नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका छन्।
सोमबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाई दिँदै उनले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका हुन् ।
उनले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटी निर्णय भएको भन्दै प्रजातान्त्रिक पार्टी कांग्रेसमा अप्रजातान्त्रिक गतिविधि हुन थालेको बताए।
उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए। नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अप्रजातान्त्रिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए।
नेता सिंहले भने, ‘पार्टीको हाम्रो १४ औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन । नेतृत्व सम्हालेर बसिरहेकाले पार्टीको विधानअनुसार जिम्मेवारी बहन गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरुले प्रमाणित गरिरहेको छ ।’
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गरे । उनले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिबद्धता जनाए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।