अलमुताइरीको प्रशिक्षणमा कोल्टे फेरेको नेपाली फुटबल, आक्रामक रणनीति बुन्दै

सोमबार राती माल्दिभ्समा भइरहेको साफ फुटबल अन्तर्गत श्रीलंका विरुद्ध नेपालले गोल गर्दा खेलाडी र नेपाली दर्शकभन्दा खुसी अर्का एक व्यक्ति देखिए । 

उनी थिए– नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुललाह अलमुताइरी । उनकै नेतृत्वमा चालु साफमा नेपालले लगातार दुई जित निकालिसकेको छ । 

साच्चै नै नेपाली टोलीले गोल गर्दा गोल गर्ने खेलाडीले भन्दा बढी खुसी व्यक्त उनले गरेका थिए । नेपालको हानेको गोलले उनलाई कति खुसी दिएको थियो, उनको हाउभाउले स्पष्ट देखाउँथ्यो । त्यसैले त अब्दुललाह अलमुताइरी चर्चामा छन् । 

नेपाली फुटबलको इतिहास हालसम्म धेरै विदेशी प्रशिक्षक आए । नेपालमा आएका हरेक प्रशिक्षकले खेलाडीलाई खेलाउने तरिका निकै फरक थियो । ती फरकमध्ये पनि अझ फरक छन्– अब्दुललाह अलमुताइरी । यो उनले नतिजाले पुष्टी गरिसकेका छन् । 

नेपाली फुटबलमा आएको फरकपनको​ महशुस दर्शकले मात्र होइन खेलाडी, समर्थक, विश्लेषक र विदेशी प्रशिक्षकले पनि गरेका छन् । प्रशिक्षकले अब्दुललाह अलमुताइरीको आगमनपछि नेपाली फुटबल निकै फरक भएको बताउने धेरै भएका छन् । 



उनले गत चैतबाट नेपाली राष्ट्रिय फुटबल पुरुष टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । खेलाडीलाई असाध्यै माया गर्छन्– यो खेलाडीहरु नै भन्छन् । 
‘जिते खेलाडीलाई श्रेय, हारे मेरो जिम्मेवारी’ नेपाली टिम मैदानमा उत्रनुअघि उनी यही वाक्य दोहोर्याउँछन् । 

पछिल्लो पटक इराकसँगको मैत्रीपूर्ण खेल तथा कुवेतमा भएका खेलहरूमा पनि उनले खेलाडीको पक्षमा अभिव्यक्ति दिएका थिए । ‘मेरा खेलाडीलाई दोष नलगाऊ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । 



खेलाडीको बचाउमा मात्र होइन अन्तराष्ट्रिय खेलमा नेपालले भोगिरहेको ‘गोलको खडेरी’लाई चिर्न पनि उनी खरो उत्रेका छन् । 

उनको प्रशिक्षणमा नेपालले ९ खेल खेल्यो । ती खेलमा विपक्षी टिमको पोष्टमा नेपालले १२ गोल गर्यो ।  

उनले नेपाली फुटबल टोलीको खेल्ने शैली नै परिवर्तन गरिदिए । रक्षात्मक शैलीबाट आक्रमक शैलीको खेल्ने बनाए । नेपालको ‘फिनिसिङ’ समस्यालाई तोड्दै विपक्षी माथि दबाब बढाउँदै राम्रो फिनिसिङको सुरुवात गरेका छन् । 

सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने अलमुताइरीलाई पछिल्ला दिनहरुमा नेपालका फुटबल समर्थकहरूले निकै मनपराएका छन् । समर्थकले उनलाई उपनाम दिएका छन् – जादुगर । नेपाली फुटबलमा आएका चमत्कारी जादुगर ।

खेलाडीको नजरको अलमुताइरी 

नेपालले फुटबल पहिले पनि खेल्थ्यो । पहिलेका प्रशिक्षकले पनि नेपालको हितकै लागि काम गरेका थिए । केही उपाधि चुमेको पनि थियो । त्यसो हो भने अलमुताइरीको मात्र चर्चा किन त ? 

राष्ट्रिय टोलीका डिफेन्डर विकास खवास भन्छन्, ‘धेरै प्रशिक्षकहरुले नेपाली टोलीलाई प्रशिक्षण दिनुभयो । मैले राष्ट्रिय टोलीमा खेल्न थाले बाट पनि विभिन्न प्रशिक्षकहरुबाट प्रशिक्षण लिएको छु । उहाँ फरक हुनुहुन्छ किनभने अन्य प्रशिक्षकहरुले हामीलाई ठूला टोलीसँग खेल्दा रक्षात्मक (डिफेन्सिभ) खेल्नु भनेर सिकाउनु हुन्थ्यो । तर अलमुताइरीले हामीलाई रक्षात्मक भनेकै आक्रामक (अट्याकिङ) हो भनेर सिकाउनु भयो ।’ 

अलमुताइरीको प्रशिक्षण शैली निकै फरक रहेको अनुभव खवासको छ ।  उनी थप्छन्, ‘नेपाली खेलाडीमा खेल्ने जोस थियो तर हामीलाई मानसिक रुपमा अलमुताइरीले मजबुत बनाउनु भयो ।’ 

‘अट्याकिङ फुटबलको अभ्यास हामीले उहाँको उपस्थितिले सिक्न पायौं,’ खवासले भने । 

अर्का खेलाडी अभिषेक रिजाल पनि उनको आगमनले खेलाडीमा नयाँ जोस थपिएको स्वीकार्छन् । उनी भन्छन्, ‘नेपाली फुटबलमा आक्रामक शैलीको अभ्यास उहाँले सुरु गर्नु भयो ।’  

अन्य प्रशिक्षकभन्दा अलमुताइरी फरक रहेको उनले पाएका छन् । अलमुताइरीले प्रशिक्षकभन्दा पनि साथीको जस्तो व्यवहार गर्ने अनुभव रिजालको छ । खेलाडीसँग सबैकुरा सेयर गर्ने अलमुताइरीको बानी रिजाललाई अझी बढी मन पर्छ । 

प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा खेलाडीलाई दिने र गरिने स्याहार उत्कृष्ट रहेको उनले सुनाए । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ अलमुताइरीबाट बुवाले गर्ने जस्तै व्यवहार पाएको बताउँछन् । 

अन्तर्राष्ट्रिय प्रशिक्षकको नजरमा अलमुताइरी 

खेलाडीका अत्यन्त प्रिय प्रशिक्षक अलमुताइरीको प्रशंसा विपक्षी टोलीका प्रशिक्षकहरुले पनि गर्ने गरेका छन् । उनलाई प्रविधिक रुपमा निकै अब्बल मान्छन् उनीहरु ।

पछिल्लो समय माल्दिभ्समा साफ च्याम्पियनसिप खेलिरहेको नेपालको विषयमा बोल्दै गर्दा श्रीलंकाका प्रमुख प्रशिक्षक अमिर अलाजिसले अलमुताइरीलाई अब्बल प्रशिक्षकको संज्ञा दिएका थिए । 

पछिल्लो समय मैत्रीपूर्ण खेलका क्रममा भारतका प्रशिक्षकले पनि उनको  प्रशंसा गरेका थिए । 

के भन्छन् फुटबल विश्लेषक

लामो समय देखि नेपाली फुटबललाई नजिकबाट नियाली रहेका फुटबल विश्लेषक तथा एन्फा लिग कमिटीका संयोजक सञ्जीव मिश्र अलमुताइरीको खेलाइने शैलीबाट प्रभावित छन् । 

‘उहाँको खेलाउने तरिका निकै राम्रो छ,’ मिश्र भन्छन्, ‘पहिलेका प्रशिक्षकहरुले पनि खेल खेलाउँथे तर कुन खेलाडीलाई कुन समयमा मैदान प्रवेश गराउने भन्नेमा उहाँ खरो उत्रिनु भएको छ ।’ 

मैदान र खेलको परिस्थिती हेरेर प्राविधिक रुपमा निर्णय गर्नसक्नु अलमुताइरीको क्षमता रहेको उनले बताए । 

‘लमुताइरी खेलाडीलाई प्रोत्साहन गर्न सक्ने प्रशिक्षकको रुपमा देखा परेका छन्,’ मिश्र थप्छन्, ‘आफ्नो रणनीति अनुसार खेलाडीलाई खेलाउन सक्ने भएकाले उनी सफल बन्दै गएका हुन् ।’ 

उनको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिपको दुईवटा खेल जितेको छ । अन्य खेल भने हेर्न बाँकी नै छ । 

समर्थकले रुचाएका प्रशिक्षक 

अलमुताइरी फुटबलमा जति सक्रिय छन् त्यति नै सक्रिय सामाजिक सञ्जालमा पनि देखिन्छन् । 

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सक्रिय हुँदा उनलाई सधै फाइदा मात्रै भएको छैन । उनले सामाजिक सञ्जालमा राखेका केही विचारका कारण उनी विवादमा समेत तानिएका छन् । 

विवादमा तानिँदा पनि नेपाली फुटबलप्रेमीले भने उनलाई रुचाई नै रहे । नेपाली फुटबलको स्तर उन्नतीका लागि गरेको प्रयास र नतिजाहरुका कारण उनले नेपाली फुटबल समर्थकहरूको माया पाइरहेका छन् । 

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १७:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया