दार्चुलाको विकट ब्यास गाउँपालिकाका विभिन्न वडाहरुमा चामल लगायत खाद्य सामग्री ढुवानी सुरु भएको छ । गत साउन १५ गते भारतीय एसएसबीले महाकाली नदीमा लगाइएका तुइन काटेपछि खाद्यान्न अभाव भएको ब्यासमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी सुरु भएको छ ।
आइतबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ । ब्यासको वडा नम्बर १, २, ३ र ४ को लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी भएको हो । पहिलो चरणमा सबैभन्दा बढी समस्या परेको ब्यास ३ सिनामा खाद्यान्न ढुवानी सुरु गरिएको ब्यास गाउँपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले जानकारी दिए ।
महाकालीमा लगाइएका तुइन काटिएपछि सबैभन्दा बढी खाद्यान्न अभाव वडा नम्बर ३ को सिनामा भएको छ । नेपालतिरबाट सडक नपुगेको यो क्षेत्रका नागरिक भारतीय बजारको खाद्यान्नमा निर्भर थिए । साउनदेखि खाद्यान्न ढुवानी नभएपछि पहिलो प्राथमिकतामा सिनाको लागि खाद्यान्न ढुवानी सुरु गरिएको हो ।
हेलिकोप्टरले गाउँपालिका–१ तिंकरका लागि ७५ क्विन्टल, छाङरुका लागि एक सय २५ क्विन्टल, वडा नम्बर २ राप्लाको लागि २० क्विन्टल, मालघाटका लागि ३० क्विन्टल, वडा नम्बर ३ को सिना बस्तीका लागि एक सय क्विन्टल र वडा नम्बर ४ सुन्सेरामा दुई सय क्विन्टल खाद्यान्न (चामल) ढुवानी गरिरहेको ब्यास गाउँपालिकाले जनाएको छ ।
ब्यास गाउँपालिकाका लागि ६ सय क्विन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गर्न १ करोड ५३ लाख बजेट विनियोजन भएको छ । यसअघि ब्यासको राप्ला र मालका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।