महिला क्रिकेट टिमको प्रशिक्षण सम्पन्न, टी–२० विश्वकप छनोटका लागि खेलाडी घोषणा हुने

आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको अन्तिम चरणको प्रशिक्षण सम्पन्न भएको छ । 

सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा इटहरीमा असोज ७ गतेबाट सुरु भएको प्रशिक्षण आज बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरीस्थित क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिसरको मैदानमा प्रशिक्षण गराएका थिए ।

छनोट खेलका लागि पहिलोपटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीलाई सानो–सानो समूहमा प्रशिक्षण सुरु गरेको हो । पहिलोपटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार भदौ अन्तिम साता काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण भएको थियो ।

इटहरीको प्रशिक्षण सकिएकाले तीनै ठाउँको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ सदस्यीय खेलाडी छनोट गरिने प्रशिक्षक टमटाले जानकारी दिए ।

यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो ।

गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो ।



मलेसियामा हुने भनिएको महिला टी–२० विश्वकपको एसिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, युएई र हङकङ खेल्नेछन् । 

एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार २१:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया