घर अगाडि भेटिएको तामाङको शवमा ‘ट्रयाकर डग​को स्निफिङ’

भीमेश्वर नगरपालिका ८ स्थित बोचका गणेश तामाङ असोज १५ गते आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको थियो । उनको शव सामान्य अवस्थामा थिएन । 

निधारमा चोट, अनुहारमा किला ठोकिएको घाउ, देब्रे हातको औँला फुटाएको अवस्थामा थियो । तर, उनले लगाएको टिसर्ट र भेटिएको ठाउँमा कुनै रगत थिएन । 

तामाङको शव सामान्य अवस्था नभेटिएका कारण स्थानीयको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भेषराज रिजालको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ । डिएसपी रिजालकै सिफारिसमा काठमाडौंबाट तालिम प्राप्त दुई वटा कुकुर दोलखा पठाइएको छ । 

घटना भएको दोस्रो दिन (शनिबार) तालिम प्राप्त कुकुरले तामाङको शव भेटिएको ठाउँमा कुकुरलाई सुँघाए पनि घटनाको ठोस नतिजा भने दिन सकेको छैन । तालिम प्राप्त कुकुरसहितको टिमले घटनाको विषयमा आफ्नो भूमिका निर्वाह गरिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

३० बर्षीय तामाङ घटना भएको अघिल्लो दिन (असोज १४) चरिकोटमा गएका थिए । चरिकोट पुगेर गाउँ फर्किएका तामाङले साथीभाईसँग सोही साँझ भेटघाट गरेको स्थानीयको भनाई छ । 

साँझमा घर नफर्किएका उनी भोलिपल्ट घरकै अगाडिको कुइनेटोमा मृत भेटिएको स्थानीय कुमार लामाले जानकारी दिए । स्थानीय लामाका अनुसार मृतकको देब्रे हातको औँला कुच्चिएको  अवस्थामा छ । टाउकोमा चोट छ । तर, शव भएको ठाउँमा कुनै रगत नदेखिएकाले हत्या गरेर घर अगाडि शव ल्याएर राखिएको हुन सक्ने स्थानीयको शंकासहितको आरोप छ ।  



उनको शव सामान्य रुपमा नदेखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक अन्जन कोइलाको टिमलाई अनुसन्धानका लागि पठाए पनि घटना सामान्य प्रकृतिको नभएपछि डिएसपी आपैm घटनास्थलमा असोज १५ गत पुगेका थिए । 



प्रहरी नायव उपरीक्षक भेषराज रिजालले यस घटनालाई संवेदनशील रुपमा अनुसन्धान थालिएको बताए । 

घटनाको प्रकृति हेर्दा सामान्य नदेखिए पनि हत्या भएको ‘हो’ वा ‘होइन’ भन्ने विषयमा पुष्टि गर्न बाँकी रहेको डिएसपी रिजालले जानकारी दिए । 

‘यो घटना अनौठो किसिमको छ । मृतकको अनुहारमा किलाले ठोकेको जस्तो घाउ छ । घटना शंकास्पद नै छ,’ डिएसपी रिजालले फरकधारसँग भने, ‘तालिम प्राप्त कुकुर झिकाएर समेत अनुसन्धान गरिएको छ । घटनाको तथ्य प्रमाणित गर्नका लागि प्रहरीले प्रविधिको समेत प्रयोग गरेको छ ।  अनुसन्धानमा कुनै कसर बाँकी हुँदैन ।’ 
पोस्टमार्टमको रिर्पोट आएपछि अनुसन्धान गर्न थप सहयोग पुग्ने उनको दावी छ । घटना सामान्य प्रकृतिको नभएपछि घटना स्थलमा प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, चिकित्सकको टोली र स्थानीय जनप्रतिनिधिहरूको समेत पुगेका थिए । 

‘ट्रयाकर डग’ को पहिचान 

नेपाल प्रहरीको केनाइन महाशाखाले उल्लेख गरे अनुसार प्रत्येक मानिसको शरीरबाट भिन्नभिन्न गन्ध निस्किन्छ । बढीमा २४ घण्टासम्म गन्ध हावामा रहन्छ । त्यसपछि भने नष्ट हुन्छ ।

कुकुरको प्रयोगकर्ता अर्थात् ‘ह्याण्डलर’ ले घटनामा संलग्नहरूको पहिचानका लागि शव सुँघाउने हो । यससँगै फुटप्रिन्ट (पदचिन्ह)’ पनि । सुँघाएपछि गन्ध पछ्याउँदै कुकुर अपराधमा संलग्न गएतिर जाने महाशाखाकी एसएसपी देउती गुरुङ बताउँछिन् । सुँघाएको गन्ध जोसँग मेल खान्छ, उसैसँग कुकुर पुग्छ । जसले प्रहरीलाई अपराधमा संलग्न पहिचान गर्न सहज हुन्छ । 

कुकुरको सफल अनुसन्धान छ वटा अवस्थामा हुन्छ– घटनास्थलको सुरक्षा हुँदा, घटना भएको २४ घण्टाभित्र अनुसन्धानमा प्रयोग गरिँदा, भौतिक प्रमाणहरु नष्ट नगरिँदा, चर्को घाम नलाग्दा, पानी नपर्दा र हावा हुन्डरी नचल्दा, आशंकित पक्राउ पर्दा र घटनामा संलग्न व्यक्ति सवारी साधन चढेर नगएमा, खोला वा नदी तरेर नगएमा ।

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १५:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया