प्रदीप पौडेलले आगामी साता महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी साता महामन्त्री पदको उम्मेदवारी घोषणा गर्ने भएका छन् । कांग्रेसको तेस्रो धार भनेर चिनिने कृष्ण सिटौला समूहबाट पौडेलले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । 

आफूले उम्मेदवारी घोषणा ढिला गर्नुको कारणबारे पौडेलले फरकधारसँग भने, ‘पार्टीले मलाई क्रियाशील सदस्यता विवाद समितिको सदस्य र प्रवक्ताको जिम्मेवारी दिएको थियो । क्रियाशील छानबिनलाई निष्कर्षमा नपुर्याई उम्मेदवारी घोषणा गर्दा त्यसले राम्रो सन्देश नदिन सक्थ्यो, त्यसैले यसमा केही ढिला हुन गएको हो ।’

नेपाल विद्यार्थी संघका विभिन्न तह र तप्कामा काम गर्दै नेविसंघको केन्द्रीय समितिको निर्वाचित अध्यक्ष र अहिले कांग्रेसकाे निर्वाचित केन्द्रीय सदस्य रहेका पौडेल युवापुस्तामाझ लोकप्रिय छन् । युवापुस्ता मात्रै नभएर माथिल्लो पुस्ताले पनि आफ्नो योगदानको मूल्यांकन गर्नेमा पौडेल विश्वस्त देखिन्छन् । 

एकातिर महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता, अर्कोतिर फुकाउने असजिलो हुने गरी गाँठो परेको क्रियाशील विवादका कारण कांग्रेस पार्टीको वैधानिकतामाथि नै संकट आउनै लागेको अवस्थामा पौडेललगायत क्रियाशील छानबिन समितिका सदस्यहरुको मिहिनेत र प्रयासपछि मात्रै विवादको गाँठो फुकेको थियो । अधिकांश जिल्लाको विषयमा छानबिन समितिले विवादको टुंगो लगाएको थियो ।   

तर, अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाहरुको हकमा भने विवाद पूर्ण रुपमा मिलिसकेको थिएन । पार्टीको शीर्ष नेतृत्वबीच सहमति नभई विवाद टुंगिन गाह्रो हुने भएकाले समितिले सोहीबमोजिम ​पार्टीकाे शीर्ष तहलाई प्रतिवेदन बुझाएको थियो । 

सोही प्रतिवेदनका आधारमा कांग्रेसले विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा विवाद समाधान समिति बनायो । सो समितिले लगभग सबै जिल्लाको विवाद समाधान गरेर पार्टीलाई बुझाइसकेको छ । 



संयोग कस्तो रह्यो भने सुरुमा क्रियाशील छानबिन समितिमा बसेर महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पौडेल र विवाद समाधानको संयोजन गरेका सिटौला एउटै समूहमा छन् । त्यसैले पार्टीलाई अत्यन्तै अप्ठ्यारो परेका वेला पनि तटस्थ भूमिकामा रहेर काम गर्ने क्षमता आफ्नो समूहसँग रहेको पौडेलको दाबी छ । 



  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार २१:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया