दसैँ-तिहारमा किन हुन्छ हवाई भाडा महँगो ?

निजी वायुसेवा प्रदायक कम्पनीहरूले विभिन्न समय र सन्दर्भमा भाडा छुटसहितको स्किमहरू ल्याउने गरेका छन् । जसले यात्रु माझ कम्पनीहरू लोकप्रिय बनाउने प्रयास गर्छन् । कहिलेकाहिँ त आन्तरिक वायुसेवा कम्पनीहरूबीच नै भाडा छुटको प्रतिस्पर्धा हुन्छ ।  

यसरी बेलाबखत भाडा छुट गरेझैँ गरेर सस्तो लोकप्रियता खोज्ने यी वायुसेवा कम्पनीहरूले दसैँ-तिहारमा भने दोब्बर भाडा लिने गरेको सर्वसाधारणको व्यापक गुनासो छ । 

बिहीबारदेखि विधिवत रूपमा दसैँ सुरु हुँदैछ । घटस्थापनाकै दिनदेखि नै हवाईभाडाको मूल्य अन्य समयको भन्दा दोब्बर छ । आन्तरिक वायुसेवा कम्पनीहरूले दसैँ अगाडिलाई सस्तो टिकट बिक्री गर्ने गरेको भए पनि दसैँ लागेपछि भने सस्तो टिकट बन्द गरेर महँगो टिकट बुकिङ खुला गरेको एक हप्ता भइसकेको छ । 

आन्तरिक वायुसेवा कम्पनीले घटस्थापना (बिहीबार) देखि आन्तरिक उडानका गन्तव्यमा सामान्य भाडादर (महँगो) टिकट मात्रै खुला गरेका छन् । दसैँको समयमा एकतर्फी यात्रु हुने, हवाई उडानका वायुसेवाको उडान सीमित सिट क्षमता भएको कारणले पनि वायुसेवा कम्पनीले महंगो भाडाको टिकट बिक्री गर्ने गरेका छन् । 

अन्य समयको भन्दा दसैँमा धेरै यात्रुले काठमाडौं छाड्ने भएका कारण सस्तो टिकट बन्द गरेर दुई तर्फीको ‘टु वे’ को भाडा एउटै यात्रुबाट लिने गरेका छन् । जसकारण यात्रुहरूलाई थप आर्थिक भार पर्ने तर, उडान कम्पनी भने सधैँ नाफामा रहने गरेका छन् ।

आन्तरिक वायुसेवा कम्पनीले नियमित उडानका गन्तव्यमा काठमाडौंबाट पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा, सिमरा, भद्रपुर, धनगढी, भरतपुर, जनकपुर, तुम्लिङटार सहितका गन्तव्यमा नियमित उडानको सेवा दिने गरेका छन् । 



विगतमा काठमाडौंबाट पोखरा उड्नका लागि दुई हजारदेखि २५ सयमा पाउने टिकट अहिले ३४ सय रुपैयाँदेखि ५ हजार ३५ रुपैयाँसम्म रहेको विमान कम्पनीहरूको आधिकारिक वेब साइटहरूमा देख्न सकिन्छ ।  

यस्तै, सामान्यतया काठमाडौंबाट धनगढी उड्नका लागि ४ हजारदेखि ६ हजारमा पाउने टिकट अहिले १२ हजार १ सय ३० रुपैयाँ पुगेको छ । अन्य समयमा सहजै सस्तो पाउने टिकटमा यसरी ह्वात्तै वृद्धि हुनु सर्वसाधारणका लागि दसैँको समय अर्को आर्थिक भार हो ।



दसैँको समय काठमाडौंबाट घटस्थापनादेखि फूलपातिको दिनसम्म बढी यात्रुहरू जाने गरेका छन् । यही बीचमा पनि हरेक निजी वायुसेवा प्रदायक कम्पनीहरूले भाडाको मूल्य बढाउने गरेका छन् । 

पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा हवाई भाडा मूल्य निर्धारण समिति बनेको हुन्छ ।  सो समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधि, निजी वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू रहेका हुन्छन् । उनीहरूले हवाई भाडा निर्धारण गर्दा अधिकतम (अपर सिलिङ) र न्यूनतम (लो सिलिङ) गरेर भाडा निर्धारण गर्ने गरेको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।  

सोही आधारमा रहेर नीजि वायुसेवा कम्पनीले भाडा लिने गरेको महानिर्देशक क्षेत्रीको भनाइ छ । विशेषगरी चाडपर्वको समयमा भाडादर निर्धारण समितिले बनाएको अपर सिलिङमा रहेर भाडा लिने गर्दा महँगो देखिएको क्षेत्रीको दाबी छ । यदि सो मूल्यभन्दा बढी भाडा लिएको देखिएमा ठाउँको ठाउँ कारबाही हुने क्षेत्रीले बताए । 

आन्तरिक वायुसेवाले दसैँलाई भाडादर बढाएर महँगो नबनाएको भए पनि लिन पाउने भाडादरको सीमाअनुसार नै हवाई भाडादर कायम गरेको वायुसेवा सञ्चालक संघले जनाएको छ । 

दसैँअघि मात्र गुण एयरलाइन्सले आफ्नो सेवा सुरु गरेको छ । यो वायुसेवाले पाँच वटा जहाज तयार गरिसकेको छ भने दसैँसम्म नियमित उडानका नेपालगन्ज, सिमरा, भैरहवा, पोखरा, भैरहवा र तुम्लिङटारसहितको गन्तव्यमा उडान गर्ने भएको  छ ।

बुद्ध एयरको जहाज संख्या नै बढी भएकोले यसको उडान र गन्तव्य अरू वायुसेवाको तुलनामा बढी छ । बुद्ध एयरसँग १५ वटा जहाज छन् । १५ वटा जहाजले दैनिक १५० वटा फ्लाइट गर्छन् । यो आधारमा दैनिक एउटा जहाजले १० वटासम्म उडान गर्छन् । आन्तरिक उडानमा सबैभन्दा बढी हिस्सा बुद्धकै छ ।

बुद्ध एयरका कर्पोरेट मार्केटिङ हेट रूपेश जोशीले अन्य समयभन्दा दसैँ-तिहारमा यात्रुहरूको चाप बढि देखिए पनि ‘वान वे’ मात्रै हुने भएकाले भाडा महंगो भएको बताए । ‘खासमा यसलाई भाडा महँगो भन्न पनि मिल्दैन ।  किन भने जहाजमा यात्रा गर्ने यात्रु वान वे मात्रै हुन्छ,’ उनले फरकधारसँग भने, ‘यसकारण अन्य समयको तुलनामा केही बढी भएको हो ।’ 

यति एयरलाइन्सले पनि हाल दैनिक २४ वटासम्म उडान गरिरहेको छ । यो वायुसेवाले नियमित उडानको गन्तव्यमा दसैँलाई उडान थप गरेर सेवा दिने कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार अहिले भाडा महँगो हैन ।

अहिले हवाई भाडा निर्धारण समितिले तय गरेअनुसार नै टिकट मूल्य रहेको बर्तौलाको भनाइ छ । श्री एयरलाइन्सले पनि आन्तरिक उडानमा सेवा दिइरहेको छ । 

  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १५:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया