बिहीबार (हिजो) पाँचखाल पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साथ छाडेका दुईजना नेताहरूको नामै किटेर चर्को आलोचना गरे ।
ती दुई नेता हुन् ५ पुसपछि प्रचण्डको साथ छाडेका रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी ।
प्रचण्डले बादललाई सम्झदा एलर्जी हुने बताएका थिए भने रायमाझीलाई सम्झँदै भगौडा र धोकेबाजको संज्ञा दिएका थिए ।
माओवादी जनयुद्धको पृष्ठभूमिदेखि नै जोडिएका बादल र प्रचण्डको यसअघि नै एकपट छुट भएर मिलेको इतिहास छ । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गृहमन्त्रालयको जिम्मेवारीमा रहेका बादलले विभाजनपछि ओलीको साथ रोजे ।
जुन प्रचण्डका लागि अनेपक्षित थियो । पछिल्ला केही दिनयता नेपाली राजनीतिको रंगमञ्चमा देखिएका शीर्ष नेताहरू चुनावी भाषणजस्तै माहौल बनाउँदै हिँडेका छन् । प्राय: भाषणहरूमा एकले अर्कोको कुरा काट्नेबाहेक उनीहरूका भाषण अन्यन्त्र मोडिन सकेका छैनन् ।
यसैबीच बिहीबार प्रचण्डले बादलप्रति कडा कटाक्ष गर्दै भनेका भनेका थिए, ‘त्यो बादल मेरो हिजोको साथी, बढी त भन्दिन अहिले एलर्जी हुन्छ क्या । सम्झँदा पनि, धैट् ! यस्तो पनि हुन्छ । कहाँबाट ल्याएर गृहमन्त्री बनाई सरकारको नेतृत्व तपाई गर्नुस् भनें अहिले कस्तो?’
प्रचण्डले गरेको कडा कटाक्षलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन् । प्रचण्डले बादलको नाम लिएर त्यति भनेपछि आज (शुक्रबार) प्रचण्डकै गृहजिल्ला पुगेर आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।
‘आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ, त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ,’ प्रचण्डलाई उनले खुला रूपमा चुनावमा लड्ने घोषणा गरेका छन् ।
गृहमन्त्रालयको चाबी दिएर फकाएको बताएका प्रचण्डलाई बादलले चितवन नै पुगेर यस्तो चुनौती दिएका हुन् । उनले प्रचण्ड दक्षीणपन्थी विचलनतर्फ गएको टिप्पणी गरेका छन् ।
साथै, आफूले भन्दा पनि प्रचण्डले पार्टीको लाइन छाडेर गुट बनाएको आरोप लगाएका छन् । ‘अहिले माओवादीभित्रको अन्तरद्धन्द्ध पनि देखिरहनुभएको छ । त्यो कुरालाई स्वयं प्रचण्डले पनि व्यक्त गरिरहनुभएको छ । कतै एक हुने त होइन्? यहाँ सबै मन्त्री हुनका लागि तँछाडमछाड गरिरहेका छन्, म त त्यो घेरा तोडेर आएको छु भनिरहेका छन्,’ बादलले भने ।
प्रचण्ड पुँजीवादको दिशातर्फ गइरहेको बादलको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।