‘हेल्लो ! डाक्टर मैले भेरोसेल खोप लगाएँ, अब मलाई अस्ट्रेलिया जानु छ, कुन खोप लगाऊँ ?’ टेकु अस्पतालका डा. शेरबहादुर पुनलाई टेलिफोनमार्फत यो र यस्तै प्रश्न नियमित आउने गरेका छन् ।
यसरी दिनहुँ सोधिने यो प्रश्नको जवाफ डा. पुनसँग छैन । किनकि यसबारे अहिलेसम्म कुनै अध्ययनसमेत भएको छैन । तर, खोप उत्पादक देशहरूले आफ्नो देशमा उत्पादन भएकाबाहेकका खोपलाई मान्यता दिएका छैनन् ।
डा. पुनसँग यो प्रश्न मात्र आउँदैन, युरोप जानुपर्ने भएकाले जसरी भए पनि अर्को खोप कार्ड बनाइदिन अनुरोध गर्दै उत्तिकै फोन आउने गर्छन् । तर, उनीहरूलाई के जवाफ दिने र के रिफर गर्ने भन्ने ठ्याक्कै जवाफ डा. पुनसँग हुँदैन ।
‘मलाई बारम्बार सोधिने प्रश्न यही हो । जसको जवाफ मसँग छैन् । मेरो मनको लागेको कुरा गरौँ भने भोलि त्यसले कुनै असर गर्यो भने त्यसको जवाफ कसले दिने ?’ उनले भने, ‘त्यही भएर अहिलेसम्म पनि भेरोसेल लगाएकाले जोनसन एन्ड जोनसन खोप लगाउनुहोस् भनेर भन्ने आधार मसँग छैन ।’
यसरी दिनहुँ गरिने प्रश्न तथा आउने जिज्ञासाबाट उनी आजित भइसकेका छन् । यो विषयमा न राज्यको ध्यान जान सकेको छ न त सरोकारवाला निकायले समस्या समाधानको उपायको खोजी नै थालेका छन् ।
अमेरिका, अस्ट्रेलिया, बेलायत तथा युरोपियन युनियनमा आबद्ध देशहरूले सबै खोपलाई मान्यता दिएका छैनन् । विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोग अनुमति दिएका खोपमा ती देशले सिन्डिकेट लगाइरहेका छन् ।
आफ्नो देशमा बनेको खोप लगाएकालाई मात्र भिसा दिने भएपछि यसको मारमा विश्व नै परिरहेको छ । धनी तथा शक्ति राष्ट्रहरूको यस्तोखाले खोप राजनीतिको मारमा गरिब तथा अर्को देशबाट खोप किनेर लगाउने नेपाललगायत राष्ट्र परेका छन् ।
नेपालमा हाल कोभिसिल्ड, भेरोसेल, जोनसेन एन्ड जोनसन र अस्ट्राजेनिका खोप प्रयोग भइरहेको छ । त्यस्तै, औषधि व्यवस्था विभागले फाइजर, मोर्डेना, कोभ्याक्सिन, कोरोना भ्याक खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
विश्व स्वास्थ्य संगठनले भने अहिलेसम्म २४ वटा कम्पनीले निर्माण गरेका खोपलाई मात्र आपत्कालीन प्रयोगको अनुमति दिएको छ । तीमध्ये नेपालमा चारवटा खोप मात्र प्रयोगमा छन् । त्यस्तै, बालबालिका तथा गर्भवती महिलाका लागि भन्दै मोर्डेना र फाइजर खोप ल्याउने प्रक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लागेको छ ।
नेपालमा अहिलेसम्म २७ लाख २६८ जनाले कोभिसिल्ड र अस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका छन् भने १५ लाख ९ हजार २४३ जनाले दुवै डोज लगाइसकेका छन् ।
त्यस्तै, ४० लाख ९३ हजार १८८ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन् भने ३१ लाख ७० हजार ७३२ जनाले दुवै मात्रा लगाएका छन् । त्यस्तै, १४ लाख ८५ हजार ७७ जनाले जोनसेन एन्ड जोनसनको पूर्ण मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
चीनले आफ्नो देशमा बनेको खोप भेरोसेल लगाएकालाई मात्र भिसा दिने नीति बनाएको छ । जसका कारण चीन जान भेरोसेल लगाउनुपर्ने बाध्यता छ ।
त्यस्तै, जापानले ३ वटा खोपलाई मात्र मान्यता दिएको विदेश मन्त्रालयले जनाएको छ । जापानको विदेश मन्त्रालयका अनुसार फाइजर कम्पनीले उत्पादन गरेको कोर्मिनर्टी, अस्ट्राजेनिका र मोडेर्ना खोपलाई मात्र मान्यता दिइएको छ । तर, नेपालमा भने कोभिसिल्ड, अस्ट्राजेनिका (जापानले नै दिएको खोप), भेरोसेल र जोनसन एन्ड जोनसन खोप मात्र लगाइएको छ ।
जापानको विदेश मन्त्रालयले भ्याक्सिन पासपोर्टका लागि स्वीकार गर्ने देश र मान्यता दिने खोपको नामावली सार्वजनिक गरेको छ । जापानले ३६ देशबाट आउने नागरिकलाई भ्याक्सिन पासपोर्ट दिने भएको छ । जसमा नेपाल परेको छैन । जापान सरकारले गत जुलाई २६ मै भ्याक्सिन पासपोर्ट जारी गरेको थियो । यस्तो अवस्थामा अब भेरोसेल वा कोभिसिल्ड लगाएका व्यक्ति नेपालबाट जापान जान पाउने छैनन् ।
अस्ट्रेलियाले पनि आफूले मान्यता दिएका चारवटा फाइजर, जोनसन एन्ड जोनसन, अस्ट्राजेनिका र मोर्डेना कम्पनीको खोप लगाएकालाई मात्र भिसा दिने भएको छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन् । तर, धेरै नेपालीले भेरोसेल खोप लगाएका छन् । जसले गर्दा नेपालीका लागि अस्ट्रेलिया जान आफूले लगाएको खोप बाधक बन्ने देखिएको छ । अस्ट्रेलियाले विगत १८ महिनादेखि विदेशीलाई आउन रोक लगाएको छ । अस्ट्रेलियाले चाँडै खोल्ने तयारी गरेको भए पनि नेपालीलाई खोप नै बाधक बन्ने देखिएको हो ।
यस्तो समस्या देखिने गरेपछि भेरोसेल लगाएका धेरैले डाक्टर पुनलगायत धेरै विज्ञहरूलाई अरु खोप लगाउन मिल्छ वा मिल्दैन ? भनेर प्रश्न गर्न थालेका हुन् ।
त्यस्तै क्याडनाले पनि भेरोसेल खोपलाई अहिलेसम्म मान्यता दिएको छैन । युरोपियन युनियनमा आबद्ध देशहरूले समेत आफूले मान्यता दिएको खोप लगाएकालाई मात्र युरोप भित्र्याउने निर्णय यसअघि नै गरिसकेका थिए । उनीहरूले चीन र रूसमा उत्पादित खोपलाई मान्यता दिएका छैनन् ।
चीनमा निर्मित सिनोभ्याक खोप ३२ देशमा प्रयोग भइरहेको छ भने भेरोसेल खोप ६१ देशमा प्रयोग भइरहेको छ । त्यस्तै, चीनले भारतको कोभिसिल्ड र अमेरिकाको जोनसन एन्ड जोनसन खोपलाई मान्यता दिएको छैन ।
अमेरिका, बेलायत, अस्ट्रेलिया तथा युरोपियन युनियनमा आबद्ध देशहरूले चिनियाँ खोप भेरोसेल र सिनोभ्याक्सलाई मान्यता दिएका छैनन् ।
यसरी धनी तथा शक्ति देशहरूको ‘खोप राजनीति’को मारमा विश्वका अधिकांश देश परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस्तो नगर्न सबैलाई अनुरोध गर्दै आएको छ । तर, धनी देशहरूबीचको खोप राजनीति थप जटिल बन्दै गएको छ ।
सरकार भन्छ– खोपमा कुनै समस्या छैन, पीडित भन्छन्– निकै गाह्रो भयो
यसरी धनी देशको खोप राजनीतिले विदेश जाने नागरिक मर्कामा परिरहेका छन् । अधिकांश खाडी मुलुकले विश्व स्वास्थ्य संगठनले मान्यता दिएका प्रायः खोपलाई मान्यता दिइरहेका छन् । जसले गर्दा खाडी मुलुक जानेहरूलाई खासै समस्या छैन । तर, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, चीनलगायत देश जानेलाई खोप राजनीतिले समस्या पारेको छ ।
अहिले नेपालबाट १० हजारभन्दा बढी विद्यार्थी जापान र अस्ट्रेलिया जाने तयारीमा छन् । तीमध्ये ६ हजार विद्यार्थी जापान र ४ हजार अस्ट्रेलिया जानका लागि तयारीमा बसेका छन् । उनीहरूमध्ये अधिकांशले जापानले उपलब्ध गराएको अस्ट्राजेनिका खोप लगाएका छन् भने अस्ट्रेलिया जाने तयारीमा रहेका केही विद्यार्थीले भेरोसेल खोप पनि लगाएका छन् । अब उनीहरूले कसरी अस्ट्रेलिया जाने ?
यसरी फरक कम्पनीको खोप लगाएपछि उनीहरूको माग छ– या अर्को कम्पनीको खोप कार्ड बनाइदिनुपर्छ । या त अर्को कम्पनीको खोप लगाउन पाउनुपर्छ ।
यो विषय सरकारी निकाय भने मौन देखिएको छ । वैदेशिक रोजगार विभाग यस्तो खालको समस्या आफूकहाँ नआएको बताउँछ । विभागका निर्देशक कमल ज्ञवालीले कुनै पनि देशले आफूलाई खोपबारे औपचारिक जानकारी नगराएको बताए ।
‘विश्व स्वास्थ्य संगठनले मान्यता दिएका सबै खोप विश्वभर नै लगाइरहेका छन् । हामीले पनि त्यहीअनुसार नै हो लगाइरहेको । यसमा कुनै देशले यो खोपबाहेकको खोपलाई मान्यता दिदैनौँ भनेको कुरा सरकारको जानकारीमा छैन,’ उनले भने ।
विशेषज्ञ डाक्टरको थरी–थरीको धारणा
धनी देशको खोप राजनीतिको चपेटामा परेपछि यसको समाधान के त ? विज्ञहरूले नै फरक–फरक धारणा दिन थालेका छन् । यदि भेरोसेल खोप लगाएकाले जोनसन एनड जोनसन वा कोभिसिल्ड वा अस्ट्राजेनिका खोप लगाउन मिल्छ वा मिल्दैन ? विशेषज्ञ डाक्टरहरूको मत नै बाझिने गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला एक खोप लगाएकोले अर्को कम्पनीको खोप लगाउँदा केही फरक नपर्ने बताउँछन् । ‘भेरोसेल लगाउनुभएको छ, अब युरोपतिर जानुपर्यो भने अर्को खोप लगाउँँदा हुन्छ,’ डा. बास्तोलाले भने ।
तर, त्यही अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन त्यसरी फरक–फरक कम्पनीको खोप लगाउन नहुने सुझाब दिन्छन् ।
यो विषयमा अहिलेसम्म कुनै खालको अनुसन्धान नभएको भन्दै त्यसरी फरक कम्पनीको खोप लगाउन सुझाब आफूले दिन नसक्ने डा. पुनको भनाइ छ । अन्य विज्ञहरूले समेत फरक–फरक कम्पनीको खोप लगाउँदा केही फरक नपर्ने सुझाब दिइरहेका छन् । तर, डा. पुनले त्यसरी खोप लगाउँदा पर्नसक्ने जोखिमबारे कसले जिम्मा लिने भन्दै आफू यो विषयमा तत्काल के सुझाब दिने भन्नेमा टुंगोमा पुग्न नसकेको बताए ।
सबै खोपको फर्मुला नै फरक भएकाले फरक–फरक डोज खोप लगाएमा के फरक गर्छ भन्ने विषयमा अहिलेसम्म कहीँ कतै पनि अनुसन्धान भइसकेको छैन । यो विषयमा नेपाल गम्भीर बनेर तत्काल अध्ययन गर्नुपर्ने डा. पुनको भनाइ छ ।
‘सामान्यतयाः फरक–फरक कम्पनीको खोप लगाउँदा केही फरक त पर्दैन । तर, यो विषय नयाँ भएकाले यदि भविष्यमा केही समस्या आइहाल्यो भने के गर्ने ?’ डा. पुनको प्रश्न छ ।
टेकु अस्पतालका निर्देशक डा. बाँस्तोलाले भने सबै खोपको उद्देश्य कोभिड–१९ भाइरसलाई नै मार्ने भएकाले यसमा धेरै ठूलो समस्या नदेखिने बताए ।
‘एउटा खोपको पूर्ण मात्रा लगाएकाले अर्को खोप लगाउँदा पनि केही फरक पर्दैन । दुवै खोपको काम एउटै हो । त्यसले पनि जे काम गर्नुपर्ने हो त्यही काम गर्छ,’ निर्देशक डा. बाँस्तोलाले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।