नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र कार्यकर्तामाथि गरिएको अन्याय तत्काल सच्याउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।
‘डडेल्धुराको यो भेलाले सभापति र छानबिन समितिले गरेको गल्ती सच्याउन माग गरेको छ । मलाई विश्वास छ, डडेल्धुरामा भएको गल्ती सभापतिजीले सच्याउनुहुनेछ,’ कोइरालाले भने ।
उनले पार्टीमा अन्यायमा परेका साथीहरुको आवाज सभापतिले सुन्नुपर्ने बताए । ‘तपाईंहरुलाई अन्याय भएको छ । तपाईंहरुले अनशन बस्नुपर्ने अवस्था बनेको छ । त्यहीकारण हामी आज डडेलधुरा आएका छौँ,’ उनले भने, ‘तपाईंहरुको आन्दोलन हाललाई स्थगित गर्नुस् । दसैँ–तिहारपछि कसरी अघि बढ्ने ? तपाईंहरु पनि छलफल गर्नुस् । हामी पनि छलफल गर्छौं । यसलाई एउटा निचोडमा पुर्याउनुपर्छ ।’
कोइराला डडेल्धुरा पुगेसँगै ११ दिनदेखि जारी अनशन पनि स्थगित गरिएको छ ।
नेता कोइरालाले सभापति देउवाले आफूले गरेको कमजोरी सच्याउने विश्वास व्यक्त गरे । ‘जे जति गल्ती उहाँहरुले गर्नुभयो । त्यो कमीकमजोरी पक्कै पनि उहाँहरुले सच्याउनुहुनेछ । तपाईंहरुलाई न्याय दिनुहुनेछ भन्ने विश्वस्त गराउन चाहन्छु । जबसम्म उहाँहरुले सच्याउनुहुन्न, त्यो अवस्थासम्म हामी तपाईंहरुसँग छौँ । तपाईंहरुलाई न्याय दिलाउँछौँ,’ कोइरालाले भने ।
उनले लोकतन्त्रमा नेताले गलत गर्यो भने कार्यकर्ताले सच्याउने अभ्यास रहेको बताए । ‘लोकतन्त्रमा नेताले गलत काम गरेको छ भने त्यो उजागर गर्ने जिम्मा कार्यकर्ताको हो,’ उनले भने, ‘सभापतिजीले जुन गलत काम गर्नुभएको छ, यहाँ कार्यकर्ताले उजागर मात्रै गर्नुभएको हो ।’
डडेल्धुरा एनडीप्रकाश चटौत, भीमदत्त पन्त र द्वारिकादेवी ठकुरानीको पनि जिल्ला रहेको स्मरण गराउँदै कोइरालाले देउवाले गल्ती सच्याउनुको विकल्प नभएको उल्लेख गरे ।
‘सत्यको बाटो अप्ठ्यारो हुन्छ, तर सत्यको जित अवश्य हुन्छ । मर्कामा पारिएका देशभरका कांग्रेस कार्यकर्ताको न्यायका लागि हामी सँगै लड्नेछौ’, कोइरालाले सभामा भने ।
डडेल्धुरामा कांग्रेसको वडा र पालिकाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा देउवाइतर पक्ष पुनः अधिवेशनको माग गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।