चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा शुक्रबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा छ ।
पहिलो खेलमा काठमाडौँ किङ्ग्स-११ र दोस्रो खेलमा पोखरा राइनोजसँग पराजित भएको ललितपुरले तेस्रो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो ।
करण केसी कप्तान रहेको विराटनगर पनि पहिलो जित निकाल्ने सोचमा हुनेछ । उ पहिलो खेलमा चितवन र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो ।
दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सको सामना गर्नेछ ।
विनोद भण्डारीको कप्तानमा रहेको पोखरा लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भैरहवासँग अंक बाँडेको उसले दोस्रो खेलमा ललितपुरलाई हराएको थियो ।
सोमपाल कामीको कप्तानीमा मैदान उत्रिने चितवन पनि आफ्नो अपराजित यात्रालाई कायम राख्ने सोचमा छ । उसले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा काठमाडौँलाई पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।