मंगलबार साँझ ७ बजे यातायात कार्यालय जनकपुर पुग्दा जे देखियो...

यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यालय समयबाहेक रातिमा पनि काम हुने गरेको पाइएको छ । मंगलबार साँझ ७ बजेको समयमा गोप्य सूचनाका आधारमा फरकधारको टिम त्यहाँ पुग्दा कार्यालयका कर्मचारी र बिचौलियाहरुले मुख्यद्वार बन्द गरेर धमाधम चोरबाटोबाट सेवाग्राहीलाई भित्र प्रवेश गराई काम गरिरहेको देखियो । 

हामी पनि सेवाग्राही बनेर त्यहाँ पुग्यौँ, मुख्यद्वार नखोली हामीलाई चोरबाटोबाट भित्र प्रवेश गराइयो । भित्र जाँदा त्यहाँको दृष्य बेग्लै थियो । कार्यालय प्रमुखको कार्यकक्षलगायत अन्य कर्मचारीको कार्यकक्ष पनि बन्द थियो । तर, कम्पाउण्डभित्रै रहेको अर्को भवनमा बिचौलियाहरु गाईंगुईं गरिरहेको आवाज सुनियो, सेवाग्राही पनि टन्नै भरिएका थिए । 

बिचौलियाहरुले सेवाग्राहीलाई लाइनमा लगाएर लाइसेन्सका लागि अफलाइन फाराम भरिरहेका थिए । करिब एकसयको संख्यामा त्यहाँ सेवाग्राहीको भीड थियो । सबैले आ–आफ्नो काम गराउन तँछाडमछाड गरिरहेका थिए । 

हामीले हाम्रो पनि फाराम भरिदिनुस् न भनेर एकजना बिचौलियालाई भन्यौँ, उनले के–को लाइसेन्स चाहिन्छ ? भनेर सोधे । हामीले चारपांग्रे सवारीसाधनको लाइसेन्स बनाउन कति खर्च लाग्छ सर ? भनेर सोध्दा उसले १ लाख २० हजारमा तपाईंको सबै काम भइहाल्छ भन्दै जवाफ फर्कायो । 

अर्का एकजना सेवाग्राही जितन राय माझी पनि त्यही लाइनमा उभिएका थिए । हामीले उनलाई सोध्यौँ, कहाँबाट कुन कामले आउनुभएको ? उनले रामेछापबाट दुईपांग्रे सवारीसाधनको लाइसेन्स बनाउन यहाँ आएको तर दुई दिनदेखि बसे पनि काम नभएको गुनासो सुनाए । बल्ल आज २० हजार रुपैयाँ पहिले नै भुक्तानी गरेपछि  बिचौलियाले काम गर्न राजी भएको र अहिले फाराम भर्दै गरेको उनले सुनाए । 

उनीजस्तै सयौँ सेवाग्राही फाराम भर्न लाइनमा लागेको देखियो । उनीहरुलाई प्रश्न गर्दा बिचौलियामार्फत लाखौँ रुपैयाँ अग्रीम भुक्तानी गरेर यहाँ आएको जवाफ पाइयो । 



अहिले अनलाइन फाराम भर्न यातायात व्यवस्था कार्यालयले नै बन्द गरेको अवस्था छ । तर, जनकपुरमा भने यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरुको बिगबिगीका कारण सेवाग्राहीसँग लाखौँ रुपैयाँ लिएर राति पनि फाराम भर्ने काम भइरहेको देखिन्छ । 

कार्यालयका कर्मचारीसँग बिचौलियाको सेटिङ रहेको प्रस्ट देखिन्छ । बिचौलियाहरु कर्मचारीको टेबुलसम्म पुगेर आफूखुसी सेवाग्राहीसँग रकम असुल्दै आ–आफ्ना काम सहजै गराइरहेको देखिए पनि कार्यालय प्रमुख वीन्द्र साह भने यसबारे अनभिज्ञ छन् । 



उनलाई त्यहीँबाट फोन गर्दा उनले ‘अहिले पनि यातायातमा फाराम भर्ने काम भइरहेको छ र ? भन्दै उल्टै सञ्चारकर्मीलाई नै प्रश्न गरे । प्रमुख साहले आफूलाई यसबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिए ।  

लिखित परीक्षाको रिजल्ट प्रकाशित गर्नुपर्नेमा यातायात कार्यालय जनकपुरले भित्रैबाट सेटिङ गरी मोटो रकम दिनेलाई पास गर्ने गरेको पाइएको छ । त्यहाँका बिचौलियाहरु सञ्जय सिंह र दिलीप साहलगायतमार्फत कर्मचारीले सेवाग्राहीको आज रातिसम्म फाराम भर्ने र भोलि बुधबार लिखित परीक्षा लिएर शुक्रबार तथा शनिबार ट्रायल लिने योजना रहेको स्रोतको दाबी छ । यसमा लाखौँ रकमको चलखेल भइरहेको दाबी गरिएको छ । 

कार्यालय प्रमुख लगायतले चितवन, इटहरी, सिन्धुली, रामेछाप, दोलखालगायत ठाउँबाट बिचौलियामार्फत लाइसेन्स लिन चाहने सेवाग्राहीलाई स्वयं बोलाएर २० हजार देखि १ लाख २० हजारसम्म रकम लिएर फाराम दर्ता गरी लाइसेन्सका लागि सेटिङ गरेको स्रोतको भनाइ छ । 

काम गरेबापत बिचौलियामार्फत सेवाग्राहीसँग मोटो रकम लिने र सो रकम कार्यालय प्रमुख,  प्रशासन र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीसम्मले पनि बाँडफाँड गर्दै आएका छन् ।

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार २०:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया