सामाजिक सञ्जाल
सामाजिक सञ्जाल: ‘शासकका हातभन्दा, प्रिय यी गोडा’
तस्वीर: झमककाे फेसबुकबाट ।

काठमाडौं– आजबाट औपाचारीक रुपमा दसैं सकिएको छ । दसैंको रौनक सकिएपनि सामाजिक सञ्जालमा भने दसैंका तस्विरहरु अझै बग्रेल्ती भेटिन्छन् । प्रधानमन्त्री, राष्ट्रपतिले दसैंको टिका लगाइदिएका तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेकाछन् । 

यहीबीच एउटा अर्को तस्वीर पनि भाइरल भइरहेको छ । भाइरल भएको तस्वीर हो ‘जीवनः काँडा कि फूल’ किताबका लागि मदन पुरस्कार जितेकी साहित्यकार झमक घिमिरेले खुट्टाले टिका लगाइदिएको । उनले बहिनी मौसमी घिमिरेलाई टिका लगाइदिएको तस्वीर आफ्नै फेसबुकमा राखेकी छिन् । 

घिमिरे ‘सेरेब्रल पाल्सी’बाट पीडित छिन् । उनका हात चल्दैनन् । त्यसैले उनी सम्पूर्ण काम खुट्टाले नै गर्छिन् । 

झमक घिमिरेको यो तस्वीरमा धेरैले प्रेम तथा स्नेहले भरिएका सकारात्मक टिप्पणी गरेका छन् । धेरैले उनको तस्वीरलाई आफ्नो फेसबुक वालमा सेयर पनि गरेका छन् ।

केहीअघि सिएनएन हिरोको उपाधि जितेकी पुष्पा बस्नेतले झमकको तस्वीरमा टिप्पणी गर्दै लेखेकी छिन्, ‘नानी हामीलाई पनि यसरी नै लगाइ देउन बाबा ।’

पत्रकार तथा लेखक घनेन्द्र ओझाले उक्त तस्वीर आफ्नो फेसबुकमा राख्दै लेखेका छन्, ‘शासकका सफा हातका अक्षताभन्दा हजार गुणा सम्मानित र प्रिय छ यो गोडा ।’



त्यस्तै अघिवक्ता तथा लेखक स्वागत नेपालले घिमिरेको उक्त तस्विर आप्mनो फेसबुकमा राख्दै घिमिरेको खुट्टाको स्पर्शलाई संसारको चेत खुल्ने आर्शिवाद भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘जसको खुट्टाले संसारको चेत खुल्ने सिर्जना अभूतपूर्व रुपमा आर्शिवादका रुपमा प्रकट गरेको उसको खुट्टा आफ्नो शिरमा पर्नु राष्ट्रपतिको हात शिरमा पर्नुजस्तो विटुलो बन्नु होईन, साँच्चै धन्य बन्नु हो ।’

यस्तै लेखक अभय श्रेष्ठले झमकको उक्त तस्विरलाई प्रेमिल रुपमा लिएको टिप्पणी गरेका छन् ।



खुट्टाले दशैंको टिका लगाइदिएको तस्विरमा झमकको फरक क्षमता बारेमा धेरै सकरात्मक टिप्पणी गरिएका भएपनि केही व्यक्तिले भने उनको तस्वीर सांस्कृतिक मान्यताको विपरित रहेको पनि टिप्पणी गरेका छन् । त्यस्तै एउटा टिप्पणी छ राज मिलन बिन्दुको । बिन्दुले क्रान्तिकारी, प्रगतीवादी राष्ट्रिय लेखकले यसरी आर्शिवाद दिएको मन नपरेको टिप्पणी गरेका छन् । 

झमकले आफूले राखेको तस्वीर अएको एक टिप्पणीको उत्तर दिदैं ‘संस्कार र संस्कृतिलाई खुल्ला चुनौती दिएको समेत बताएकी छिन् । उक्त टिप्पणीमा उनले फरक क्षमताका मान्छेले रमाउनै हुँदैन भन्ने मान्यताविरुद्द पनि यो तस्वीरलाई लिनुपर्ने सुझाएकी छिन् ।

तस्वीरमा आएका प्रतिक्रियाको जवाफ दिँदै झमकले लेखेकी छिन्, ‘यो समयले एकातिर यिनै पाउहरुबाट परिवर्तन र विचारका सिर्जना माग्दै छ भने अर्कातिर मेरा प्रियजनहरु मसँग टिका र आर्शिवाद माग्दा संवेदनशीलतामाथि प्रहार गर्ने सवाल गर्छ ।’ 

झमकले ‘शुभ विजया दशमी २०७५’ लेखेर मंगलबार फेसबुकमा तस्वीर पोष्ट गरेकी हुन । घिमिरेले आफुले टिका लगाउनुपर्ने सबैलाई खुट्टाले नै टिका लगाउने गर्छिन ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७५ बुधबार १२:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया