जसलाई मन्त्री बनाएँ, ती सबै पतन भए : प्रचण्ड
थाहै नपाई क्रान्तिकारी शैलीमा ‘स्खलन’ आएको स्वीकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले मन्त्री बनाएकाहरु पार्टीबाट पतन हुँदै भएको प्रसंग फेरि उठान गरेका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनमा उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले आफ्ना साथ छाडेकाप्रति कटाक्ष गरेका हुन् । 

उनले भनेका छन्, ‘जो जति माथि नेतृत्वमा पुग्यो, त्यति अवसरवादी । जो जति धेरै मन्त्री भयो त्यो त्यति धेरै, बडो अनौठो भएको छ कमरेडहरु । तपाईंहरुले हेरिराख्नुभएको छ धेरै मन्त्री बनाएँ, जसलाई पार्टीबाट ती पतन भए ।’ 

जनयुद्धकालीन बेलादेखि नै आफ्नो साथ दिँदै आएका नेताहरुले पछिल्लो समय प्रचण्डको साथ छाडेका थिए । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायता नेतालाई लक्षित गर्दै आज प्रचण्डले फेरि भनेका छन्,‘जो जति माथि आयो त्यो त्यति दलालहरुसँग एकाकार भएर गयो, जनतासँग सम्बन्ध विच्छेद भएको जस्तो भयो ।’

आफ्ना साथ छाडेकाहरु दलालहरुसँग एकाकार भएको प्रचण्डको आरोप थियो । केही दिनअघि पनि प्रचण्डले काभ्रेको पाँचखालबाट बादल र रायमाझीको नामै लिएर खरो टिप्पणी गरेका थिए । उनले बादललाई सम्झँदा पनि एलर्जी हुने बताएका थिए । 

साथै, प्रचण्डले आफूहरुले खडा गरेको विरासत अरुसँग नभएको बताए । उनले भने, ‘हामीले यस्तो विरासत खडा गर्यौँ, जुन विरात अरुसँग छैनन् । माओवादी आन्दोलनसँग मात्रै छ, अनेरास्ववियू क्रान्तिकारीसँग मात्रै छ । त्यस्तो विरासत हामीले खडा गर्यौँ । हामी त्यो क्रान्तिकारी विरासतलाई नयाँ उचाइमा उठाएर नयाँ क्रान्तिको नेतृत्वको लागि आफूलाई तयार गर्ने या यथास्थितिमा आत्मसमर्पण गरेर हामी पनि अरुजस्तै हो भनेर पतन हुने ? यस्तो सवाल हामीमाझ खडा छ ।’

थाहै नपाई क्रान्तिकारी शैलीमा ‘स्खलन’



अध्यक्ष प्रचण्डले गएको १०–१५ वर्षयता थाहै नपाई क्रान्तिकारी चरित्रमा ह्रास आएको बताए । ‘विस्तारै विस्तारै थाहै नपाईकन गएको १०–१५ वर्षयता क्रान्तिकारी चरित्रमा ह्रास आएको छ,’ प्रचण्डको स्वीकारोक्ति थियो, ‘हामी हिजो सामाजिक रुपान्तरणको निम्ति, क्रान्तिको निम्ति, परिवर्तन्को निम्ति, उत्पादनको निमित जनतासँग एकाकार भएर काम गर्ने हाम्रो क्रान्तिकारी शैलीमा स्खलन भएको छ ।’ 

‘हामी विस्तारै विस्तारै थाहै नपाइकन हिजो माओवादी आन्दोलन या क्रान्तिकारी आन्दोलन भनौँ जनयुद्ध र जनआन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरुले जेजस्ता हत्कण्डा अपनाउँथे,’ उनले भने, ‘थाहै नपाई हामी पनि विस्तारै उस्तै–उस्तै हुने खतरा बढेको छ ।’



उनले अघि भने,‘क्रान्ति बडो जीवन्त हुन्छ, बडो सजीव हुन्छ । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने हो भन्ने सोचाइ पनि मार्क्सवादी होइन । माक्र्सदेखि लेनिन माओसम्म पनि क्रान्ति जनताको महान् कार्य हो । जनताको सहभागिताविना जनताको पहलकदमिविना क्रान्ति सफल हुँदैन ।’

  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया