[विचार] ‘आत्महत्या’ सोचे पनि प्रकट गर्न छाड्नूस् प्रिय प्रचण्ड !
फरकधार / १५ असोज, २०७८

नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै भावुक स्वभावका मानिस हुन् । त्यस्तो भावुक स्वभावको मानिसले किन १७ हजार जनाको ज्यान जाने सशस्त्र संघर्षको बाटो रोजे त भन्ने प्रश्न यहाँनिर उठ्न सक्छ । प्रश्न जायज छ, किनकि माओवादीले त्यो ‘जनयुद्ध’ मर्न र मार्न तयार भएर लडेको थियो । जनयुद्धमा प्रत्यक्ष सरिक हुने जो कोहीको मनस्थिति कि त मर्न कि त मार्न तयार अवस्थामा थियो । त्यही कारण त्यतिविधि संख्यामा मानिस मारिए । 



त्यो संघर्षको नेतृत्व उनै भावुक प्रचण्डले गरेका थिए । उनको प्रभावकारी र क्षमताशाली नेतृत्वकै कारण जनयुद्ध त्यो तहमा उक्लिएको हो । तर, जनयुद्धको ‘ल्यान्डिङ’ जति कमजोर हुन पुग्यो त्यो भन्दा पनि खराब देखिए त्यो पार्टीका नेताहरू । युद्धकालमा प्रचण्डसँग अत्यन्तै नजिक भएका कतिपय माओवादी नेताहरूले अहिले उनलाई छाडिदिएका छन् । तिनले अन्य पार्टी रोजेका छन् ।

प्रचण्डलाई यतिखेर सबैभन्दा मन नपर्ने पार्टी हो- नेकपा एमाले । रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीजस्ता माओवादीका प्रभावशाली र युद्धकालका डिजाइनहरूले नै अहिले प्रचण्डसँग कित्ताकाट गरेका छन् र प्रचण्डले अधिक घृणा गर्ने पार्टी एमाले प्रवेश गरेका छन् । त्यतिमात्र होइन, हिजोको निकटतम सहयात्री डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’जस्ता प्रभावशाली नेताले पनि उनलाई निकै अघि नै छाडिसकेका छन् । प्रचण्डलाई लागेको यो एक बलशाली झट्का हो ।

युद्धकालमा आफ्नातर्फका लडाकु मर्दा प्रचण्ड निकै रून्थे भन्ने कुरा उनीनजिक रहेका र संगत पाएका कतिपय नेताहरू बताउँछन् । यसबाट पनि उनको भावुक स्वभाव पुष्टि हुन्छ । विगतमा युद्धका क्रममा आफैंले बगाएको आँसुको मूल्य चुकाउने सवालमा प्रचण्ड बिलकुलै असफल भएका छन् । पटकपटक माओवादी सत्तामा पुग्दा पनि हिजोका दिनमा सर्वसाधारणको घरदैलोमा गएर आफू र आफ्नो पार्टीले गरेका प्रतिज्ञा पूरा हुनु त परै जाओस् सर्वसाधारणको जीवन थप कष्टकर भएको देखेर उनी विक्षिप्तजस्तै बनेका छन् । एक भावुक नेता हुनुको नाताले यो अवस्थाले उनमा अवश्य पनि झट्का लागेको छ ।



नेता जतिसुकै उग्र, क्रूर वा निरंकुश किन नहोस्, ऊ आफ्ना परिवारप्रति निकै नरम र व्यावहारिक हुन्छ । त्यसमाथि प्रचण्ड त भावुक स्वभावका मानिस । उनले पारिवारिक असफलता यति ज्यादा भोग्नुपर्यो कि त्यसले जतिसुकै बलियो मुटु भएका मानिसलाई पनि कमजोर बनाइदिन्छ । पुत्र-पुत्री वियोग, आफ्नाहरूको असहयोग र अविश्वास अनि पत्नी सीताको दीर्घरोगले प्रचण्डलाई भित्रभित्रै खाइरहेको छ । पारिवारिक वियोग र आफन्तको कटु व्यवहारलाई बिर्सनका निम्ति उनले जनतालाई खुसी बनाउन सक्नुपथ्र्यो या पार्टीलाई बलियो पार्न सक्नुपर्थ्याे त्यो सवालमा उनी पटकपटक चुकिसकेका छन् । 

पहिलो संविधानसभामा देशकै एक नम्बर पार्टी अहिले निरन्तर ओरालो झरिरहेको छ । एकातिर पारिवारिक वियोग, अर्कोतिर कमजोर बन्दै गएको आफ्नो पार्टीको अवस्था- यी दुई परिस्थितिले पनि प्रचण्डमाथि बज्रपात हुन पुगेको छ ।

प्रचण्डलाई सबैभन्दा ठूलो राजनीतिक ‘सक’ दिए नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले । एमाले र माओवादीका अघिल्तिर ‘कम्युनिस्ट’को फुँदा जोडिए पनि ती दुई पार्टीको स्वभाव बिलकुलै अलगअलग छ । एमाले संसदीय व्यवस्थामा खारिएको र लोकतन्त्रलाई सधैं आत्मसात गर्ने प्रयासमा रहेको एक पार्टी हो । तर, माओवादी कुनै बेला संसदीय व्यवस्थालाई आफ्नो प्रमुख दुश्मन ठान्थ्यो । त्यो पार्टीले लोकतन्त्र र संसदीय व्यवस्था माने पनि त्यसका कयौं कार्यकर्ता यो परिपाटीप्रति विमति राख्छन् । तर, प्रचण्डकै बुद्धिमानीले माओवादी र एमाले पार्टी एक भए, अनि बन्यो- शक्तिशाली नेकपा।

नेकपा बन्दा ओली र प्रचण्डबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री पद मिलिजुली वा पालैपालो चलाउने सम्झौता भएको थियो । त्यो सम्झौतालाई राजनीतिका चतुर खेलाडी ओलीले लत्याइदिए । प्रचण्डमाथि घनघोर घात गरिदिए । प्रचण्डसामु कि त पार्टी पुनः चोइट्याएर हिँड्ने कि त ओलीसँग सम्झौता गर्ने विकल्पमात्रै थियो । प्रचण्डले सहन सकिरहेका थिएनन्, त्यतिखेरै सर्वोच्च अदालतले यी दुई पार्टीलाई अलग हुने आदेश दियो । आफ्नो पार्टी लिएर प्रचण्ड नेकपाबाट त बाहिरिए, तर ओलीले गरेको घात उनको मनभित्र विषालु काँडा बनेर हुर्किरहेको थियो । त्यो काँडाले पनि उनलाई निरन्तर घोचिरहेको छ र कमजोर बनाइरहेको छ ।

सशस्त्र संघर्षका बलमा राज्यसत्ता कब्जा गर्ने उद्देश्यले सत्तासँग एक दशक लामो युद्ध गरेको पार्टी यति छिट्टै कमजोर देखिनु नेतृत्वकै खराबी हो । त्यसमा पार्टीले लिएको सिद्धान्त र व्यवहार पनि जिम्मेवार हुन्छ, त्यसमा पनि नेतृत्व नै जोडिन्छ । सशस्त्र संघर्ष चलिरहेकै बेला अचानक प्रचण्डले पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने जोखिम मोलेका थिए । विगतमा आलोचना गर्दै आएको संसदीय राजनीतिक परिपाटीलाई उनले सहर्ष स्वीकार्दै २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनमा पार्टीलाई उतारेका थिए । प्रचण्डको यो चानचुने निर्णय होइन । 

नेपालजस्तो मुलुकमा लामो समय सशस्त्र युद्ध सम्भव छैन, यसले चाहेको गन्तव्य भेट्न निकै मुश्किल छ भन्ने तथ्य प्रचण्डले बेलैमा मनन् गरेका कारण नै माओवादी शान्तिपूर्ण राजनीतिमा ओर्लिएको हो । नतिजा जेसुकै भए पनि त्यसखबतको परिस्थितिमा प्रचण्डले गरेको उक्त निर्णय बुद्धिमत्तापूर्ण थियो । तर, त्यो बुद्धिमत्तापूर्ण निर्णयले परिणाम भने सधैं खराबमात्रै दियो । प्रचण्ड सधैं सुखद परिणाम पर्खिरहे, तर उनको हात लाग्यो दुःखद मात्रै । पार्टीको क्षयीकरण र नेताहरूको भ्रष्ट आचरण देखेर प्रचण्ड दिक्दार भएका छन् । 

प्रचण्ड अधिकांश नेपालीका निम्ति ‘आशलाग्दा’ नेता थिए, अब ‘हुन्’ भन्ने अवस्था छैन । उनलाई आफ्नो राजनीतिक ‘आइकन’ मानेर राजनीतिको मैदानमा उत्रने मानिस अहिले पनि छन् । तर, प्रचण्ड केही समयदेखि निकै निराश छन् । आफू ‘एक्लो’ भएको उनलाई महसुस हुँदै आएको छ । र, उनी अहिले त दिमागमा ‘आत्महत्या’ गर्नेसम्मको सोच हुर्काइरहेका छन् !

देशको एकजना प्रभावशाली नेताले आत्महत्याको सोच बनाउनु कुनै पनि हालतमा उचित होइन । विगतका गल्ती-कमजोरी सुधार्ने यो उपयुक्त बाटो पनि होइन । आफूले हिँडेर आएको बाटो गलत थियो भने त्यसमा जनतासामु उभिएर माफी माग्ने हो, पलायन हुने होइन । निश्चित छ, उनीभित्र एकप्रकारको ग्लानि हुर्किरहेको छ, कताकता पश्चातापका छिटा पनि होलान् ! प्रचण्ड पनि मानिस हुन्, उनका दिमागमा थरिथरिका कुरा खेल्छन्, तर उनीभित्र आत्महत्याको सोच पलाएको हो भने पनि त्यसलाई सार्वजनिक रूपमा अभिव्यक्त गर्नु हुँदैनथ्यो ।

‘प्रिय प्रचण्ड, कृपया तपाईंभित्र पलाएको आत्महत्याको सोचलाई अब हुर्कन नदिनूस्, त्यसलाई मनभित्रै मारिदिनूस् । तपाईंका अघिल्तिर थुप्रै जिम्मेवारी छन्, पार्टीलाई नयाँ ढंगले अघि बढाउनुस् । तपाईंलाई छाडेर गएका पूर्वसहकर्मीलाई ती ‘खराब’ चरित्रका रहेछन् भनेर बिर्सिदिनुस् । जिम्मा समयलाई दिनुस्- केही नेता माओवादीमै फर्कने छन् । साँच्चै नै तपाईंको पार्टी सुध्रेर नेपालको राजनीतिक मैदानमा उत्रेको हेर्न चाहने नेपाली जनता थुप्रै छन् । साथै, केही समय परिवारलाई दिनुस् । सुन्दर संगीत सुन्नोस् र साहित्य पढ्नोस्, मनोरम स्थान घुम्नोस् । असल, सज्जन, प्रतिभाशाली मानिसहरूसँग बहस गर्नुस्- उनीहरूका कुरा बढी सुन्नोस् र आफू कम बोल्नोस् । 

देशले अहिले नै तपाईंलाई राजनीतिक दृश्यबाट हराएको देख्न चाहेको छैन । कमी-कमजोरी तपाईंबाट निकै भएका छन्- यो सत्य हो । तर, जनताले चुनेको प्रतिनिधिले संविधान लेख्न संविधानसभाको निर्वाचन गराउने, देशलाई संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक बनाउने र एकल जातीय हैकम चलाइरहेका राजा-महाराजाहरूको चंगुलबाट देशलाई मुक्त गराउने अनि देशका मालिक जनता नै हुन् भन्ने सोचलाई बलियो पार्ने अभियानको नेता तपाईं नै हो ।’ 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:१८:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया