देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा.३ ख ९३६९ नम्बरको मिनीट्रकले बा.८८ प २२१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं सितापाईला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सितापाईला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियामा यूपी ५५ डब्लु ९६३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–७ बस्ने ४५ वर्षीया बाचिदेवी हरिजन छन् । उनको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका–५ चाँदीपुल नजिकै सडकमा युपी ३५ एटी ४२७३ नम्बरको ट्रकले ना.३५ प १८९३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–२ जुडिवेला बस्ने ३७ वर्षीय सोनालाल चौधरी रहेका छन् ।
चितवनको भरतपुर महानगरपलिका–११ आँपटारीमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ माथिल्लो नुनथलामा स.१ त ७०७१ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठानको मल्लरानी गाउँपालिका–४ घलडाँडामा ना.४ ख ५१९४ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–१० बडरा घर भई मल्लरानी गाउँपालिका–४ टुनिखर्क बस्ने ५२ वर्षीय हुकुम नेपाली छन् । उनको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
तेह्रथुमको लालिगुँरास नगरपालिका–४ फुलेकमा को.२ त ८४२६ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा लाँलीगुरस नगरपालिका–५ बस्ने २२ वर्षीय पन्च बहादुर मङ्रातीको घटनास्थलमै र सोही ठाउँ बस्ने १६ वर्षीय छिन बहादुर सार्कीको बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।