विचार
भन्सारः भ्रम र यथार्थ
तस्वीर: इन्टरनेटबाट ।

भन्सारसम्बन्धी बुझाइ  

सामान्यजनमा भन्सार भन्नाले सीमानाकामा वस्तुको निकासी र पैठारीमा हुने जाँच मात्र हो भन्ने बुझाइ छ । अझ भनौँ, स्थानीय जनसमुदायले त आफ्नो नजिकको कार्यालयमा हुने चेकजाँचलाई नै भन्सार भनी बुझेको अवस्था छ । 

तर, समग्रतामा भन्सार त्यतिमा मात्र सीमित छैन । भन्सारको प्रमुख कार्य भनेकै व्यापार सहजीकरण गर्नु हो । यसका साथै, यात्रुको आवागमन सहजीकरण, समाजको सुरक्षाका लागि स्वास्थ्यमा हानि नहुने वस्तुको मात्र आयात–निर्यात, अवैध व्यापारमा नियन्त्रण र राजस्व संकलनसमेत भन्सारले गर्दछ । 

अतः सामान्य बुझाइमा नै भन्सारलाई साँघुरो दृष्टिबाट हेर्ने भ्रम छ । भन्सारको विषयमा एउटा भनाइ छ, ‘बोर्डर डिभाइड्स, कस्टम जोइन्ट्स ।’ भन्सारले सीमा व्यवस्थापन गर्ने, अन्तर्रास्ट्रिय व्यापारलाई सहज बनाउने, यात्रुहरूको आवात–जावत व्यवस्थापन गर्ने, अवैध व्यापारलाई नियन्त्रण गर्ने, व्यापारको नियमन गर्ने, आर्थिक समृद्धिको लागि राजस्व संकलन गर्ने, प्रतिस्पर्धी बजार प्रणालीको विकास गर्ने, समाजको सुरक्षाको लागि आवश्यक सजगता र क्रियाशीलता बढाउने कामसमेत गर्दछ ।

 

भन्सार जाँचपास प्रक्रिया 



भन्सार विन्दुमा आएको मालवस्तुलाई आवश्यक जाँच गरी तोकिएको महसुल लिएर मालवस्तु छोड्ने प्रक्रिया भन्सार जाँचपास हो । नेपालमा सबैभन्दा धेरै भ्रम नै यस विषयमा छ । भन्सार विन्दुमा आएको मालसामान, गाडी, कन्टेनर जाँचपास भएर भन्सारबाहिर निस्कँदा सबै सामान एक–एक गरेर मात्र आउँछ भन्ने आम बुझाइ छ । 

संसारका कुनै पनि देशको भन्सार विन्दुमा सबै सामानको भौतिक परीक्षण हुँदैन । यसलाई व्यवस्थित र वास्तविक बनाउन जोखिममा आधारित जाँचपास प्रणाली अपनाइएको हुन्छ । 



भन्सार ऐन, २०६४ को दफा २० ले चारवटा लेनबाट वस्तुको जाँचपास गर्न सक्ने कानुनी व्यवस्था गरेको छ । नेपालमा भन्सार जाँचपासमा हाल आसिकुँडा वल्ड (अनलाइन सिस्टम) कार्यान्वयनमा ल्याइएको छ । यसलाई नेपाल भन्सार स्वचालन प्रणाली (नेकास) नाम दिइएको छ । 

यसै सिस्टमभित्र जोखिम सूचकको आधारमा छनोट प्रणाली (सेलेक्टिभिटी मोडेल) लागू गरिएको छ । यस प्रणालीमा जोखिम सूचकको आधारमा भन्सार विन्दुमा आएको मालसामान हरियो लेन, रातो लेन र पहेँलो लेनमा लाग्ने व्यवस्था छ । 

भन्सारमा सामान आइसकेपछि व्यवसायी वा निजको प्रतिनिधिले आसिकुँडा वल्ड सिस्टममा अनलाइनमार्फत सबै विवरण भरेपछि भन्सार अधिकृतले कम्प्युटरको माध्यमबाटै त्यसको एसेसमेन्ट गर्दा जोखिम सूचकको आधारमा स्वतः अलग–अलग लेन लाग्ने गर्दछ ।

भन्सार जाँचपासमा लेनअनुसार जाँचपासको विधि र प्रक्रियासमेत अलग–अलग छ । ग्रिन लेनबाट जाँचपास गर्दा भन्सार अधिकृतले सामान तथा कागजात केही जाँच नगरी महसुल मात्र लिएर सामानको निष्कासन गर्दछ । 

यसैगरी, पहेँलो लेनबाट जाँचपास गर्दा अधिकृतले कागजातहरूको अध्ययन गरी महसुल लिएर सामान छोड्छ भने रातो लेनमा परेको मालवस्तुका हकमा सम्पूर्ण सामानको जाँच गरेर मात्र महसुल लिई छोड्ने गर्छ ।

हाल भन्सार जाँचपास गर्दा प्रज्ञापनपत्रको आधारमा ३५–४० प्रतिशत सामान हरियो तथा पहेँलो लेनबाट जाँचपास भएको छ भने मूल्यको आधारमा करिब ५५ प्रतिशत मालसामान यी लेनबाट जाँचपास भएको छ । 

तर, व्यापारका विषयमा जानकार र पढेलेखेका व्यक्तिहरूमा समेत भन्सार विन्दुबाट निस्केको मालसामान सबै भन्सार प्रशासनले एक–एक हेरेर पठाएको हुन्छ भन्ने भ्रम यद्यपि छ । यसरी हरियो र पहेँलो लेनबाट हुने जाँचपासमा व्यवसायीलाई नै मुख्य जिम्मेवार बनाई विश्वास गरिएको हुन्छ । यसलाई विभागीय नियन्त्रण गर्न जाँचपासपछिको परीक्षण (पोस्ट क्लियरेन्स अडिट) समेत गर्ने व्यवस्था छ । यदि यसरी जाँचपास भएको सामानमा घोषणा भएभन्दा फरक परेमा ऐनको दफा १८ बमोजिम ५०० प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ । 

संसारका विकसित र प्रविधियुक्त देशमा यस्तो जाँचपासको अंश ९०–९५ प्रतिशतको हाराहारीमा रहेको हुन्छ । नेपालको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना (२०१७–२०२१) ले हरियो र पहेँलो लेनको जाँचपासलाई ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

परम्परा तथा प्रविधि

आम जनताको दिमागमा भन्सार भन्नेबित्तिकै पुरानो संरचना, कागजी झन्झट, पुरानो मानसिकता, अव्यवस्थित कार्यालयजस्ता चित्र आउने गरेको पाइन्छ । यो अर्को भ्रम आम जनमानसमा व्याप्त छ । 

नेपालको भन्सार प्रशासन अहिले लगभग पूर्ण स्वचालनमा गएको छ । स्वचालन पद्दतिबाट सबै आयात र निर्यातकर्ता एवं तिनका प्रतिनिधिले मालसामानको घोषणा जुनसुकै स्थानमा रही कम्प्युटरबाट गर्न सक्छन् । भन्सार कार्यालयमा कुन सामानको जाँचपास कसले गर्ने भन्ने सिस्टमले नै तोक्ने व्यवस्था छ । कार्यालय प्रमुख वा कुनै व्यक्तिले मनोमानी तोक्न सक्दैनन् । 

यसैगरी, भन्सार अधिकृतले एसेसमेन्ट गरेपछि त्यो प्रज्ञापनपत्रको सामान कुन लेन (हरियो, पहेलो, रातो) बाट जाँचपास हुने भन्ने कम्प्युटर प्रविधिले तोक्छ भने सोको जानकारी इमेलबाट सम्बन्धित आयात–निर्यातकर्तालाई जाने व्यवस्था छ । 

बारकोड रिडरको माध्यमबाट प्रज्ञापनपत्रको जाँच गरी सामानको निकासी हुँदा निष्कासनपत्र (एक्जिट नोट) आसिकुँडा वल्डबाट नै निस्कने र ती सबैको विवरण सिस्टममा रहने व्यवस्था छ ।

यसका साथै, विभागमा नेकासमार्फत देशभरका सबै प्रज्ञापनपत्र तत्काल हेर्न सकिने व्यवस्था छ । विभागबाट कुनै विषयमा कैफियत देखिएमा त्यस्ता प्रज्ञापनपत्रलाई रोक्न, संशोधन गर्न लगाउन सक्ने, जरिवाना गराउन सक्नेसमेत व्यवस्था छ । 

१९ वटा भन्सार कार्यालयमा आसिकुँडा वल्डको जडान भएको छ, १६ भन्सारमा आइपी क्यामेराको माध्यमबाट प्रत्यक्ष भौतिक वस्तुको समेत जाँच गर्न सकिने र ७ वटा कार्यालयमा भिडियो कन्फरेन्ससमेत गर्न सकिने प्रविधिको प्रयोग भएको छ । 

सम्भवतः नेपालका सरकारी विभागमध्ये भन्सार विभाग मात्र यस्तो विभाग हो, जसले अनलाइन पद्धतिमै सबै प्रज्ञापन र डाटाहरूको पहुँच र नियन्त्रण गर्न सकेको छ ।

 

भन्सार महसुल र यसको राजस्वमा योगदान

सामान्यतया भन्सार कार्यालयको मुख्य कार्य नै राजस्व संकलन गर्ने हो र यसले बढीभन्दा बढी भन्सार महसुल उठाउनुपर्दछ भन्ने आम–धारणा रहेको पाइन्छ । यसको सन्दर्भमा विश्वका विभिन्न क्षेत्रको राजस्वमा भन्सारको योगदान तुलना गर्नु उपयोगी हुन्छ । 

यस्तो योगदान दक्षिणी, मध्य र उत्तर अमेरिकी देशमा २७.९ प्रतिशत, मध्य र पश्चिम अफ्रिकामा ४०.५ प्रतिशत पूर्वी र दक्षिण अफ्रिकामा ३३.३ प्रतिशत, उत्तर अफ्रिकामा ३६.२ प्रतिशत, युरोपमा २४.६ प्रतिशत र एसिया प्यासिफिक क्षेत्रमा २९.९ प्रतिशत रहेको छ । 

नेपालमा यस्तो योगदान करिब ४७ प्रतिशत छ । यस तथ्यांकले के देखाउँछ भने, हाम्रो राजस्व संरचना आयातमा केन्द्रित छ र हामी अन्य देशको तुलनामा भन्सार विन्दुमा बढी राजस्व उठाउँछौँ । पछिल्लो समय नेपाल विश्व व्यापार संगठन र साफ्टाको सदस्य भएपछि भन्सारका दरहरूमा कमी हुँदै गएको छ र यस्तो योगदानसमेत घट्दो छ । 

यसको सार–संक्षेप ‘भन्सारको मुख्य कार्य व्यापार सहजीकरण हो, न कि राजस्व संकलन’ भन्ने स्पस्ट हुन्छ । तर, उद्योगमा नभई व्यापारमा आधारित (ट्रेड बेस्ड) अर्थतन्त्र भएकाले राजस्व संकलनसम्बन्धी कार्य नेपालको सन्दर्भमा अझै महत्वपूर्ण नै छ । 

नेपालको भन्सार प्रशासनलाई राष्ट्रिय आवश्यकता एवं जनअपेक्षाबमोजिम सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन अझ थुप्रै चुनौती देखिन्छन् । संगठन संरचना एवं जनशक्ति विश्वका भन्सार संगठनलाई हेर्ने हो भने ६१ प्रतिशत देशमा भन्सार एजेन्सी एवं अथोरिटीको रूपमा रहेका छन् । नेपालमा जस्तो विभागीय संरचना ३६ प्रतिशत देशमा मात्र छ । 

विभागीय संरचना भएका देशमा समेत भन्सारको अलग्गै विशेषज्ञ समूह रहेको छ । नेपालको सन्दर्भमा छुट्टै समूह एवं विशेषज्ञता एउटा चुनौती हो । अन्य छिमेकी देशमा हेर्दा विभागीय नेतृत्वसमेत एउटै व्यक्तिबाट लामो समय भएको, कर्मचारीहरूमा पेसागत, व्यावसायिक दक्षता र विशेषज्ञता रहेको पाइन्छ । 

प्रविधिको उपयोग नै हरेक कामलाई स्वच्छ एवं पारदर्शी बनाउने उत्तम उपाय हो । हामीले अझै पनि भन्सार प्रक्रियाका सबै कामलाई पूर्ण स्वाचालित बनाउन सकेका छैनौँ । अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अभिलेख तथा झिटीगुन्टाअन्तर्गत ल्याउन पाउने सामानको अभिलेख, ई–पेमेन्ट, डिजिटल सहीको उपयोग अझै हुन सकेको छैन । 

यसैगरी, हाल भन्सार प्रशासनमा छुट्टै प्राविधिक समूह नहुँदा स्थायित्व र दीगोपनामा चुनौती रहेको छ । हाल विभिन्न विशिष्ट सफ्टवेयर निर्माण गरी सञ्चालन गर्न सक्ने क्षमताको जनशक्ति सरुवाको कारण चिठीपत्र टाइप गरेर बस्ने र यता सिस्टम सञ्चालन नहुने अवस्था सिर्जना भएको छ । 

संस्कार र सोचसमेत भन्सार सुधारका चुनौतीका रूपमा रहेका छन् । एउटा भनाइ छ, ‘तिमी जुनसुकै समस्यालाई त्यसको गहिराइसम्म खन, तिमी मान्छे पाउँछौ ।’ हाम्रा सबै सुधारका बाबजुत व्यक्ति, उसको सोच र सामाजिक संस्कार परिवर्तन नभई सुधार सम्भव छैन । 

हामी कर्मचारी र नागरिकसमेत कानुनको सीमाबाहिर लाइनमा नबसी सेवा लिने, ठूलो मान्छेले बडापत्र नहेरी भनसुन गरेर काम लिने, कानुनको पालना गर्दा आफू अपमानित भएको ठान्ने, कानुनी प्रक्रिया पूरा गर्नुको सट्टा माथिल्लो निकायमा भन्न लगाउने, सम्बन्धित जिम्मेवार अधिकारीसमक्ष नगई सोभन्दा माथि पुग्नेजस्ता काममा अभ्यस्त भएका छौँ र यसलाई सामान्य रूपमा लिँदै आएका छौँ । 

यसरी हामी गलत संस्कारलाई अझ संस्थागत गर्दै छौँ । कर्मचारीमा समेत मैले राष्ट्रको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्नुपर्दछ भन्ने ज्ञान कम भएको पाइन्छ । अतः सबैभन्दा महत्वपूर्ण पूर्वसर्त हाम्रो सोच र संस्कारमा सुधार हो ।

विद्यमान भन्सार ऐनले भन्सार विन्दुमा आएको मालसामानको घोषणा, वर्गीकरण र मूल्यांकनजस्ता विषय सम्बन्धित आयात–निर्यातकर्ता वा निजका प्रतिनिधि (ब्रोकर) ले गर्ने व्यवस्था गरेको छ । यसकारण, व्यापारलाई वास्तविक र यथार्थपरक बनाउने पहिलो जिम्मा व्यवसायीमा नै रहन्छ । 

यसैगरी, ग्रिन लेनमार्फत अधिकतम वस्तुको भन्सार जाँचपास गर्ने विभागीय लक्ष्यले समेत व्यवसायीको उच्चतहको इमानदारी माग गर्छ । ग्रिन लेनबाट वस्तु पास गर्नु विशुद्ध व्यवसायीलाई विश्वास गर्ने अवस्था हो । 

हाल व्यवसायीबाट वस्तुको परिमाण फरक पार्ने, एउटा वस्तु भनी अर्को मालवस्तु ल्याउनेजस्ता अवस्थासमेत देखिएका छन् । हालै एउटा भन्सारबाट तरकारी घोषणा गरी कुखुराको मासु ल्याएको दृष्टान्त  ताजै छ । 

अतः मालवस्तुको उत्पत्ति, महसुल, मूल्यांकन र परिमाणमा सही घोषणा हुने अवस्था सिर्जना गर्नु चुनौतीपूर्ण नै छ । 

 

निष्कर्ष

विभिन्न सुधारका बाबजुद भन्सार क्षेत्र समस्यामुक्त भने छैन । मूल्यांकनको विषय सदैव छलफल र विवादको विषय भएको छ । यसलाई दिगो रूपमै व्यवस्थापन गर्न केन्द्रीय डाटाबेस तयारी, ट्यारिफ स्पेसिफिकेसन कोडको कार्यान्वयन र यसको आवधिक अध्यावधिक गर्नेमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

यसका साथै, जोखिममा आधारित जाँचपास नै आगामी सुधारको माध्यम हो । यी सुधारका बाबजुद सबै क्षेत्रमा व्यावसायिक इमानदारी र नैतिकताविना ठूलो अपेक्षा भने गर्न सकिँदैन ।

 

(आचार्य भन्सार विभागका निर्देशक हुन् । उनी विभागको भन्सार सुधार तथा आधुनिकीकरण शाखामा कार्यरत छन् ।)
 

  • प्रकाशित मिति : कात्तिक ९, २०७५ शुक्रबार १८:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया