आफैँलाई खोज्ने निखिल उप्रेतीको यात्रा

निखिल उप्रेतीको जन्म भएको केही दिन भएको थियो । उनको घरमा जोगी आए । जोगीले आँगनको डिलमा उभिएर भने, ‘जोगी पैदा हुवा ।’ निखिलका बुबाले जोगीलाई लखेटे । निखिल हुर्किए । नेपाली सिने उद्योगका चल्तीका नायक भए । उनको परिवारले सोच्यो ‘जोगी गलत थियो ।’

लामो समय सिने उद्योगमा राज गरेका निखिललाई एक्सन नायक भनेर सम्बोधन गरियो । फिल्म चल्दाचल्दै अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे । दोस्रो बिहेलगत्तै उनी मुम्बई गए । केही वर्ष उतै बसे । नेपाल फर्किएर फिल्मको आफ्नो स्टारडम फर्काउने प्रयास गरे । कहिले निर्माता भएर त कहिले फिल्मको शीर्ष भूमिकामा देखिएर उनले आफ्नो पुरानो क्रेज फर्काउने कोसिस गरे, तर सकेनन् । 

अहिले निखिलको रूप फेरिएको छ । पहिरन फेरिएको छ । लगाउने पोसाक र खाने खाना फेरिएको छ । समग्रमा उनको जीवनशैली फेरिएको छ । एक्सनका लागि विभिन्न ठाउँमा पुग्ने निखिल हिजोआज सम्बोधी प्रवचकका रूपमा देवालय पुग्छन् । प्रवचन दिन्छन् । उनका दर्शक-स्रोता फेरिएका छन् । यो समय निखिल आफूले सुन्न नपाएको जोगीको वाणी सम्झिरहेका छन् ।

जोगीको वचन उनको जीवनमा मिल्छ वा मिल्दैन, उनी पूर्ण रूपमा जोगी भएर हिँड्छन् वा हिँड्दैनन् त्यसको स्पष्ट खाका भने उनी आफैँसँग छैन । तर, उनी हिजोआज जहाँ पुग्छन्, जीवन र जगतका कुरा सुनाउँछन् । उनी कहिले हेटौँडाको मानव सेवा आश्रममा भेटिन्छन् त कहिले झम्सीखेलस्थित कविर आश्रममा देखिन्छन् ।

शाकाहारी संघ र नवजीवन परोपकार केन्द्रले आयोजना गर्ने कार्यक्रममा नछुटाई पुग्छन् । यी सबै यात्रा कोरोनाकालमा केही पातलिए । अहिले निखिललाई हिरोका रूपमा होइन, प्रवचकको रूपमा निमन्त्रण आउँछ । उनी नहिच्किचाई जान्छन् । प्रवचन दिन्छन् । 

ज्ञान के हो? निखिललाई थाहा छैन । भन्छन्, ‘ज्ञान के हो मलाई थाहा छैन । मैले अज्ञानता बुझेको छु । त्यही अज्ञानताबारे अरूलाई पनि बताउँछु । अज्ञानता बाहेकका अन्य सबै कुरा ज्ञान नै त हुन् ।’



सात तला माथिबाट हाम फालेर फिल्मी यात्रा सुरु गरेका निखिललाई अध्यात्ममा के ले तान्यो होला? उनी भन्छन्, ‘तानेको होइन, आफूभित्रको स्वयम्बोध जागेको हो ।’ उनी आफूमा सानैबाट स्वयम्बोध भएको बताउँछन् । उनी तीन सिफ्टमा फिल्ममा काम गर्दा पनि मन्दिर धाइरहन्थे । गुरुहरूसँग शिक्षा लिन्थे । 

फिल्मी यात्राको व्यस्त दौडानमै जीवन र जगत् बुझाउने सात सयभन्दा धेरै किताब पढेको निखिलको दाबी छ । ओशोका हरेक प्रवचन र पुस्तकका सार कण्ठस्थ छ उनलाई । तर, हिरो अवतारमा पर्दामा देखिरहँदा उनले अध्यात्मको यो पाटो कहिल्यै बाहिर ल्याएनन् । जीविकोपार्जनका लागि फिल्म खेल्ने निखिल आफ्नो जीवनका लागि भने त्यही बेला पनि अध्यात्ममा लीन हुन्थे । 



निखिलले नभने पनि फिल्म क्षेत्रका केही साथीलाई उनको यो पाटो थाहा थियो । त्यसैले फिल्मीवृत्तमा उनको उपनाम नै ‘स्वामी’ राखिएको थियो । तर, निखिल आफैँलाई भने यस्ता विशेषण मन पर्दैन । भन्छन्, ‘म स्वामी, ज्ञानी, विवेकी केही होइन । म आफूसँग भएका अज्ञानता बाँड्न खोजिरहेको छु । अज्ञानता जानेपछि ज्ञानको बाटो पनि देखिएला भन्ने आशा छ ।’

निखिल सानै थिए । घरमा गाई र भैँसी दुवै पालिएको थियो । त्यतिबेला गाईले दूध दिँदैनथ्यो । भैँसीको दूध खाएर आमाहरू गाईलाई माता भनेर पूजा गर्थे । निखिललाई अनौठो लाग्थ्यो । उनका बुबा-आमा उनलाई गाईपूजा गर्न भन्थे । निखिल मान्दैनथे । उनी भन्थे, ‘भैँसीको दूध खाएपछि मेरो लागि भैँसी नै माता हो । गाई माता होइन ।’ 

उनको मनमा यस्तै सवाल उठ्थे र फुट्थे । उनी यी यावत् सवालहरूका जवाफ अरूसँग सोध्दैनथे । आफैँभित्र खोज्थे । निखिल भन्छन्, ‘अहिले पनि मलाई लाग्छ, हामी अरूका बारेमा बुझ्न खोज्छौँ, पढ्छौँ तर आफूलाई चिन्ने प्रयास गर्दैनौं । आफूलाई नचिनी अरूलाई चिनेको के सार?’ उनी अहिलेको युवापुस्तालाई यही ज्ञान बाँड्न चाहन्छन् । भन्छन्, ‘सम्बोधीमार्फत् आफूलाई आफैँभित्र खोज ।’ 

अध्यात्ममा लागेका निखिलले फिल्म छाडेकै हुन् त? धेरैको प्रश्न र जिज्ञासा छ । उनी भन्छन्, ‘फिल्म मेरो कर्म हो । कर्म नगरी म बस्न सक्दिनँ ।’ आफ्ना फिल्मको कमजोर व्यापार, कोरोनाका कारण ठप्प रहेको सिने उद्योगका कारण केही समय ‘ब्रेक’ लिएका मात्रै हुन् ।

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १९:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया