‘कम्युनिस्ट पार्टी प्रचण्डले बचाउन खोजे, ओलीले ध्वस्त पारे’

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापाले प्रचण्डले बचाउन खोजेको कम्युनिस्ट आन्दोलन केपी ओलीले ध्वस्त पारेको आरोप लगाएका छन् । दैलेखको महाबुमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई पूर्ण बनाउन ठूला दुई कम्युनिस्ट पार्टीबीचको एकतामा केपी ओलीले घात गरेपछि टुक्रिएर यो अवस्थामा पुगेको धारणा उनले राखे । ‘बाध्यताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन गर्नुपरेको छ,’ नेपाली कम्युनिस्ट आन्दोलन यही तरिकाले अघि बढ्न नसक्ने भन्दै उनले भने,‘पुनर्गठित गर्न नयाँ पार्टी दर्ता गर्न बाध्य भएका हौँ ।’

जनताको बहुदलीय जनवाद महत्वपूर्ण हुन्छ भनेर स्थापना गरेको पार्टी एकता पार्टी सुदृढीकरण कसरी गर्ने भन्ने ध्यान नराखेर केपी ओलीले विखण्डनतिर लागेको उनले आरोप लगाए । 

ओलीकै कारणले आफूहरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रलाई मत दिन बाध्य भएको मन्त्री थापाले बताए । उनले भने, ‘फ्लोर क्रस गर्नु पनि हाम्रो बाध्यता थियो । कम्युनिस्ट आन्दोलन जोगाउन जे उपयुक्त लाग्यो त्यही गरेका हौँ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका दैलेख जिल्ला कमिटी उपाध्यक्ष एवं महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले केपी ओलीले जनताबाट अनुमोदित संविधानको रक्षा गर्न नसकेको बताए । ‘केपी ओलीले संविधानको रक्षा गर्न सकेनन् । हामीमाथि विश्वासघात भयो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनको रक्षा गर्न नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुपरेको हो ।’
 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १६:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया