वैदेशिक रोजगारीमा गएका धेरै पुरुषमा शुक्रकिट उत्पादन नहुने समस्या
आउँदो १० वर्षमा निःसन्तानको समस्या भयावह बन्ने खतरा

काभ्रेको कात्तिके देउरालीका २५ वर्षीय एक युवकले २०७० को मंसिरमा विवाह गरे । उनले बिहे गर्नुअघि वैदेशिक रोजगारीका लागि दुबईको भिसा लागिसकेको थियो ।

विवाह गरेको एक महिनामै उनी दुबई हानिए । दुई वर्षपछिको विदेश बसाइपछि उनी घर फर्किए । श्रीमान्/श्रीमतीले बच्चा पाउने सल्लाह गरे । तर, जति प्रयास गर्दा पनि बच्चा बस्न सकेन । बिहे गरेको लामो समय हुँदा पनि बच्चा नहुने भएपछि परिवारले श्रीमतीलाई दोष दिन थाले । त्यही विषयका कारण परिवारमा पनि झगडा हुन थाल्यो ।

साथै, परिवारका सदस्यले देवीदेवताले दुःख दिएर यस्तो भएको हो कि भन्दै धामी, झाक्री लगाउनेदेखि पूजाआजासम्म गरे । बच्चा पाउनको लागि त श्रीमतीको डिम्ब र श्रीमानको शुक्रकिटको मिलन हुनुपर्छ,  त्यो पनि उपयुक्त समयमा । तर, उनीहरू त त्यतातिर भन्दा पनि धामी झाक्रीतिर लागे ।  

घरमा आमाले पनि बुहारीकै कारण बच्चा नभएको भन्दै गाउँघरतिर कुरा काट्न थालिन् । जसले गर्दा श्रीमती डिप्रेशनको शिकार बनिन् । आफ्नो मनमा भएको पीडा लुकाएर श्रीमतीले श्रीमानलाई अर्को विवाह गरेर बच्चा पाउन सुझाव दिइन् । सन्तान प्राप्तिको लागि पुरुषको शुक्रकीट उत्पादन हुनुपर्छ, त्यो उनको भइनै रहेको थियो ।

अनि यसलाई रिस उठ्नु र तनाव हुनु स्वभाविक नै थियो । त्यही भएर उनले पनि श्रीमतीलाई नै दोषी देखिरहेका थिए । कहिलेकाही श्रीमतीलाई चेकअपका लागि स्वास्थ्य संस्था पनि लगियो । तर, कतैबाट केही सीप चलेन । 

लामो समयसम्म पनि गर्भ नबसेपछि श्रीमतीले आफ्नो साथीसँग कुरा गरिन् । साथीहरूले उनलाई श्रीमानमा पनि समस्या हुनसक्छ एकपटक चेकअप गराउन सुझाव दिए । त्यही सुझावको आधारमा कुरा गर्न त मन थियो तर, उनमा भन्ने आँट आइरहेको थिएन् । एकदिन डरलाई मनभित्रै राखेर श्रीमानसँग एक पटक अस्पताल गएर चेकअप गर्न आग्रह गरिन् । जुन कुरालाई श्रीमानले पनि स्वीकार गरे ।  



उनीहरू चेकअपको लागि काठमाडौं आए । थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा गएर चेकअप गराए । जहाँ श्रीमान्/श्रीमती दुवै जनाको चेकअप गरियो । स्वास्थ्य परीक्षणको क्रममा श्रीमतीमा कुनै पनि समस्या देखिएन । समस्या त श्रीमानमै देखियो । ती पुरुषको शुक्रकिट कम उत्पादन हुने समस्या देखियो । जसले गर्दा उनीहरू लामो समयदेखि बच्चा पाउन सकिरहेका थिएनन् । 

वरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले समस्याको पहिचान गरेर उपचार गराए । जसले गर्दा अहिले उनीहरूका एक छोरा र एक छोरी छन् । दुबईमा ती पुरुष सेक्युरीटी गार्डको काम गर्थे । त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि हुन्थ्यो । जसले गर्दा उनमा शुक्रकिट उत्पादनमा कमी आएको थियो ।  



डा. गौतम कहाँ हाल दैनिक १० देखि १५ जोडी सन्तान नहुने समस्या लिएर आउने गरेका छन् । तीमध्ये धेरै जसो विदेशबाट फर्किएकाहरू हुन्छन् । ६ महिनाअघि वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल कहाँ एक दम्पत्ति निकै चिन्तित र पीडा बोकेर आयो । श्रीमान् मलेसियाबाट फर्किएको ९ महिना पूरा भइसकेको थियो । घर आएदेखि नै त्यो दम्पत्तिले बच्चा जन्माउनको लागि प्रयास गरिरहेका थिए । तर, ९ महिनासम्मको प्रयास खेर गयो । 

अन्ततः डा. रिलाजबारे उनीहरूले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट थाहा पाएपछि जसरी भए पनि एकपटक भेट्ने भन्दै आएका थिए । जब डा. रिजालसँग भेट भयो अनि त्यो दम्पत्तिको ९ महिनादेखिको समस्या समाधान भयो । चेकअप गराउँदा श्रीमानको शुक्रकिट कम उत्पादन हुने समस्या देखियो । पछि शुक्रकिट बढाएर उक्त समस्या समाधान गरियो । 

डा. रिजाल कहाँ आउने धेरै जसो बिरामीको यस्तो नै समस्या हुन्छ । उनका अनुसार विदेशबाट फर्किएर आएका पुरुषमा सुक्रकिटको कमी भएको पाइने गरेको छ । केही वर्षअघिसम्म सन्तान नहुने अन्य कारण पनि थिए । तर, आजभोलि बिहे गरेको छोटो समयमै विदेशिनु नै प्रमुख कारण भइरहेको डा. रिजालको भनाइ छ ।  

‘विशेषगरी गर्मी ठाउँमा कामको लागि जाने युवाहरू घर फर्किदा बाँझोपनको समस्या लिएर आइरहेका छन्,’ उनले भने, ‘गर्मीका कारण होस्, वा रोगको कारण । या त चिन्ताको कारण होस्, वा अन्य जुनसुकै कारणले पनि पुरुषहरूको विर्यमा शुक्रकिटको संख्यामा कमी आइरहेको छ ।’

अहिले विदेशबाट फर्किएर आउने युवाहरूमा प्रजनन स्वास्थ्य समस्या बिकराल बन्दै गइरहेको उनको भनाइ छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. गौतमका अनुसार विर्यमा शुक्रकिट बन्न ३२÷३३ डिग्री सेन्टीग्रेटको तापक्रम चाहिन्छ । तर, खाडी मुलुकतिर जानेहरूमा बढी तापक्रमका कारण शुक्रकिटमा कमी आउने समस्या देखिने गरेको उनको भनाइ छ । 

‘चुरोट, बिडी, खैनी, सुर्ती, रक्सीलगायतका मादक पदार्थ खानेहरूमा पनि शुक्रकिट उत्पादन कम हुन्छ । अचेल भने बढी गर्मी हुने ठाउँमा काम गर्ने युवामा पनि यस्तो समस्या देखिइरहेको छ । जुन हाम्रो लागि निकै खतराको संकेत हो,’ प्रा.डा. गौतमले भने । 

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानेहरूमा शुक्रकिटको गुणस्तर खराब भइरहेको उनको भनाइ छ । परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालका अर्का स्त्री रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीका अनुसार शरीरको तापक्रमभन्दा अण्डकोषको तापक्रम कम हुन्छ । 

‘विदेशमा धेरै गर्मी हुने ठाउँमा काम गर्नेहरूमा यस्तो समस्या हुन सक्छ । नत्र विदेश नै गएको आधारमा शुक्रकिटमा ह्रास आउने समस्या देखिँदैन,’ डा. सुवेदीले भने, ‘अण्डकोषले शरीरको तापक्रमभन्दा कम तापक्रम खोज्छ । बढी तापक्रममा तातोले गर्दा शुक्रकिट निस्किने प्रक्रियामा असर गर्छ । जसले गर्दा शुक्रकिट उत्पादनमा ह्रास आउँछ ।’

शुक्रकिट उत्पादनमा कमी आउने समस्या विदेश जानेमा मात्र हुन सक्दैन । त्यसका लागि कुकको काम गर्ने, तातो ठाउँमा फलामहरूको काम गर्ने, सार्वजनिक सवारी चलाउने (पुराना खालको सवारी चलाउने), धेरै लामो समय उभिएर काम गर्नेहरू, कुनै रसायनसँग प्रत्यक्ष जोडिरहने मा शुक्रकिट उत्पादन कम हुनसक्छ ।  

शरीरको तापक्रमभन्दा अण्डकोषको तापक्रम २ डिग्रीसम्म कम हुने डा. सुवेदीको भनाइ छ ।  

विदेशबाट फर्किनेमा अर्को समस्या

विदेशबाट फर्किने युवाा शुक्रकिट उत्पादनमा ह्रास आउनु त प्रमुख समस्या । यसका साथै अन्य समस्या पनि देखिने गरेको छ । छोटो समयको छुट्टी लिएर नेपाल आउँछन् ।

त्यो छोटो समयमा बच्चा बस्ने सम्भावना निकै कम हुन्छ । बच्चा बस्नको लागि कम्तिमा एक वर्ष यौनसम्पर्क भएको हुनुपर्ने डा. सुवेदी बताउँछन् । ‘बच्चा नहुने समस्या भएकाहरू कम्तिमा एक वर्षसँगै बसियो भने ५० देखि ६० प्रतिशत बच्चा हुने सम्भावना हुन्छ,’ डा. सुवेदीले भने, ‘तर तीन महिनाको छुट्टी आउँछन् अनि बच्चा भएन भन्दै गुनासो गर्छन् । लामो समयसँगै नबस्नाले बच्चा नहुने समस्या देखिन्छ ।’

चिकित्सकीय भाषामा बच्चा भएन भन्ने अवस्थाका लागि श्रीमान्–श्रीमती कम्तिमा एक वर्षसँग बसेर कुनै साधन प्रयोग गरेर यौनसम्पर्क गरेको हुनुपर्छ । त्यो अवधिसम्म पनि बच्चा बसेन भने मात्रै निसन्तान (बाझोपन) को समसया भएको भन्न मिल्ने प्रा.डा.गौतम बताउँछन् । 

छोटो समयको लागि आउनेमा जसरी पनि बच्चा बसाउनुपर्छ भन्ने मानसिक तनाव पनि हुन्छ । तनावले गर्दा पनि विर्य उत्पादनमा असर गरिरहेको प्रा.डा. गौतमको भनाइ छ । 
अहिले धेरै युवाहरू विदेशिने गरेका कारण चिकित्कसलाई पनि समस्या भइरहेको छ । ‘हामी डाक्टरहरूलाई निकै गाह्रो छ । मान्छेहरूबाट एकदमै प्रेसर हुन्छ । मान्छे दुई महिनाको छुट्टीमा आउँछ अनि बच्चा पाउनुपर्‍यो भन्छ त्यस्तो सम्भव हुँदैन,’ उनले भने । 

नेपालसहित दक्षिण एसियाली देशका १५ प्रतिशत युवामा निसन्तानको समसया हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । जसमा नेपालमा पनि विवाह गरेको एक वर्षभित्र पनि बच्चा नहुने समस्या १५ प्रतिशतमा छ । 

बच्चा गर्भमा बस्नको लागि विभिन्न कुरामा भर पर्छ । महिलाहरूको महिनावारी नियमित हुनुपर्छ । नियमित महिनावारी भएको १२ देखि १८ दिनभित्रमा डिम्ब उत्पादन हुन्छ ।त्यही बीचमा महिला र पुरुषको समागमपछि पुरुषको विर्यबाट निस्किएको शुक्रकिट र महिलाको डिम्बासयबाट निस्किएको डिम्बबीच मिलन भई गर्भ बस्छ । 

बच्चा नहुने महिलाका समस्या 

बच्चा नहुनुमा समस्या पुरुष र महिला दुवैको बराबर भूमिका रहन्छ । बच्चा नहुने महिला र पुरुषका फरकफरक कारण हुन्छन् । महिलाबाट बच्चा नहुने कारणमा नियमित महिनावारी नभएर पाठेघरभित्र डिम्ब निस्कासन नहुनु प्रमुख कारण रहेको प्रा.डा. गौतमको भनाइ छ । 

त्यस्तै, थाइराइड हर्मन कम/बढी भएर पनि यस्तो समस्या हुन्छ । त्यस्तै, विभिन्न इन्फेक्सनको कारण पाठेघरको नली बन्द भएर पनि बच्चा नहुने समस्या भइरहेको हुन्छ । 

पछिल्लो समय औषधि खाएर बच्चा फालेका महिलामा यस्तो समस्या बढी देखिरहेको प्रा.डा. गौतम बताउँछन् । ‘औषधि खाएर बच्चा फाल्दा धेरै दिनसम्म रगत बगिरहन्छ । जसले गर्दा नली बन्द हुन्छ, नली बन्द भएपछि बच्चा बस्दैन,’ उनले भने । 

त्यस्तै, पाठेघरभित्र हुने विभिन्न समस्याका कारण पनि बच्चा हुने सम्भावना कम हुन्छ । ‘पाठेघरभित्र ट्यूमर छ, वा अन्य केही इन्फेक्सन भएको छ भने त्यसले पनि बच्चा नहुने समस्या गर्छ,’ गौतमले भने ।  

बच्चा नहुने पुरुषका अन्य कारण  

महिलासँगै पुरुषका कारण पनि सन्तान नहुने समस्या हुनसक्छ । तर, समाजले पुरुषलाई दोषी देख्दैन । पुरुषको विर्य आयो भने सन्तान भइहाल्छ भन्ने हाम्रो मान्यता छ । तर, त्यसका लागि विर्यमा शुक्रकिटको मात्रा कति छ भन्ने कुरामा भर पर्छ । 

बच्चा नहुनुको मुख्य कारण भने महिलाको फुल (डिम्ब) नबन्नु र श्रीमानमा शुक्रकिट नहुनु हो । पुरुषमा शुक्रकिट बन्ने प्रक्रियामा समस्या हुनु, बनिसकेको विर्य बाहिर आउने बाटोमा समस्या हुनु पुरुषजन्य निःसन्तानका प्रमुख कारण हुन् । त्यस्तै, अधिक धूमपान वा मद्यपान गर्ने बानी, अण्डकोष वरिपरि कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको यौनाङ्ग उत्तेजना नहुनु जस्ता कारणले पुरुषबाट बच्चा नहुने समस्या हुने प्रा.डा. गौतमले बताए । 

निःसन्तानको समस्या समाधानका उपाय

महिलामा हुने निःसन्तान समस्या ३० प्रतिशत जतिमा सामान्य जाँच गराउँदा कारण देखिँदैन । त्यसका लागि हिस्टेरोस्कोपी गराउनुपर्छ । जसले गर्दा पाठेघरभित्रको सबै समस्या पत्ता लाग्छन् । 

तुलनात्मक रूपमा पुरुषमा हुने समस्या पत्ता लगाउन महिलाको तुलनामा सजिला हुन्छ । पुरुषको विर्यको जाँच गरेको खण्डमा मात्रै पुरुषमा हुने समस्या पत्ता लाग्न सक्छ । तर, महिलाको हकमा भने ल्याब परीक्षण गराएर मात्र पत्ता लगाउन सकिन्छ । 

महिलाको योनी तथा पाठेघरको जाँच गर्ने, नियमित महिनावारी भए/नभएको पत्ता लगाउने, पाठेघरको बनावटमा जन्मजात नै खराबी छ वा छैन त्यो चेक गर्ने, पाठेघरको मुख साँघुरिएको वा वरिपरिको वातावरण शुक्रकिटको सुहाउँदो छ/छैन चेक गरेको खण्डमा महिलाको समस्या पत्ता लगाउन सकिने प्रा.डा. गौतमले बताए । 

त्यस्तै, महिलामा हुने मधुमेह, थाइरोइड ग्रन्थीमा समस्या, रगतमा डिम्ब उत्पादन गर्ने, हर्मोनमा हुने गडबडी, तथा योनीमा हुने संक्रामक रोगका कारण बच्चा नहुने समस्या हुनसक्छ । त्यसको चेकअप गराएर समस्या पत्ता लाग्ने र समाधान गर्नुपर्ने उनको भनाइ छ ।

निःसन्तानको समस्या भएका महिला तथा पुरुषमा औषधि तथा शल्यक्रियाबाट उपचार गरिन्छ । त्यस्तै उनीहरूमा हुने मानसिक समस्याको मनोविदबाट परामर्श दिने, धूमपान तथा मध्यपान नगर्ने, मासिक चक्रको बारे जानकारी दिन सकियो भने पनि निःसन्तानको समस्या कम गर्न सकिने उनको भनाई छ । 

यस्तो उपायबाट पनि बच्चा भएन भने कृत्रिम गर्भाधान गराउन सकिने प्रा.डा. गौतम बताउँछन् । पुरुषको शुक्रकिट संख्याको आधारमा आइभीएफ (महिलाको डिम्ब वरिपरि शुक्रकिट राखिदिने), आईयूआई (अन्र्तगर्भाशय गर्भाधान) टेष्ट ट्यूब बेवी लगायतका कृत्रिम उपचार गराउन सकिने उनको भनाइ छ ।   

जहाँ समस्या हुन्छ, त्यहाँ समाधानको उपाय पनि हुन्छ । त्यसैले समस्यासँग डराएर बस्नुभन्दा समस्याको समाधान गर्नु नै सबैभन्दा उत्तम हुन्छ । वरिष्ठ स्त्री रोग विशेषेज्ञ डा. रिजाल अहिले नेपालमा पनि निःसन्तान समस्याको अत्याधुनिक प्रविधिको समाधान रहेको बताउँछन् । 

पुरुषका कारण हुने निःसन्तान समस्या समाधान गर्नका लागि पोषिलो खाना खाने, धूमपान र मद्यपान त्याग्ने, शारीरिक तौल नियन्त्रणमा राख्ने, यौनाङ्ग वरिपरि हुने बढी तापक्रम नियन्त्रणका लागि कसिलो कट्टु पनि लगाउन नहुने प्रा.डा. गौतमको भनाइ छ ।  

त्यस्तै, भिटामिन ई, सी तथा बी-१२, फोलिक एसिडयुक्त खानेकुरा खानाले पनि शुक्रकिट बन्न मदत गर्ने उनी बताउँछन् । पुरुषको शरीरमा रहेका हर्मोनको कारण पनि शुक्रकिट उत्पादनमा समस्या निम्त्याइरहेको हुनसक्छ, त्यतातिर पनि ख्लाल गर्नुपर्ने उनको सुझाव छ ।  

अहिले निःसन्तानसम्बन्धी प्रमुख समस्याको कारण वैदेशिक रोजगारी रहेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.रिजाल बताउँछन् । नेपालबाट हरेक वर्ष ५ लाखको हाराहारीमा युवा वैदेशिक रोजगारीको खोजीमा विभिन्न देश जाने गरेका छन् । 

२०२० को जुलाई देखि सन् २०२१ को जुलाइसम्म तीन लाख ३३ हजार भन्दा बढी युवा वैदेशिक रोजगारीको लागि विभिन्न देश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । ति मध्ये धेरैजसो युवा वैवाहिक बन्धनमा बाधिएपछि गएकाहरू छन् । 

उनीहरू विदेशबाट फर्किएर बच्चा जन्माउने योजनामा छन् । ति मध्ये धेरै युवा स्वदेश फर्किएपछि निःसन्तानको समस्याबाट ग्रसित हुने डा. रिजालको भनाइ छ । उनीहरूमा हुने निःसन्तान समस्याको समाधान भनेको वैदेशिक रोजगारीमा पठाउने काम बन्द गर्नु रहेको डा. रिजालले बताए । 

‘नेपालमा भएका उद्योग कलकारखाना सबै बन्द भए । त्यसबाट काम गर्ने युवाहरू विदेशिन बाध्य भए । लाखौं युवाहरूले स्वदेशमा काम पाएनन्,’ उनले भने, ‘स्वदेशमा रोजगारी नपाएपछि जीविकोपार्जनको लागि विदेश जाने र विदेशबाट फर्किदा बाझोपनको समस्या बोकेर आउन थाले ।’

विदेशी युवालाई स्वदेशमै रोजगारीको वातावरण नबनाउँदासम्म यो समस्या समाधान नहुने उनको भनाइ छ । त्यसका लागि राज्यले युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए । 

‘समस्या देखिएपछि उपचार गराउनु त छदैछ । त्यो समाधान होइन्, यसका लागि समस्या जड जे हो त्यसकै समाधान गर्नुपर्छ,’ उनले भने ।   
 

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १७:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया