दसैँ-तिहारमा के छ राजधानी प्रहरीको सुरक्षा योजना ?

नजिकिदै गरेको दसैँ-तिहार जस्ता चाडपर्वलाई मध्यनजर गरेर राजधानी प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको छ । चाडपर्वमा हुन सक्ने चोरी, लुटपाटलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा रणनीतिको बनाइएको हो । जसका लागि उपत्यकामा झण्डै ३२ सयको हाराहारीमा प्रहरी राजधानीमा मात्रै परिचालन गर्ने तयारी छ ।

महानगरीय प्रहरी परिसरले दसैँमा पैसा र सामान बढी बोकेर लैजाने गरेका कारण यो समयमा आपराधिक घटना बढ्ने सम्भावना भएकाले ठूलो संख्यामा सुरक्षाकर्मी पहिचान गर्ने तयारी गरिएको हो ।

सुरक्षा चुनाैती

प्रहरी परिसरले दसैँमा हुनसक्ने १३ किसिमका अपराधलाई सुरक्षा थ्रेटको पहिचान गरेको छ । अघिल्लो दसैँमा भएका अपराधको विश्लेषण गर्दै यो वर्ष पनि हुनसक्ने १३ किसिमका अपराधलाई चुनौतीको रूपमा लिएको छ । 

प्रहरीले पाकेटमारी, चोरी, पेय पदार्थमा नसालु पदार्थ मिसाइ खुवाउने, डकैटी/लुटपाट, अपहरण/धम्की, बलात्कार, मानव बेचबिखन, हत्या, जुवा, लंगुरबुर्जा र तीनगोटी खेलाउने, मारपीट र समूहबीच भीडन्त/मादक पदार्थको सेवन बढी, गरगहना लुटपाट र वैदेशिक मुद्रा सटही ठगीलाई सुरक्षा थ्रेटको रूपमा लिएको छ । 

अपराध नियन्त्रणका १९ सूची 



शान्त र सभ्य दसैँ-तिहारलाई बनाउनको लागि प्रहरीले नियन्त्रण गर्नुपर्ने १९ वटा सूची तयार पारेको छ । प्रहरीले ती सूचीमा राखेको छ- गुण्डागर्दी, कालोबजारी, चोरी, लुटपाट, डकैटी, विष्फोटक पदार्थको प्रयोग, अवैध मदिराको उत्पादन, बेचविखन, ओसारपसार र अस्वाभाविक सेवन, लागूऔषध जन्य अपराध, रेष्टुरेण्ट, होटल र गेष्ट हाउस को समय पालना, वेश्यागमन र अन्य असामाजिक क्रियाकलाप, अन्य सबै किसिमका अपराध, घरेलु मदिरा, जुवा, लंगुर बुर्जा, तीन गोटी, उपहार र चिठठ र ढुकुटी जस्ता गतिविधि छन् ।  

यी अवाञ्छनीय गतिविधि, चोरी, हत्या र सवारी दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले बताए ।  
‘कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तबरले सबैले चाडपर्व मनाउन सक्छन् भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं,’ महानगरीय प्रहरी कार्यालय प्रमुख अशोक सिंहले भने, ‘राजधानीका सबै ठाउँ भित्री बाटोमा समेत प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाउने छौं ।’



प्रहरीले कहाँ-कहाँ दिँदैछ सुरक्षा?

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनुको साथै केही स्थान सुरक्षा दिनुपर्ने औल्याएको छ । प्रहरीले पूजापाठ स्थलसँगै पूजापाठ लाग्ने स्थानसहित सरकार कार्यालय र बैंकहरूलाई पनि सुरक्षा दिने प्रबन्ध मिलाएको छ । साथै, अन्य शपिङ मल, सुनचाँदी पसलसहित व्यवसायको पनि सुरक्षा दिने तयारी गरेको छ । 

प्रहरीले पूजापाठ गर्ने स्थलमा, मन्दिर, गुम्बा, पाण्डाल र यज्ञ र होम गर्ने स्थानको पनि सुरक्षा दिने तयारी गरेको छ । यसको साथै पूजापाठ लाग्ने पशुपतिनाथ, नक्साल भगवती, मैतीदेवी, गुहेश्रवरी, भद्रकाली, महाँकाल, र दक्षिणकालीमा भरपुर सुरक्षा दिने खाँका तयार गरेको छ । 

महानगरीय प्रहरी परिसरले यी धार्मिक स्थलमा कसरी काम गर्ने भनेर खाँका पनि तयार गरिसकेको छ । जसका लागि प्रहरीले बनाएको ती सूचीमा राखेको छ– लाइनको व्यवस्था मिलाउने, हेल्पडेस्कको स्थापना गर्ने, कुनै पनि आपराधिक घटना हुन नदिने, महिला, वृद्ध र अपाङहरूलाई सहायता पुर्‍याउने, भिआइपीहरूको दर्शन र पूजाको व्यवस्था मिलाउने लफंगाहरूमा निगरानी गर्ने । 

कसरी हुँदैछ प्रहरी परिचालन ?

राजधानीलाई यो वर्षको चाडपर्व अपराधरहित बनाउनको लागि प्रहरीले १४ क्षेत्रमा कार्य विभाजन गरेर जनशक्ति खटाउने तयारी गरेको छ । प्रहरीले अपराध रोकथामका लागि मोबाइल गस्ती, साइकल, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, क्यूआरटी मोटरसाइकल गस्ती, कर्डन एण्ड सर्च, एम्बुस रातमा परिचालन हुने, पिकेटसहितका अन्य टोली पनि खटाउने तयारी गरेको छ । 

यो सबै टोलीलाई सूचना संकलन र त्यसको विश्लेषण गरेर हुन सक्ने अपराधलाई जिम्मेवारी पनि दिइएको प्रहरी बताउँछ । त्यही बमोजिम सुरक्षा व्यवस्था मिलाउँदै महवत्पूर्ण स्थानमा विशेष निगरानी पनि प्रहरीले बढाइसकेको छ  

प्रहरीले दसैँ-तिहारलाई थप शान्तिमय बनाउनमा सहयोग गर्न आमसमुदायलाई पनि आग्रह गरेको छ । आम समुदायसँग प्रहरीले रातिमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद गतिविधि गरेमा तत्कालै खबर गर्न अपिल गरेको छ । 

साथै जुवातास, ढुकुटी खेलाउनेको बारेमा प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ । प्रहरीलाई आशा छ- आम समुदायबाट यदि तत्कालै सूचना आए हुनसक्ने अपराध समय रोकिन सकिन्छ । प्रहरीले आपराधिक गतिविधिबारे जानकारी दिनका लागि पैसा नलाग्ने प्रहरी कन्ट्रोलको नम्बर १०० र १०३ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको छ । 

प्रहरीले रातको समयमा कोही अपरिचितले ढोका ढक्कढकाएमा नखोल्न पनि आग्रह गरेको छ । साथै, प्रहरीले आफ्नो टोलमा बत्तीको पनि व्यवस्था मिलाउन पनि अपिल गरेको छ । आफ्नो टोलमा आपतकालिन साइरन राख्न पनि प्रहरीले आग्रह गरेको छ । 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १२:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया