आइतबार साँझ इभिनिङ वाकमा हिँडेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । सुनसरीकाे इटहरी-८ भुर्कीमा ६ जना युवाको समूहले ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको उजुरी इटहरी प्रहरीमा परेको छ ।
बलात्कारपछि पीडितको उजुरीको आधारमा ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना फरार भएका छन् ।
पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार युवाहरूले कुटपिट गरी धानबारीमा लगेर जबरजस्ती करणी गरेका हुन् ।
उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजारसमेत लुटेर भागेको ती महिलाकाे भनाइ छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए ।
पक्राउ परेकामध्ये ४ जना १८ वर्षमुनिका किशोर भएको र १ जना २७ वर्षीय युवा रहेको केसीले जानकारी दिए ।
इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।