कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कायम गरिएको छ । यातायात व्यवस्था कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय कालीकोटको समन्वयमा कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कायम गरिएको हो ।
नयाँ भाडादर अनुसार यात्रुले कालीकोटदेखि सुर्खेतका लागि ९ सिटे गाडीमा एक हजार २०० रुपियाँ तिर्नुपर्नेछ । यस्तै १५ सिटे गाडीमा एक हजार ३० रुपियाँ र ३६ सिटभन्दा माथिका गाडीको भाडा ८४० रुपियाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
यातायात व्यवस्था विभागले कायम गरेको भाडादरलाई आधार मानी नयाँ भाडादर निर्धारण गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।
उनले भने, ‘यातायात व्यवस्था विभागले निर्धारण गरको भाडादरमा कच्ची सडक भएकाले केही प्रतिशत थपेर नयाँ भाडादर निर्धारण गरिएको हो । यात्रुहरूबाट सवारीहरूले मनोमानी भाडा लिन नपाउन भनेर नयाँ भाडादर कायम गरिएको हो ।’
यस्तै, कर्णाली करिडोर निकै जोखिम भएकाले प्रतिकिलोमिटर १४ रुपियाँका दरले भाडा लिन यातायात समितिलाई निर्देशन दिइएको छ ।
जितेगडाबाट रास्कोट नगरपालिकाको सेराचौरसम्म ३४ किलोमिटरको भाडा एक जनाको ४७६ रुपियाँ कायम भएको छ । यसअघि यातायात समितिले एक जनाको एक हजार रुपैयाँ भाडा लिँदै आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।