इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार हुने खेलमा दुई ठूला टोली चेल्सी र म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन् ।
खेल नेपाली समय अनुसार दिउँसो सवा पाँच बजे चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ।
चेल्सी घरेलु मैदानको फाइदा उठाउँदै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउने सोचमा हुनेछ । सिटी पनि जित निकाल्दै आफूलाई शीर्ष स्थानको दौडमा कायम राख्न चाहन्छ ।
हाल समान ५ खेलबाट चेल्सी १३ अंक जोड्दै शीर्ष स्थानमा रहँदा सिटी १० अंकका साथ पाँचौ स्थानमा छ ।
युवा खेलाडीले भरिएका दुवै टोलीबीच निकै रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । हालसम्म यी दुईबीच १६९ खेल हुँदा चेल्सीले ७१, सिटीले ५९ खेल आफ्नो पक्षमा पार्दा ३९ खेल बराबरीमा सकिएको छ ।
यी दुईले पहिलोपटक १९०७ मा एक अर्काको सामना गरेका थिए । तत्कालीन लिग डिभिजन वान (हाल प्रिमियर लिग) अन्तर्गत भएको खेल २–२ को बराबरीमा सकिएको थियो ।
यही वर्ष च्याम्पियन्स लिगको फाइनलमा भएको पछिल्लो भेटमा चेल्सी १-० विजयी भएको थियो । पछिल्ला पाँच खेललाई हेर्ने हो भने पनि चेल्सी नै हाबी देखिन्छ । उसले ४ खेल आफ्नो पक्षमा पार्दा मात्र १ खेल गुमाएको छ ।
चेल्सी आज पनि यो लयलाई निरन्तरता दिन चाहन्छ भने सिटी इतिहास भुलाउँदै घरेलु टोलीलाई स्तब्ध बनाउने दाउमा हुनेछ ।
लिग अन्तर्गत शनिबार नै हुने अन्य खेलमा म्यानचेस्ट युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा एस्टन भिल्लाको सामना गर्नेछ ।
एभर्टनले नर्विच सिटी, लिड्स युनाइटेडले वेस्टह्याम युनाइटेड तथा लेस्टर सिटीले बर्नेलीको सामना गर्नेछन् । वाट्फोर्डले न्युकासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दा ब्रेन्टफोर्डले लिभरपुललाई स्वागत गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।