logo-img

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको पहिलो प्राथमिकतामा नागरिकता र सम्पत्तिको अधिकार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पु¥याउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पु¥याउने घोषणा समेत गरेका छन् । 

असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् । 

हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ । ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, २० वटा एनसीसी हाल निष्कृय रहेका छन् । 

‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो सर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु,’ आचार्यले भने । 

नागरिकता पहिलो प्राथमिकता 

नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारेका छन् । 



संविधानसभाले संविधान निर्माण गर्दादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको बताए । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको उनले सुनाए । 

नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको बताउँदै आचार्यले नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्र्याउन पहल गर्ने बताए । ‘सम्पत्तिको अधिकारले एकातिर पूँजी पलायन रोक्छ र विदेशमा कमाएको सम्पत्ति नेपालमा ल्याउने बाटो पनि खुल्छ,’ उनले भने । 



कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए । 

मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको योजना 

अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए । 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे । 

वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले बताए । 

सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ‘एक एनआरएन एक रोजगार’को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए । 

गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने  पनि आचार्यले प्रतिवद्धता व्यक्त गरे । 

पूँजीसँगै ज्ञान र सीप पनि नेपालमा 

अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताएका छन् । 

संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे । 

आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आमसदस्यहरूलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् । 

अध्यक्ष पदका उम्मेदवार आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् । 

त्यस्तै, मध्यपूर्वको श्रम समस्या, युरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् । 

‘एनआरएनएः भिजन २०२० एण्ड बियोन्ड’ दस्तावेजमा गरिएका सिफारिसहरूलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद् एनसीसीहरूलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् । 

आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए । ‘पिपुल अफ  नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए ।

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया