अभिनेत्रीहरू सिनेमा निर्माणमा, फेरिएको हिन्दी सिनेमाको धार
फरकधार / १७ असोज, २०७८

हिन्दी सिनेमा उद्योग पहिलाको तुलनामा निकै फेरिएको छ । जसरी दर्शकको मागमा परिवर्तन आइरहेको छ, उसैगरी सिनेमा निर्माणको प्रक्रिया पनि बदलिइरहेको छ।



पुरुष प्रधान हिन्दी सिनेमा उद्योग अहिले लिंगीय समानतातर्फ झुक्दै गएको देखिन्छ । शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर कपूरजस्ता कलाकार सिनेमा निर्माणतिर लागेका छन् । तर, अहिले अभिनेतामात्र होइन अभिनेत्रीले पनि सिनेमा निर्माणमा हात हालेको देखिन्छ ।

अभिनयका माध्यमबाट सिनेमामा आफ्नै अलग्गै स्थान बनाइसकेकी अनुष्का शर्माले उनका भाइ कर्नेश शर्मासँग मिलेर ‘क्लिन स्लेट फिल्म्स्’ नामक प्रोडक्सन हाउस स्थापना गरेकी छन् । सोही हाउसबाट उनले एनएच-१०, परी, फिल्लौरी र बुलबुलजस्ता सिनेमा बनाइसकेकी छन् ।

इन्टरनेसनल स्टार बनिसकेकी प्रियंका चोपडाले ‘पर्पल पेबल्स पिक्चर्स’ नामक प्रोडक्सन हाउस स्थापना गरेर कयौं हिन्दी र क्षेत्रीय सिनेमा निर्माण गरेकी छन् । उनले मराठी भाषामा भेन्टिलेटर र नेपाली भाषामा पाहुना तथा यसै वर्षको आरम्भमा ओटिटीमा रिलिज भएको ह्वाइट टाइगर बनाएकी छन् ।



अभिनय क्षेत्रमा अब्बल ठहरिँदै आएकी दीपिका पादुकोणले ‘का प्रोडक्सन’ खोलिन् र छपाक नामक सिनेमा बनाइन् । अभिनेत्री आलिया भट्ट, तापसी पन्नू, कंगना रनौत, करिना कपूरले पनि निर्माता बन्ने घोषणा गरिसकेका छन् ।

यो ट्रेन्डलाई सकारात्मक मान्नुपर्ने बताउँछन् इतिहासकार एसएमएम औसजा । उनी भन्छन्, ‘अब अभिनेत्रीहरू पनि अभिनेताकै बराबर उभिन थालेका छन् । सिनेमा निर्माणको ट्रेन्ड अभिनेताले आरम्भ गरेको भए पनि अब अभिनेत्रीहरूले पनि यसमा कदम राख्नु निकै सकारात्मक छ ।’

सिनेमा बजारका जानकार अतुल मोहन भन्छन्, ‘अहिलेको कलाकारको पिँढी निकै चतुर छ । उनीहरू निरन्तर भविष्यका बारेमा सोच्छन् र कसरी पैसा कमाउन सकिन्छ भनेर लागि पर्छन् । कलाकारका रूपमा आफ्नो स्थान कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे पनि उनीहरू जानकार छन् ।’ उनी थप्छन्, ‘पहिलापहिला सिनेमा बन्थ्यो र केवल सिनेमाघरमा रिलिज हुन्थ्यो अनि दूरदर्शनमा देखाइन्थ्यो । पछिल्ला १० वर्षमा निकै परिवर्तन भएको छ । सिनेमाको कमाइको आँकडा बढेर सय करोड देखि तीन सय करोडसम्म पुगेको छ । स्याटलाइटबाट पैसा मिलिरहेको छ, डिजिटलबाट, अडियोबाट र ओभरसिज फिल्म कारोबारबाट पनि पैसा मिलिरहेको छ ।’

पहिला पनि अभिनेताले सिनेमा बनाएका थिए । राजेश खन्ना र अमिताभ बच्चनले एस चोपडासँग मिलेर सिनेमा बनाएका थिए । बच्चन जब टपमा थिए, तब उनले सिनेमा वितरणको जिम्मा पनि लिएका थिए । उनीभन्दा पछिल्लो पिँढी शाहरुख खानले फिल्म स्टुडियो खोले । अभिनेताले गरेका सिनेमासम्बन्धी विभिन्न काम देखेर अभिनेत्री पनि यसमा लाग्ने थालेका हुन् । उनीहरूले सिनेमा निर्माणमा पैसा देखेर यो क्षेत्रमा पाइला चालेको अतुल मोहन बताउँछन् ।

अहिले अभिनेत्रीहरू केवल हिरोको वरिपरि घुम्ने कथामा अड्किँदैनन्, उनीहरू स्वयम् मुख्य भूमिकामा देखिन थालेका छन् । यस क्रममा कतिपय अभिनेत्रीले दर्शकमा गहिरो छाप छाड्न सफल पनि भएका छन् । अनुष्काको एनएच१० होस् या दीपिकाको छपाक, यी सिनेमाले गम्भीर प्रभाव पार्न सफल भएका छन्। 

अतुल मोहन थप्छन्, ‘अचेल अभिनय केन्द्रित कयौं अनौठो विषयमा सिनेमा बनिरहेका छन् । यस्ता कतिपय कथा हुन्छन्, जसलाई निर्माण गर्न निर्माता पाइँदैन । र, कुनै अभिनेता वा अभिनेत्रीले यस्ता विषयमा सिनेमा बनाउन चाहेपछि ठूल्ठूला स्टुडियोको सहयोग मिल्छ जस्तै : एरोसले अनुष्काको सिनेमालाई गर्‍याे, फक्स स्टुडियो इन्डियाले दीपिकालाई सघायो ।’

फिल्म स्टुडियोले सिनेमा निर्माणका साथै सिनेमाका अन्य विभागमा पनि मद्दत गर्छन् । उनीहरुले प्रोडक्सनदेखि लिएर मार्केटिङ र रिलिजसम्ममा सहयोग गर्छन् । अतुल भन्छन्, ‘उनीहरूलाई आफ्नो ढंगका सिनेमा बनाउने चाहना हुन्छ । आफूले चाहेको जस्तो रोल नपाउन सकिन्छ, त्यही कारण निर्माणतर्फ लाग्छन् । आफूले बनाएको सिनेमा जिन्दगीभरको सम्पत्ति बन्न सक्छ, हरेक वर्ष त्यसले आर्थिक फाइदा दिन सक्छ र विभिन्न प्लेटफर्ममा चलाउन सकिन्छ ।’

तर, स्टार कलाकारले बनाएको सिनेमाको लागत कम भने हुँदैन । उनीहरूले आफ्नो पारिश्रमिक निर्धारण गरिसकेका हुन्छन् र आफूसँग काम गर्ने अन्य कलाकारलाई कम पैसा दिन चाहँदैनन् । 

अभिनेत्रीले पहिला पनि सिनेमा बनाएका थिए 

हिन्दी सिनेमाको सुरुआतीकालमै पनि सशक्त अभिनेत्रीहरूले निर्माणका विभिन्न विभाग सम्हालेका थिए । इतिहासकार अमृत गंगरले यस्ता सशक्त अभिनेत्रीबारे शोध गरेका छन् । फातिमा बेगमले आफ्नो करिअर उर्दू सिनेमाबाट सुरु गरिन् । त्यसपछि आर्देशिर इरानीको ‘वीर अभिमन्यु’ मा अभिनय सुरु गरिन् । आर्देशिरले इम्पेरियल फिल्म कम्पनी स्थापना गरे, त्यसले १९३१ मा पहिलो साउन्ड फिल्म ‘आलम आरा’ निर्माण गर्‍याे ।

आलम आरामा फातिमा बेगमकी छोरीहरू जुबैदा, सुल्ताना र शहजादीले अभिनय गरेका छन् । बहुमुखी प्रतिभाका धनी फातिमाले प्रोडक्सन हाउस खोल्नुका साथै अभिनय, स्क्रिप्ट राइटिङ र निर्देशनसमेत गरेकी छन् । १९३० को दशकसम्म उनले अभिनय जारी राखिन् । 

अमृत गंगर भन्छन्, ‘जब कुनै महिलाले कुनै विषयमा सिनेमा निर्माण, लेखन र निर्देशन गर्छिन् भने त्यहाँ महिलाको दृष्टिकोण त आउँछ नै । १९३० र १९४० को दशकको तुलनामा अहिले सिनेमामा ठूलो फरक आइसकेको छ । अहिलेको बलिउड पहिलाको भन्दा सामन्ती सोच र लिंगभेदी लाग्छ मलाई । साथै, अहिले साम्प्रदायिकता पनि देख्छु । अन्यथा, त्यो समयमा फातिमा बेगम जुबैदा र जद्दनबाईजस्ता महिला यो क्षेत्रमा आउन सक्दैनथे ।’ 

त्यसबखत अभिनेत्रीहरुले हरेक विषयमा आफूलाई अब्बल साबित गरेको उनको भनाइ छ । उनीहरुले सामाजिक, ऐतिहासिक, साहसी र बागी चरित्र देखाउने थ्रिलर सिनेमा बनाएका थिए । 

गंगर थप्छन्, ‘१९६० पछि समाजमा पितृसत्तात्मकता र रुढिवादिता बढ्यो अनि धार्मिक, सामाजिक र पारिवारिक परम्परा तोडिने डर पनि बढ्यो । सिनेमा उद्योगमा महिलाको बहुमुखी प्रतिमा प्रस्फुटन हुनका लागि उदार, धर्मनिरपेक्ष, गैरअराजकतावादी, गैरनस्लवादी र गैरभाषावादी दृष्टिकोणयुक्त वातावरण आवश्यक पर्छ ।’

एक्काइसौं शताब्दीको हिन्दी सिनेमाका अभिनेत्रीहरुले बदलिँदो समयसँगै यस्ता विषयमा सिनेमा बनाउन थालेका छन्, त्यसले समाजमा एउटा गम्भीर बहस छेडिदिएको छ । दर्शकलाई सिनेमाघरसम्म डाेर्‍याएर लैजाने अवस्था निर्माण भएको छ । र, कमाइ पनि निकै बढेको छ । 

इतिहासकार औसजा टप अभिनेत्रीहरू बक्स अफिसको भार आफ्नो काँधमा बोक्न सक्षम भएको बताउँछन् । उनी भन्छन्, ‘ती अभिनेत्रीहरूले सिनेमा निर्माणमा देखाएको सक्रियताले दर्शकलाई कयौं अनौठा विषयसँग साक्षात्कार गराएको छ ।’

(बिबिसीबाट) 
  

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १२:१५:३४,   अन्तिम अपडेट : असोज १७, २०७८ आइतबार १२:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया