तराई राजधानी अस्पतालमा चिकित्सकको लापरबाहीले नवजात शिशुको मृत्यु भएको आरोप

जनकपुरधामको रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा एक नवजात शिशुको जन्म भएको तेस्रो दिनमै मृत्यु भएको छ ।  चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको पीडित परिवारको दाबी छ ।

सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको साहको भनाइ छ ।
  
शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए । ‘तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले भने । 

अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रेफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताए । 

‘डा. यादवलाई मंगलबारदेखि नै शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ अजयले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं ।’


 
सामान्यतया बच्चा जन्मिने समय ३८ हप्तापछि रहे पनि डा. सहनीले ३४ हप्ता ५ दिनमै गर्भबाट शिशुलाई निकालेका कारण बाँच्न नसकेको उनले जिकिर गरेका छन् । 

अस्पतालले शिशु र आमा दुवैलाई बचाउनु छ भने तुरुन्त बच्चा निकाल्नुपर्छ भन्दै अप्रेसन गर्नुपर्ने सुझाब दिएको थियो । हतास हुँदै आफूले सहमति जनाएको तर सोमबार दिउँसो साढे १२ बजे शिशुको जन्म अप्रेसनबाट नभई नर्मल भएको उनले बताए । 
 
चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा हजारौं रुपैयाँ खर्च गराएर ‘आफ्नो सन्तानलाई मारेको’ अजयको दाबी छ । 
  
अजयका ससुरा रामभगत साहले आक्रोशित हुँदै भने,‘तराई राजधानी अस्पतालले एक त शिशुको ज्यान लियो, त्यसपछि नर्मल डेलिभरीको बिल ७५ हजार रुपैयाँ थमायो । के यो देशमा कुनै कानुन छैन ?’



पैसा कमाउने उद्देश्यले सोझासाझा बिरामीलाई प्रभावमा पारी समयअगावै डेलिभरी गर्नु गलत रहेको भन्दै उनले आगामी दिनमा अन्य व्यक्तिसँग पनि यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायले यसको छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ । 

घटना सम्बन्धमा अस्पतालका सञ्चालक समेत रहेका डाक्टर गंगाप्रसाद यादवले भने,‘सरिताको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’
 
पिडित परिवारले न्यायका लागि अदालतमा मुद्दा दिने चेतावनी दिएपछि अस्पतालले ‘डेलिभरी चार्ज’ रकम छुट गरेको छ । 



यसअघि सोही अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो ।

अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।

जनकपुरधामको रामानन्दचोकमा रहेको तराई राजधानी अस्पताल कानुनी रुपमा अझै दर्ता भइसकेको छैन । फरकभारसँगको कुराकानीमा अस्पतालका सञ्चालक डा. यादवले भने, ‘हामी दर्ता प्रक्रियामा छौँ, अब छिट्टै दर्ता गर्छौं ।

  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार २०:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया