खेलकुदकाे विकासका लागि भन्दै फिफाको प्रतिबन्धमा रहेका थापालाई हेटौँडा उपमहानगरले दियाे २५ लाख
हाकिम भन्छन्– प्रतिबन्धबारे थाहा छैन

हेटौंडा उपमहानगरपालिकाले फुटबल विकासको लागि भन्दै फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग सम्झौता गरेको छ । उपमहानगरले फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाएका गणेश थापासँग २५ लाख रुपैयाँको सम्झौता गरेको  हो ।

थापामाथि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा पदको दुरुपयोग गरेको तथा आर्थिक अनियमितताको गरेको आरोपमा दोषी ठहर्याउँदै फिफाले उनीमाथि प्रतिबन्ध लगाएको छ । 

उपमहानगरले गणेश थापासम्बद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको हो । हेटौँडा उपमहानगरपालिकाले नगरसभाबाट चालू आर्थिक वर्षको बजेट पारित गर्ने क्रममै गणेश थापासम्बद्ध संस्थासँग साझेदारी गर्ने निणर्य गरेको हो । 

विश्व फुटबलको सर्वोच्च संस्थाले नै प्रतिबन्ध लगाएको व्यक्तिसँग सम्झौता भएको विषयमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले थापामाथिको प्रतिबन्धबारे आफूलाई थाहा नै नभएको प्रतिक्रिया दिएका छन्  । 

हच्किए मेयर, हाकिमले खोलिदिए बाटो 

यसअघि नै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार सम्मेलन गरेरै गणेश थापासँगको साझेदारीमा हेटौँडामा फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा जानकारी गराउने तयारी गरेका थिए । फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नहुने भन्दै आलोचना हुने देखिएपछि मेयर महतले सम्झौताको कार्यक्रम स्थागित गरेका थिए । 



तर, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले रकम दिएर गणेश थापालाई बाटो खोलिदिएका छन् । मंगलबार भएको सम्झौताको विषय पनि गणेश थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।

थापाले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवाद ज्ञापन गर्दै सम्झौताबारे जानकारी गराएका छन्  । सम्झौताको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने पनि थापाले उल्लेख  गरेका छन् । फिफाले ०७२ साल कात्तिक ३० गतेका दिन गणेश थापालाई १० वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।



उपमहानगरको निर्णय आपत्तिजनक : फुटबल संघ

विश्व फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाएका थापासँग २५ लाख रुपैयाँ दिने भनी गरिएको सम्झौताको विषययमा अखिल नेपाल फुटबल संघ (एन्फा) मकवानपुरका अध्यक्ष टीका लामाले आपत्ति प्रकट गरेका छन् । 

उनले भ्रष्ट्राचारको ट्याग लागेको व्यक्तिले सञ्चालन गरेको संस्थालाई रकम दिन नहुने धारणा व्यक्त गरे । ‘हेटौँडा उपमहानगरपालिकाले भ्रष्ट्रचारीको ट्याग लागेको मान्छेलाई पैसा दिनु आफैँमा लज्जास्पद विषय हो । फिफाले फुबटल हेर्न पनि नपाउने भनेर कारबाही गरेको मान्छेले चलाएको संस्थालाई  उपमहानगरले कसरी रकम दिन सकेको हो ? हामी आफैँ चकित छौं,’ उनले भने । 

लामाले २२ वर्ष एन्फा, एफसी र  फिफामा रहेर काम गर्दा मकवानपुरको फुटबलको विकासमा केही कदम चाल्न नसकको भन्दै प्रतिबन्धमा रहेको अवस्थामा फुटबल तथा खेलकुदको कुनै पनि संघ संठगनसँग समन्वय नगरी पैसा दिनुले भ्रष्ट्राचारमा मलजल गरेको जस्तो देखिने बताए ।

 

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १९:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया