एमसिसी पारित गर्न निजी क्षेत्रको आग्रह, लगानी बढ्ने अपेक्षा

राजनीतिक दलबीच चरम विवाद रहेको अमेरिकी सहयोग परियोजना (एमसिसी) तत्कालै कार्यान्वयन गर्नुपर्ने भन्दै निजी क्षेत्रले आवाज उठाएका छन् । निजी क्षेत्रका तीनवटा छाता संगठन नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकास र रोजगारी वृद्धिका लागि एमसिसी आवश्यक रहेको बताएका हुन् ।

संघीय संसदबाट उक्त सम्झौता अनुमोदन हुनुपर्ने प्रावधान राखिएका कारण सम्झौता चार वर्षसम्म कार्यान्वयन हुन नसकेको हो । २०१७ सेप्टेम्बरमा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार, विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम पनि अझै हुन सकेको छैन ।

विद्युत् र सडक विकास नेपालको आर्थिक विकासका लागि अपरिहार्य रहेको निजी क्षेत्रको धारणा छ । कोरोना महामारीका कारण नेपालमा आर्थिक सहयोगको क्रम घटिरहेकाले पनि अमेरिकी सहयोगको महत्व अधिक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्रको हित हेरेर संसदबाट तत्कालै एमसिसी पारित गर्न नेपाल सरकार, राजनीतिक दलहरु र सम्बद्ध निकायसँग निजी क्षेत्रले आग्रह गरेको छ । अहिलेको परिस्थितिमा ५० करोड अमेरिकी डलर सहयोग आउनु निकै ठूलो रहेको संगठनहरुले बताएका छन् । एमसिसी परियोजनाअन्तर्गतका आयोजना पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने प्रावधानले नेपालको सुशासनमा बल पुग्ने पनि निजी क्षेत्रको विश्वास छ ।  





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १५:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया