महात्मा गान्धीका पनाति लेख्छन्– यो ‘उत्तर–गान्धी’ युग हो

महानता वंशानुगत हुँदैन । यसलाई स्वयम्ले आर्जन गर्नुपर्ने हुन्छ । आफ्नो कर्म, गुण र आफ्नो जीवनशैलीका माध्यमबाट हामी यो आर्जन गर्न सक्छौं । बापू (महात्मा गान्धी)पनि कुनै अपवाद थिएनन् । उनको परख गरेपछि नै मानिसले उनलाई ‘महात्मा’ मानेका थिए । बेरिस्टर मोहनदास करमचन्द गान्धीले चाहेको भए, दक्षिण अफ्रिकामा वकालत पेशामा जम्न सक्थे ।

तर, उनले यसो गरेनन् । त्यहाँ रंगभेदविरुद्ध सुरु भएको उनको आन्दोलन, भारत फर्किएपछि स्वतन्त्रताको अहिंसक संघर्षमा परिवर्तन भयो । र, हाडमासुमात्रै देखिने ती दुब्ला मानिस एउटा यस्तो साम्राज्यका विरुद्ध प्रतिरोधको आगो बने, जसको ‘सूर्य कहिल्यै नडुब्ने’ दाबी गरिन्थ्यो । 

ब्रिटिस साम्राज्यवादको सूर्यको अस्त त यहाँ (भारतमा) भयो, तर बापू के अहिले सोही स्वरुपमा मौजुद छन् ? बिलकुल छैनन् । यो ‘उत्तर–गान्धी’ युग हो । आज महात्मा कहीँ पनि देखिँदैनन् । पछिल्ला वर्षहरुमा भारतको छवि जस्तो बन्दै गएको छ, त्यसलाई देखेर केवल यत्ति भन्न सकिन्छ– आगामी दिनमा बापूको तस्बिर भित्ताहरुमा पनि कतै देखिने छैनन् ।

आज हाम्रा चालचलनमा, जीवनशैलीमा, मान्यताहरुमा, कहीँ पनि न त राजनीतिक रुपमा न त सामाजिक जीवनमा गान्धीको दर्शनको छाप देखिँदैन । यसले के नोक्सान गर्यो भने, हामी तीव्र गतिमा साम्प्रदायिक बन्दै गएका छौं ।

सोसल मिडियालाई यदि मापदण्ड मान्ने हो भने, घृणा र हिंसाबाहेक अर्थोक केही पनि देखिँदैन । यसका विरुद्ध यस्सो एक–दुई आवाज उठ्छन् । ‘जय जवान, जय किसान’को राष्ट्रियतामा बाँच्ने देशमा पछिल्लो एक वर्षभरि अन्नदाता आन्दोलनमा उत्रेका छन् र हामी उनीहरुप्रति उदासीन छौं ! किसानको सानो तप्का आन्दोलनमा बसेको छ भने पनि सत्याग्रहको मान्यताअनुरुप एकजना सर्वसाधारण मानिसको समस्यालाई पनि उत्तिकै ठूलो मान्नुपर्छ जति बहुसंख्यक मानिसको संकटलाई मानिन्छ ।

आफूमाथि अन्याय भइरहेको मुठ्ठीभर किसानले भनिरहेका छन् भने पनि उनीहरुको समस्या सुन्नु र बुझ्नु अनि त्यसप्रति सहानुभूति जनाउनु हाम्रो कर्तव्य हो । तर, यस्तो अवस्था देखिएको छैन । हामी घृणापोषक मात्र होइन, अन्यायी पनि बनिरहेका छौं ।



समाजका अन्तिम व्यक्तिसम्म पनि शासनको पहुँच सुनिश्चित गर्नुपर्ने बापूको सन्देशको अवस्था उल्टो हुन पुगेको छ ! आखिर कहाँ फरक परेको छ हाम्रो जातिवादी परम्परामा ? महात्मा गान्धी तथा बाबा साहेब भीमराव अम्बेडकर, यी दुई राष्ट्रनायकको जीवनको ठूलो उद्देश्य शोषित वर्गलाई समानतामा ल्याउनु रहेको थियो । तर, हामीले उनीहरुलाई निष्फल पारिदिएका छौं । यो विफलता हुन त उनीहरुको होइन, यो हाम्रो असफलता हो, हामीले उनीहरुको प्रयासलाई अगाडि बढाएनौं । 

आज सामाजिक न्यायको असर कहीँ पनि देखिँदैन । बरु, सामाजिक न्यायको प्रयोग समाज विघटनमा र सामाजिक अवस्थालाई छिन्नभिन्न पार्न भइरहेको छ । आज आरक्षणको सोचलाई कठघरामा उभ्याइएको छ, जबकि यसको संकल्पना सोसल इन्जिनियरिङका निम्ति गरिएको थियो । आज बहुसंख्यक मानिस यही मान्छन् कि, यो सवर्णहरु (उच्चजाति)का विरुद्ध अन्याय हो । तर, यस्तो गर्ने बेला उनीहरु इतिहास भुल्दै हरिजन (दलित)माथि सयौं वर्षदेखि हुँदै आएको अन्याय बिर्सिदिन्छन् । अहिले पनि दलितहरुका निम्ति जीवन सहज छैन, तर यसबारे हामी मौन बसिदिन्छौं । यस्ता घटनाहरु अब सामान्य लाग्न थालेको छ ।



अब त कुनै एउटा क्षेत्र पनि त्यस्तो छैन, जहाँ हामीले बापू र राष्ट्रका अन्य रचनाकारहरुका सपना साकार हुन दिएका छौं । उनको सोच र उनको सन्देशलाई हामीले आफ्नो सार्वजनिक जीवनमा कहीँ–कतै उतारेका छैनौं ।

हो, उनको शालिक बनाउने काम जोडतोडले गरिएको छ, यसैबाट उनीप्रति भक्ति देखाउने प्रयास भएको छ । अहिले महात्मा गान्धी केवल प्रचारको माध्यम बन्न पुगेका छन् । सोसल मिडियामा हुने बहसहरुमा आफ्नो भनाइमा बल पुर्याउन र असरदार देखाउन हामी उनलाई स्मरण गरिरहेका छौं । तर, त्यहाँ पनि उनको उचित उपयोग हुन सकेको छैन । उनीप्रतिको भक्ति दम्भी छ र उनको सन्देश नै झुटमा आधारित बनाइएको देखिन्छ । सत्यका पुजारीलाई अहिले असत्यको जितका निम्ति उपयोग गरिँदै छ !

यसै समय जन्मिएका देशका अर्का गान्धीवादी प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई पनि हामीले अपमान गरेका छौं । यो उनको सौभाग्य नै मान्नुपर्छ कि, उनी निकै कम समयका लागि मात्रै देशको प्रधानमन्त्री भए । यदि त्यो लामो हुँदो हो त, आज हामी उनका खराबी खोजिरहेको हुन्थ्यौं । उनको सादगीपूर्ण जिन्दगीमा हिलो छ्यापिरहेका हुन्थ्यौं । उनीमाथि जमेर टीकाटिप्पणी भइरहेको हुन्थ्यो । उसो त, देखाउनकै लागि भए पनि उनको महिमा मण्डन गरिएको सुनिन्छ, तर उनको जीवनशैली र सोच हामीले भुलिसकेका छौं ।

शास्त्री किसानको उद्धार हुनुपर्ने मान्यता राख्थे । तर, हामीले त्यसो हुन दिएनौं । आज हामी यस्तो व्यवस्थालाई बलियो पार्दै छौं, जसले किसानसँग कुरा गर्न पनि आवश्यक ठानिरहेको छैन ! यस्तो गर्नका लागि संवेदनशील मानिसले अदालतको ढोका ढकढक्याउनु पर्छ ।

स्पष्ट छ, अब अक्टोबर २ को कुनै महत्व छैन, जसमा महात्मा गान्धी र लालबहादुर शास्त्रीको नाम जोडिएको छ । हामीले यो तारिखलाई केवल आफ्नो भक्तिको प्रदर्शन गर्ने दिन मानेका छौं । यो दिन यी नेताहरुको प्रचार–प्रसारमा खुबै ध्यान दिइन्छ, जबकि उनीहरुको सन्देशबारे कोही पनि चर्चा गर्दैन ! उनीहरुको जीवनको एउटामात्रै मूलभूत तत्वलाई हामीले अपनाउन सकेको भए, आज देशको दशा यस्तो हुँदैनथ्यो ।

आशा अझै पनि जीवितै छ । बापूमाथि जसले आस्था राख्छ, उसले कसरी आशा मार्न सक्ला र ! गान्धी आफ्नो जीवनमा कहिल्यै निराश भएनन् । कहिलेकाहीँ उनी दुई कदम पछि हटे भने चार कदम अघि बढ्नका लागि हटे । एउटा ठूलो लक्ष्य हासिल गर्नका लागि उनले कहिलेकाहीँ सानातिना उपलब्धिहरुलाई किनारमा फाँकिदिए । यो निश्चित छ गान्धीलाई हामी जीवनमा पूरा उतार्न सक्ने छैनौं, तर उनीजस्तो अलिकतिमात्रै पनि हुन सके देशको भलो हुने थियो । बापूमाथिको आस्थाले एउटा नयाँ इतिहास लेख्न सकिन्छ ।

(तुषार महात्मा गान्धीका पनाति हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित ।)  
 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १५:५८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया