देशभर १७ हजारभन्दा बढी स्थायी शिक्षकको दरबन्दी खाली
स्थायी शिक्षक पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाउँदै आयोग

देशभर १७ हजारभन्दा बढी स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै जिल्लाबाट मागेको तथ्यांकअनुसार १७ हजार ४७ स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको पाइएको हो । 

जसमध्ये प्राथमिक तहमा १२ हजार ९१२ स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको पाइएको छ । त्यस्तै, निम्न माध्यमिक तहमा २ हजार ५९३ र माध्यमिक तहमा एक हजार ५४२ स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको पाइएको हो । 

शिक्षक सेवा आयोगले देशभर रिक्त रहेको दरबन्दीको विवरण माग गरेको थियो । सोही आधारमा केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइमार्फत रिक्त दरबन्दी मागेको थियो । 

आयोगको माग बमोजिम नै गत चैतसम्म देशभर स्थायी दरबन्दीमा रिक्त रहेको शिक्षकको विवरण संकलन गरेर बुझाइएको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए । 

केन्द्रले संकलन गरेको विवरणअनुसार निमावि र माविमा नेपाली, अंग्रेजी र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको छ । निमाविमा अंग्रेजी ६२२, विज्ञान ४४० र नेपाली ४३६ जना शिक्षकको दरबन्दी रिक्त रहेको छ । त्यस्तै, माविमा विज्ञान ४३३, अंग्रेजी ३१३, गणित २८८ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ । 

बढुवाका लागि दरबन्दी सिफारिस 



केन्द्रले आन्तरिक बढुवाका लागि पनि सिफारिस गरेको छ । ७५ प्रतिशत आन्तरिक बढुवाका लागि प्राथमिक तहमा प्रथम श्रेणीका लागि ३४८ र द्वितीय श्रेणीका लागि १ हजार २७५ दरबन्दी बढुवाका लागि आयोगलाई सिफारिस गरिएको हो । 

त्यस्तै, निमावितर्फ ७५ प्रतिशत आन्तरिक बढुवाका लागि, प्रथम श्रेणी ७० र द्वितीय श्रेणीका लागि ३६८ र मावितर्फ प्रथम श्रेणीका लागि ११० र द्वितीय श्रेणीका ३७१ शिक्षक बढुवाका लागि सिफारिस गरेको हो । 



त्यसैगरी, २५ प्रतिशत विज्ञापनका लागि प्राथमिक तह प्रथम श्रेणीमा १०४ र द्वितीय श्रेणीमा ४१८, निमावितर्फ प्रथम श्रेणीमा ८ र द्वितीय श्रेणीमा ११० र माविका लागि प्रथम श्रेणीमा १४ र द्वितीय श्रेणीमा ११३ शिक्षक आन्तरिक प्रतिस्पर्धा तथा बढुवाका लागि आयोग समक्ष सिफारिस गरिएको सूचना अधिकारी दाहालले बताए । 

चाँडै पदपूर्ति गर्ने तयारीमा आयोग 

रिक्त दरबन्दी माग गरेको शिक्षक सेवा आयोगले त्यसको पदपूर्तिका लागि प्रक्रिया थालेको छ । सरकारले आयोगका पदाधिकारीसमेत नियुक्त गरिसकेको छ । अहिले आयोगले रिक्त पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।

यतिबेला जिल्लान्तर सरुवासमेत रोकिएको छ । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेर शिक्षकको जिल्लान्तर सरुवा रोक्न निर्देशन दिएको हो । 

आयोगले त्यसका लागि केही नियमावली संशोधनको लागि शिक्षा मन्त्रालयमा पठाएको छ । शिक्षा मन्त्रालयमार्फत नियमावली संशोधन भएर आएलगत्तै रिक्त दरबन्दी पदपूर्तिका लागि नयाँ विज्ञापन आह्वान गरिने आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । नियमावली संशोधन भएर आएपछि वार्षिक कार्यतालिका बनाएर अघि बढ्ने उनको भनाइ छ । 
 
रिक्त दरबन्दी भएको खण्डमा ६/६ महिनामा आयोगमा पठाउनुपर्ने कानूनी व्यवस्था छ । सोही आधारमा आयोगले नयाँ विज्ञापन आह्वान गरेर पदपूर्ति गर्छ । तर, लामो समयदेखि आयोगले नयाँ विज्ञापन आह्वान गर्न सकेको छैन ।
 
शिक्षक सेवा आयोगले २०७५ सालमा स्थायी शिक्षकका विज्ञापन आह्वान गरेको थियो । त्यसपछि भने अहिलेसम्म आह्वान गर्न सकेको छैन् । आयोगका सूचना अधिकारी मरहठ्ठाले नियमावली संशोधन नहुँदा आन्तरिक प्रतिस्पर्धा र बढुवाको काम अगाडि बढाउन नसकिएको बताए । 

नयाँ कार्यतालिका बनेको छ । तर, लाइसेन्स परीक्षा र स्थायी शिक्षकको परीक्षामध्ये कुन पहिला गर्ने विषय नटुङ्गिएको हुनाले नियमावली संशोधन गर्नु परेको उनको भनाइ छ । 

संशोधनसहितको नियमावली मन्त्रालयमा थन्किएको छ । अहिले शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । जसले गर्दा पनि यो विषयमा कहिले निर्णय हुन्छ भन्ने यकिन हुन सकेको छैन । 

मन्त्रालयबाट नियमावली संशोधन भएर आउनेबित्तिकै आयोगले काम थाल्ने उनको भनाइ छ । ‘नियमावली संशोधनका लागि मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयबाट संशोधन भएर आएपछि काम अघि बढ्छ,’ उनले भने । 

नियमावली संशोधन आएपछि कार्यतालिका बनाएर परीक्षा सञ्चालन गरिने उनले बताए । 
‘वार्षिक कार्यतालिकामा पदपूर्तिका लागि विज्ञापन कहिले गर्ने ? शिक्षक अध्यापन अनुमति पत्रका लागि परीक्षा कहिले गर्ने ? बढुवा कहिले गर्नेलगायतका सबै विषय समय तोकेरै गर्छौँ,’ उनले भने । 

अहिले शिक्षक बढुवा पनि खुल्ला प्रतियोगिता सरह हुने भनिएको छ । जुन संशोधन गर्नुपर्ने उनको भनाइ छ । खुल्ला प्रतियोगिता २०० पूर्णाकंको हुन्छ । आन्तरिक बढुवा पनि खुल्ला सरह २०० पूर्णाकंकै परीक्षा मार्फत गर्नुपर्ने बाध्यता अहिले आयोगलाई छ । यसलाई संशोधन गरेर बढुवालाई सहज बनाउन खोजिएको सूचना अधिकारी मरहठ्ठाले बताए ।  

आयोगले २०७६ को असार २ गते अध्यापन अनुमति पत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसअघि २०७५ जेठ ३१ गते र असार १ गते स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । त्यसपछि भने आयोग अहिलेसम्म कामविहीन जस्तै बनेको थियो । आयोगले अहिले रिक्त दरबन्दीका आधारमा पाठ्यक्रम नबनेका विषयको पनि पाठ्यक्रम बनाउने काम गरिरहेको उनको भनाइ छ । 

देशभर रिक्त रहेका स्थायी दरबन्दीमा करारमा शिक्षक कर्मचारी भर्ना गरिएको छ । केन्द्रका सूचना अधिकारी दाहालले अहिले रिक्त रहेको स्थानमा करारमा शिक्षक भर्ना गरेर पठनपाठनको काम भइरहेको बताए । 

अब नयाँ संरचनामा शिक्षकको विज्ञापन

शिक्षक सेवा आयोग नियमावली २०५७ लाई २०७६ मा दशौं पटक संशोधन गरिएको थियो । संशोधन गरिएसँगै अब नयाँ संरचनाअनुसार विज्ञापन गरिनेछ । 

विज्ञापन आह्वान गर्दा प्राथमिक तहको हकमा जिल्लागत र निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ । ऐनको दफा १२ मा यसरी जिल्लागत र प्रदेशस्तरमा विज्ञापन गर्नुपर्ने व्यवस्था गरेको थियो । 

यसअघि प्राथमिक तहको जिल्लागत र निमावि तथा मावि तहको विकास क्षेत्र स्तरमा विज्ञापन गरिँदै आएको थियो । ऐन संशोधन भएसँगै अबदेखि जिल्लागत र प्रदेशस्तरमा विज्ञापन गर्नुपर्नेछ । 

  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १८:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया