बुटवल उपमहागरपालिकाले भदौ १ देखि सुरु गरेको सहुलियत घर नक्सा डिजाइनको सेवा लिएका सेवाग्राहीलाई बिहीबार सम्मान गरेको छ ।
उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार उक्त सेवाअन्तर्गत ४३ जना नगरपालिकामा सम्पर्कमा आएकामा १४ जनाको सहुलियतमा घरको नक्सा तथा डिजाइन भइसकेको छ ।
उपमहानगरपालिकाले नगरभित्र निर्माण गरिने एक हजार वर्गफिट क्षेत्रफल ओगटेका एकतले घरका नक्सा डिजाइनका लागि न्यूनतम शुल्क पाँच हजार र तीन तलासम्मको आठ हजार लिने गरेको छ । सोही कामका लागि व्यावसायिक डिजाइनरले भने ३० हजारसम्म लिन्छन् ।
यस सेवाका लागि उपमहानगरपालिकाका दुई प्राविधिक खटिएका छन् ।
यो सेवापछि नगरपालिकाले तोकेको मापदण्डअनुसार घर बन्ने भएकाले नगरपालिकामा नक्सा पासको प्रक्रियामा कुनै समस्या नआउने उपमहानगरपालिकाका योजना प्रमुख श्रेष्ठ बताउँछन् ।
उपमहानगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनामा नगरका जनतालाई सुविधा दिन एमआरटी परिधिभित्र रहेका घरको नक्सा डिजाइन गरी पेस गर्ने तथा घरको प्राविधिक निरीक्षणसम्मका सम्पूर्ण काम उपमहानगरपालिकाले नै गरिदिने गरी डेस्क सञ्चालन गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
कार्यक्रममा सेवाग्राही हेमबहादुर राउत, रामजी ज्ञवाली, अमृता पौडेल, नरहरि भुसाललगायतले बोलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।