मिटू अभियान
‘मिटू’ अभियानबारे रञ्जु दर्शना

विस्तारै हाम्रो समाजमा पनि यौन दुव्र्यवहारबारे खुलेर कुरा हुन थालेको छ, यसबारे बहसहरु हुन थालेका छन् । यही क्रममा मिटू अभियानले अहिले नेपालमा पनि प्रवेश पाएको छ । एकजना व्यक्तिले मात्र होइन, एउटा समूह र एउटा समाजले सुरु गरेको मान्न सकिने यो अभियान विश्वभर सटिक र प्रभावशाली अभियान भएको छ ।

मिडियाहरुले पनि यो अभियानलाई साथ दिएका छन्, न्यु मिडियामा अभियानमा चाहे सेलेब्रिटी हुन् या सामान्य मानिस सबै सहभागि भएका छन्, सबैले यसलाई समर्थन गर्न थालेका छन् । कलाकारदेखि संसदसम्मले यसको कुरा उठाउन थालेकाले यो अभियानको प्रभाव बढेको छ, नेपालमा पनि यसले झन् व्यापकता पाउनेमा सन्देह गर्नु पर्ने छैन ।

हाम्रो समाजमा त झन् यसबारे अझ खुलेर कुरा हुनु पर्छ । किनकि पुरुषप्रधान भएकाले नै हाम्रो समाजमा महिलामाथि धेरै नै अन्याय भएका छन्, वर्षौअघिदेखि महिलाहरु पीडामा गुम्सिएर बाँच्नु पर्ने अवस्था छ ।

हामी अहिले त्यस्तो समाजमा बस्छौँ जहाँ परिवारसँगै बसिरहँदा सन्चारमाध्यममा कन्डमको विज्ञापन आयो भने हामी रेडियो बन्द गर्छौँ, टिभीको च्यानल परिवर्तन गर्छौँ । यस्ता जीवन उपयोगी विज्ञापनलाई पनि सहज रुपमा लिन नसकिसकेको हाम्रो समाजमा यौन दुव्र्यवहारबारे कुरा गर्न ठूलो साहस चाहिन्छ । किनकि आफूमाथि नै भएको दुव्र्यवहारबारे बोल्दा पनि आफ्नै इज्जत जाला, समाजले आफूलाई नै बहिष्कार गर्ला भन्ने डरले हामी बसिरहेका छौँ । आफूमाथि भएको अन्यायले झन् अर्को अन्यायमा परिएला भनेर नेपाली महिला यो विषयमा बोल्न सकेका छैनन् ।

यस्तो अवस्थामा मिटू अभियान अत्यन्त प्रभावकारी हुनसक्छ । किनकि यो एकजना व्यक्तिमा मात्र सिमित भएको अभियान होइन । यो त कलेक्टिभ रुपमा हुनसक्ने अभियानको रुपमा विकास भएको छ । यौन दुव्र्यवहार वा आफूमाथि भएको अन्यायबारे बोल्नु पर्ने रहेछ भनेर यसले महिलाहरुलाई एकत्रित गर्ने सामथ्र्य राख्छ । यसले गर्दा यो अभियानले सार्थकता पाउँदा समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ । यतिमात्र होइन, यो अभियान किन पनि महत्वपूर्ण छ भने यसले विश्वभर रहेका महिलालाई एउटा सञ्जालमा ल्याएर जोडिदिएको छ । अब यो अभियानमा समर्थन गर्ने सबै महिलाहरुको एउटै स्वर हुनेछ, विश्वभर अन्यायविरुद्ध उठेको आवाज चर्को हुनेछ र त्यो सुन्न बाध्य पारिनेछ । 

त्यसैले पनि मिटू अभियान सबैका लागि हो, सबैले सोच्नु पर्ने अभियान हो ।



तर, यसबारे पनि केही नकारात्मक टिकाटिप्पणी गरिएको सामाजिक सन्जालमा पढ्न पाइन्छ । अचम्म त यति सकारात्मक अभियानलाई पनि मानिसहरु नकारात्मक मानेर टिप्पणी गरिरहेका छन् । कस्तो विडम्बना ! हिजोका गलत कामहरुलाई आज बाहिर ल्याउनुलाई विरोध भइरहेको छ । के यसको अर्थ हाम्रो समाज गलत कामलाई प्रोत्साहन गर्छ भन्ने हो ? होइन भने दुव्र्यवहारविरुद्ध भइरहेको यो एकतामा किन नकारात्मक आवाज सुनिन्छ ?

कतिपयले तर्क गरेका छन्– प्रतिशोधको भावनाले अरूलाई झुटो आरोप लगाएर फसाउन खोजिँदै छ । बुझ्नु पर्ने कुरा के हो भने आफ्नो पद तथा प्रतिष्ठा, इज्जत तथा चरित्रलाई दाउमा राखेर कसैले पनि अरुमाथि आरोप लगाउन सक्दैन । किनकि मिटू अभियानमा उल्लेख गरेका कुरा भोलि गलत सावित भए भने आरोप लगाउनेमाथि शङ्का झन् धेरै गरिनेछ । त्यसैले यो अभियान त साहसको प्रतीक हो, साहसको विम्ब हो र गलत कामविरुद्ध एक स्वर हो । 



फेरि हामीले यो अभियान महिलाको मात्र हो भन्ने बुझिरहेका छौँ । यो बुझाइमा परिवर्तन ल्याउनु जरुरी छ । महिलाहरुले आफूविरुद्ध भएको दुव्र्यवहारलाई बाहिर ल्याएर न्यायको कुरा गर्न सुरु गरेको यो अभियान महिलाको मात्र होइन, पुरुषको पनि हो । किनकि यौन दुव्र्यवहार महिलामाथि मात्र हुँदैन, पुरुषमाथि हुने सम्भावना पनि हुन्छ । मिटू अभियानलाई अझ व्यापक रुपमा दुव्र्यवहारविरुद्धको अभियानका रुपमा बुझ्न जरुरी छ ।

हो, हाम्रो सन्दर्भमा महिलाहरु बढी पीडित छन् । तर, यो एउटा त्यस्तो व्यक्तिका लागि हो जसमाथि दुव्र्यवहार भएको छ । यो अभियानमा पुरुषहरु पनि सहभागि हुनुपर्छ, आफ्नो लागि र महिलाको लागि पनि ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार ८:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया