‘फुटबल’पछि अर्जेन्टिनासँग नेपालको ‘तेल’ साइनो

‘अर्जेन्टिना’ भन्ने देशकाे नाम आउने बित्तिकै आम नेपालीले फुटबल सम्झिन्छन् । अझ बढी डियगो म्याराडोना र लियोनेल मेसीलाई सम्झन्छन् । धेरै नेपाली म्याराडोना र मेसीको ‘जादु’ कै कारण अर्जेन्टिनी फुटबलको फ्यान भएका हुन्। त्यसभन्दा बढी खासै नेपालीको सम्झनामा अर्जेन्टिना बस्न सकेको छैन ।
 
त्यसो त नेपाल र अर्जेन्टिनाले आजभन्दा ५९ वर्षअघि नै कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । सन् १९६२ जनवरी १ मा जोडिएको कूटनीतिक सम्बन्ध खासै मौलाउन सकेन । 

नेपालीले अर्जेन्टिनालाई फुटबलका कारण सम्झने भए पनि भौगोलिक रूपमा नेपालबाट १६ हजार ८४४ किलोमिटर (एयर डिस्टेन्स) टाढा रहेको अर्जेन्टिनाले भने बेलाबखत ‘फकल्याण्ड’ युद्धका कारण नेपाली गोर्खा सैनिकलाई सम्झने गर्छ ।  

नेपाली गोर्खा सैनिकले बेलायतको तर्फबाट फकल्याण्ड टापुमा सन् १९८२ मा अर्जेन्टिनासँग युद्ध लडेका थिए । गोर्खा सैनिकका सामु अर्जेन्टिनी सैनिकले घुँडा टेकेका थिए र युद्ध बेलायतले जितेको थियो । यो तिक्ततालाई अर्जेन्टिनाका मात्र नभई विश्व फुटबलका लिजेण्ड डियगो म्याराडोनाले पनि बेलाबखत व्यक्त गर्ने गरेका थिए ।

अर्जेन्टिनासँग नेपालको कस्तो सम्बन्ध छ भन्ने बारेमा नेपालका राजनीतिक वृत्त पनि खासै जानकार देखिँदैन । गत जेठ १८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा बिबिसी हिन्दी सेवालाई अन्तरर्वार्ता दिँदा नेपालको सम्बन्ध नभएको राष्ट्रको उदाहरण दिँदा अर्जेन्टिनाको नाम लिएका थिए। 

तर, पछिल्ला वर्षहरूमा नेपाल र अर्जेन्टिनाबीच व्यापारिक सम्बन्ध मजबुत तरिकाले स्थापित हुँदै गएको छ जसलाई थोरैले मात्र ‘मार्क’ गरेका छन् । 
तपाईंलाई थाहा छ तपाईंको भान्सामा प्रयोग हुने भटमास तथा सनफ्लावर तेल कहाँबाट आउँछ ? तपाईंलाई लाग्नसक्छ- ‘हाम्रै उत्पादन त हो नि ।’ तर, यथार्थ भने याे होइन। 

नेपालीको भान्सामा प्रयोग हुने भटमास तथा सनफ्लावर तेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, ब्राजिल, पाराग्वे लगायतका देशबाट आउँछ । नेपालमा सबैभन्दा ठूलो मात्रामा भटमास तथा सनफ्लावर तेल अर्जेन्टिनाबाट आउने गरेको छ । 



अर्थात् नेपालीको भान्सामा भटमास तथा सनफ्लावर तेल नेपालबाट १६ हजार ८४४ किलोमिटर (एयर डिस्टेन्स) टाढा रहेको अर्जेन्टिनाबाट आउने गर्छ । पछिल्लो २६ महिनामा अर्जेन्टिनाबाट मात्र नेपालमा ६७ अर्ब ११ करोड ५३ लाख ३३ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । औसतमा प्रत्येक महिना साढे २ अर्ब रुपैयाँभन्दा बढीको कच्चा भटमास तथा सनफ्लावर तेल अर्जेन्टिनाबाट नेपाल आउने गरेको छ । 

विभागका अनुसार अर्जेन्टिना लगायतका देशबाट नेपालमा कच्चा भटमास तथा सनफ्लावर तेल ल्याइन्छ । त्यसलाई नेपालमा प्रशोधन गरी खान योग्य बनाइन्छ र त्यो नेपालभित्र तथा अन्य राष्ट्रमा बिक्रीवितरण गरिन्छ । 



चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विभिन्न देशबाट १८ अर्ब ७७ करोड ४५ लाख ९२ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपाल भित्रिएको छ । विभागका अनुसार उक्त कच्चा तेल २०७८ साउन र भदौ महिनामा नेपाल भित्रिएको हो । 

सो अवधिमा १५ अर्ब ६० करोड ७ लाख ९१ हजार रुपैयाँको कच्चा भटमास तेल नेपालले आयात गरेको देखिन्छ । उक्त मूल्यमा १० करोड ४ लाख ८० हजार ८३८ लिटर कच्चा भटमास तेल नेपाल आएको छ ।
 
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३ अर्ब १७ करोड ३८ लाख एक हजार रुपैयाँको १ करोड ८५ लाख १४ हजार १६ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ । 

कच्चा भटमास तथा सनफ्लावर तेल अर्जेन्टिना, ब्राजिल, इजिप्ट, पाराग्वे, रुस र युक्रेनबाट नेपाल भित्रिएको हो । पछिल्लो दुई महिनामा अर्जेन्टिनाबाट १० अर्ब २४ करोड २९ लाख ९८ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपाल भित्रिएको छ । 

यस्तै, ब्राजिलबाट २ अर्ब ८४ करोड ९८ लाख ४७ हजार रुपैयाँ, इजिप्टबाट ६ करोड ५० लाख ७५ हजार रुपैयाँ, पाराग्वेबाट २ अर्ब ७१ करोड ९ लाख २२ हजार रुपैयाँ, रुसबाट ६२ करोड ९३ लाख ५८ हजार रुपैयाँ र युक्रेनबाट २ अर्ब २७ करोड ६३ लाख ९२ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न १२ देशबाट नेपालमा ६९ अर्ब ६३ करोड ६५ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष अर्जेन्टिनाबाट मात्र ४१ अर्ब १४ करोड ८२ लाख ६ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपालले आयात गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा विश्वका ८ देशबाट २८ अर्ब ५४ करोड ५३ लाख ९३ हजार रुपैयाँका कच्चा तथा सनफ्लावर तेल नेपाल भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । उक्त वर्ष अर्जेन्टिनाबाट मात्र १५ अर्ब ७२ करोड ४१ लाख २९ हजार रुपैयाँको कच्चा भटमास तथा सनफ्लावर तेल नेपालले आयात गरेको थियो । 

भारत र चीनपछि अर्जेन्टिनासँग ठूलो वैदेशिक व्यापार

भन्सार विभागको तथ्यांकले नेपालको गत आर्थिक वर्ष २०७७/७८ मा भारत र चीनपछि अर्जेन्टिनासँग तेस्रो ठूलो वैदेशिक व्यापार रहेको देखाउँछ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष अर्जेन्टिनाबाट नेपालमा ४१ अर्ब ९३ करोड ९९ लाख ७७ हजार रुपैयाँको वस्तु भित्रिएको छ । जबकी सोही अवधिमा नेपालबाट मात्र १९ लाख ६२ हजार रुपैयाँको वस्तु अर्जेन्टिनातर्फ गएको छ । 

गत आर्थिक वर्ष भारत र चीनपछि नेपालको तेस्रो ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको थियो । गत वर्ष अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ४१ अर्ब ९३ करोड ८० लाख १५ हजार रुपैयाँ रहेको विभागले जनाएको छ । 
 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ७:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया