा काडिज ६ अंकसहित १४ औं स्थानमा छ ।
यो नतिजासँगै बार्सिलोनाले काडिजविरुद्ध लगातार तीन खेलमा जित निकाल्न असफल रह्यो ।
गत सिजन मात्रै शीर्ष डिभिजनमा बढुवा भएको काडिजले बार्सिलोनालाई पहिलो खेलमा २-१ ले पराजित गर्दा दोस्रो खेलमा १-१ गोलको बराबरी खेलेको थियो ।
लिग अन्तर्गत बिहीबार नै भएका अन्य खेलमा ग्रानाडा रियल सोसिडाडसँग ३-२ तथा ओसासुना रियल बेटिससँग ३-१ ले पराजित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।