जग्गा दलालका लागि काँक्रेविहार संरक्षित क्षेत्र मास्दै डिभिजन वन कार्यालय

जग्गा व्यवसायीका लागि अनुकूल हुनेगरी डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षित वन क्षेत्रलाई मास्न थालेको छ । काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छाडेर कम्पाउन्ड वाल निर्माण गर्न थालेपछि जग्गा मास्न लागेको हो । 

सुर्खेतको काँक्रेविहार संरक्षित वन क्षेत्र नेपालको पहिलो संरक्षित वन हो । विसं २०५९ वैशाख ३० गते नेपाल सरकारद्वारा संरक्षित वन क्षेत्र घोषणा भएको थियो । १७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । 

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको सीमा र निजी व्यक्तिहरूको नाममा दर्ता भएका जग्गाको सीमा छुट्याउने गरी पर्खाल निर्माण गर्न थालेको छ । 

काँक्रेविहार संरक्षित वन क्षेत्रलाई सुरक्षाका लागि मात्र नभई पर्यटकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको हो । तर डिभिजन वन कार्यालयका प्रमुख र अन्य कर्मचारीले जग्गा व्यवसायीलाई अनुकूल हुनेगरी काँक्रेविहार क्षेत्रको जग्गा छोडेर कम्पाउन्ड वाल लगाउन लागेको छ । 

महादेव खिम्ति हिराचन (केएसके) ज्वाइन्ट भेन्चर कम्पनीले उक्त पर्खाल ११ करोड ८५ लाख ४२ हजार ५६२ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । 

सो सीमा क्षेत्रमा निर्माणधीन पर्खालभन्दा बाहिर ५-७ मिटर वनको जग्गा छोडेर भित्र पर्खाल निर्माण गरिएको निर्माण कम्पनीका फिल्ड प्राविधिक महेन्द्रप्रसाद शर्माले बताए ।



उनले भने, ‘डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोविन्दप्रसाद दाहाल र वडाअध्यक्षको निर्देशनमा काँक्रेविहार वन क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइएको हो । पर्खालभन्दा बाहिर जग्गा छोड्ने निर्देशन अनुसार हामीले काम गरिरहेका छौं ।’

उनले दिएको जानकारी अनुसार काँक्रेविहार क्षेत्रको पर्खालभन्दा बाहिर करिब ६ हेक्टर वनको क्षेत्रफल मासिने भएको छ  ।



यसअघिसम्म कम्पाउन्ड वाल निर्माण नहुँदा काँक्रेविहार क्षेत्रभित्रको रिङगरोडमा (जंगल वरिपरिको बाटो)लाई देखाएर जग्गा व्यवसायीले प्लटिङ जग्गा किनबेच गराएका थिए । पर्खाल निर्माणपश्चात् उक्त रिङगरोडमा बन्द हुने भएपछि जग्गा व्यवसायी र डिभिजन वन कार्यालय प्रमुखको मिलेमतोमा जग्गा व्यवसायीको फाइदा हुनेगरी संरक्षित वन क्षेत्रको जग्गा सडकको लागि बाहिर छोडेर पर्खाल लगाउन लागिएको भन्दै स्थानीयले आलोचना गरेका छन् । 

पर्खालको सुरक्षाका लागि सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाइएको डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख दाहालले जानकारी दिए । ‘पर्खाल लगाउँदा सेड ब्याकका लागि जग्गा छोडिएको हो’ उनले भने, ‘यसका लागि लिखित छैन । प्राविधिक कुरा हो ।’ 

यद्यपि पर्खालका लागि सेड व्याक छोड्ने प्रचलन नभएको जिल्ला प्राविधिक कार्यालय सुर्खेतले जनाएको छ । 

संरक्षित सीमाक्षेत्रको पर्खाल निर्माण गर्दा बुलबुले उद्यान क्षेत्रमा लगाइएको पर्खाललाई उदाहरणको रूपमा लिन सकिने प्राविधिक जानकारहरु बताउँछन् । 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काँक्रेविहार क्षेत्रको सो पर्खाल निर्माणका सम्बन्धमा आफू जानकार नभएको र डिभिजन वन कार्यालयसँग बुझ्नुपर्ने बताए । 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १०:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया